
काठमाडौँ । अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई निशान छापमा समेटिएपछि नेपालीले खुशीयाली मनाइरहेका छन् । यसले वैधता प्राप्त गरेको छ ।
संविधान संशोधन विधेयक संघीय संसद्का दुवै सदनमा सर्वसम्मत पारित भई राष्ट्रपतिद्वारा प्रमाणीकरण गरेसँगै गुमेको भूमि वैधानिक रुपमा नेपालको नक्सामा समेटिएको छ । सोहीअनुसारको निशान छाप पनि बनेको छ ।
प्रतिनिधि सभाबाट पारित संविधान संशोधन विधेयक राष्ट्रियसभाले पनि सर्वसम्मत पारित गरेको थियो । विधेयकको पक्षमा ५७ जना सांसदहरुले मतदान गरेका थिए । कुल ५९ सिटमा एक रिक्त छ । अध्यक्षसहित ५८ जना उपस्थित थिए । अध्यक्ष मत विभाजन भएन । बाँकी ५७ जनाको मत संविधान संशोधनको पक्षमा परेको थियो ।
राष्ट्रियसभाबाट बिहीबार पारित भएको विधेयक प्रतिनिधिसभामा पुगेपछि सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएका थिए । विहीबार साँझ राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले विहीबार साँझ दुवै सदनबाट पारित ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक’ बिहीबार प्रमाणीकरण गरेको जानकारी दिएको थियो ।
मन्त्रिपरिषदले जेठ ५ मा नक्सा पारित गरेर जेठ ७ मा सार्वजनिक गरिएको थियो । त्यसपछि सरकारले नयाँ नक्साअनुसार निसान छाप बदल्न संविधान संशोधन विधेयक संसदमा पेश गरेको थियो ।
अतिक्रमणम परेको भूमि नक्सा र निशान छापमा वैधानिक रुपमा समेटिएपछि नेपालमा खुशीयाली छाएको छ । उता भारतले भने नेपाल–भारत सीमा क्षेत्रमा गस्ती बढाएको छ । कालापानीलगायत सबै सीमा क्षेत्रमा एसएसबीका उच्च अधिकारीहरुको नेतृत्वमा गस्ती बढाइएको छ ।
चीन भारत सीमा क्षेत्र लद्दाखमा चिनियाँ सेनाबाट झपड खाएको भारतले नेपालसँग जोडिएका सीमा क्षेत्रमा पनि खुलमखुला रुपमा गस्ती बढाएको छ । चीनसँग डराउने र नेपाललाई हेप्ने प्रवृति भारतीय हो । चीनसँग वार्ता गरिरहेको छ भने विहीबार मात्रै नेपालसँग तत्काल वार्ता नहुने बताइसकेको छ ।