
जीवनको बाटोमा हिंड्दै गर्दा मैले धेरै कुरा देखेँ, भोगेँ र बुझेँ। बाल्यकालमै मैले बुझें—मानिसले संसारमा जे केही साँचो भनेर देखाउँछ, त्यो धेरैजसो पर्दा मात्र हो। त्यो पर्दा हटेपछि देखिन्छ—स्वार्थ, लोभ, अहंकार र असत्यको खेल।
म सधैं आफूलाई यात्रु ठान्छु। , तर यो शरीर मेरा लागि केवल एउटा बाहन मात्र हो। म चेतन,अस्तित्व हुँ,म चेतना हुँ,अनि आत्मा त केवल परमेश्वरकै सेवामा जन्मिएको हो। यही अनुभूति नै मेरो वैराग्य–यात्राको आधार बन्यो।
धर्मसँग पहिलो साक्षात्कार
बाल्यकालमा सुनेको थिएँ—धर्म भनेको परमेश्वरप्रेम हो, सेवा हो, सत्य हो। तर जब आँखाले संसार देख्न थाल्यो, कानले उपदेश सुन्न थाले, हृदयले अनुभूत गर्न थाल्यो—त्यतिबेला भने म स्तब्ध भएँ। मन्दिरहरूमा देवत्वभन्दा बढी चन्दा देखेँ । आश्रमहरूमा सम्पत्ति कुम्ल्याउने,होड देखे,तपस्वी को नाममा केवल लज्जित पाखण्डलाइ ढाकछोप गर्ने च्यादर बाहेक केहि भेटिन।सेवा,धर्म, कल्याण करुणा,भन्दा बढी व्यवसाय देखेँ। गुरु बनेका गुरुहरूको मुखमा परमेश्वरभन्दा बढी राजनीति देखेँ। साधनामा शान्ति होइन, लोकप्रियताको खेल देखेँ। त्यो क्षणमा मलाइ मेरो आत्माले म आफैलाइ प्रश्न गर्यो ।
के यो धर्म होरु
के परमेश्वरलाई यसरी किनबेच गर्ने वस्तु बनाइन्छर ? के भक्तिको नाममा डर देखाएर मानिसलाई लुट्नु नै पूजा हो ? त्यो प्रश्नले मेरो जीवनको बाटो बदलिदियो।
वैराग्यको बाटो
त्यसपछि मैले ठानें—धर्मको नाटक हेरेर बस्नु भनेको आफैंलाई धोका दिनु हो। त्यसैले मैले पाखण्डको रंगमञ्च छोडें, सत्यको बाटो समातें। म पहाड–हिमालको शीतल नीरवता खोज्दै हिँडें। त्यहाँ न चन्दा थियो, न प्रदर्शन थियो। थियो केवल आकाशको नीलो शून्यता, पवनको मौन गुञ्जन र अन्तर आत्माको श्वास–प्रश्वास। त्यहाँ मैले महसुस गरेँ—परमेश्वरलाई बाहिर खोज्ने होइन, भित्र खोतल्नुपर्छ। साँचो साधना भनेको विज्ञापन होइन, मौन ध्यान हो। साँचो योग भनेको आसनको प्रदर्शन होइन, आत्माको मिलन हो।
धर्मको नाममा व्यापारको पीडा
तर जब–जब म समाजतर्फ फर्कन्छु, हृदय रुन्छ। आज धर्मको नाममा जे भइरहेको छ, त्यसले भक्तजनलाई होइन, व्यापारीलाई लाभ दिएको छ। परमेश्वरको नाममा डर देखाएर पैसा असुलिन्छ। भक्तिको नाममा अनुयायीहरूलाई शोषण गरिन्छ। योग र साधनालाई विज्ञापनको सामग्री बनाइन्छ। गुरु र साधुहरूको अनुहारमा करुणा होइन, साम्राज्य विस्तारको लोभ देखिन्छ। धर्म जसले मानव जिवनलाई मुक्त बनाउने अस्त्र,थियो, तर आज धेरै ठाउँमा धर्मको बहानामा सारा मानिसहरुलाइ बाँध्ने औजार बनेको छ।
मेरो आत्माको प्रतिवद्धता
मैले आफैंसँग प्रतिज्ञा गरेको छु— म धर्मलाई व्यापारको रूपमा स्वीकार्दिनँ। म परमेश्वरलाई बाहिरी प्रदर्शनको रूपमा खोज्दिनँ। म केवल प्रेम, सेवा र भक्ति मार्फत उहाँलाई बाँच्नेछु। मलाई सम्पत्ति चाहिँदैन। मलाई प्रसिद्धि चाहिँदैन।
मलाई केवल एक कुरा चाहिएको छ—परमेश्वरको प्रेम। किनकि प्रेममा अहंकार मर्छ, र जहाँ अहंकार मर्छ त्यहाँ सत्य जन्मिन्छ।त्यहि स्थानमा नै मेरो कल्याण छ।
समाजलाई मेरो सन्देश
म समाजका सबै समाजबासि सम्पुर्णलाइ हरूलाई भन्न चाहन्छु— सावधान रहनुहोस्१ धर्मको नाममा खेलिने नाटकबाट बच्नुस्। परमेश्वरलाई बाहिर होइन, आफ्नो हृदयमा खोज्नुस्। साधनालाई व्यवसाय होइन, आत्मा शुद्ध गर्ने मार्ग बनाउनुस्।
सेवामा जीवन अर्पण गर्नुस्, किनकि सेवा नै सबैभन्दा ठूलो पूजा हो। धर्म कुनै व्यापार होइन, धर्म प्रेम र सत्य हो। धर्म कुनै साम्राज्य होइन, धर्म आत्मा र परमात्माको पवित्र मिलन हो।
म यात्रु हुँ, यो संसार मेरो थलो होइन।
मलाई यस जीवनमा कुनै सम्पत्ति, पद वा लोभ चाहिँदैन। मलाई केवल एउटा कुरा थाहा छ—परमेश्वर नै मेरो श्वास हो, प्रेम नै मेरो बाटो हो, सत्य नै मेरो गन्तव्य हो। बाकी सबै क्षणभङ्गुर छ—अहंकार, सम्पत्ति, नाम, प्रसिद्धि। अमर कुरा भनेको केवल परमेश्वरप्रेम हो। र यही प्रेम नै धर्मको साँचो खोज हो।