
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अन्तिम तयारीमा पुगेको बेला प्रचण्ड बादललाई भेट्न विहानै मन्त्री क्वाटरमा पुगे । संसद विघटनपछि कुनै पनि समूहमा नखुलेका बादललाई आफूतिर तान्न प्रचण्ड र ओली लागिरहेका छन् । सोमबार साँझ बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब दुई घण्टा छलफल गरेर फर्किएका थिए ।
सोमबार विहान बादलले आफू निकट नेताहरुसँग छलफल गरेका थिए । सबै नेताहरुले ओलीले कदम प्रतिगामी भएको भन्दै बादललाई साथ नदिन सुझाव दिएका थिए । त्यसपछि ओलीले विहान बालुवाटारमा बोलाएको भेला र प्रचण्ड र नेपाल समूहले दिउँसो बालाएको भेला दुबैमा बादल सहभागी भएका थिएनन् । दुबै भेलामा बादल सहभागी नभएपछि कतातिर लाग्छन् सबैले चाँसोका साथ हेरका छन् ।
सोमबार साँझ बादलले ओलीसँग के भने भन्ने विषय खुल्न सकेको छैन । तर सोमबार विहान प्रचण्डसँग भएको छलफल सकारात्मक भएको बताइएको छ । प्रचण्डले बादलसँग भएको छलफलबारे जानकारी गराउँदै छलफल सकारात्मक भएको बताएका छन् ।
छलफलको क्रममा प्रचण्डले आफूहरुले बोलाएको केन्द्रीय समिति बैठकमा आउन आग्रह गरेको तर बादलले छलफल गरेर दिउँसोसम्म जवाफ दिने बताएका छन् । बादलले पार्टी एकतालाई जोगाउन आफू कुनै पनि भेलामा सहभागी नहुने बताउँदै आएका छन् । आज पार्टी विभाजन नहुने स्थितमा बादल अझै केही दिन कुनै पनि समूहमा नलाग्ने बताइएको छ । तर, पार्टी विभाजन हुने अवस्थामा प्रचण्डतिर नै लाग्ने बादल निकट नेताहरुले बताएका छन् ।
त्यसैगरी ओली समूहतिर लागेका पूर्वमाओवादी नेताहरुले बादललाई आफूतिर तान्ने छलफल जारी राखेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट र गृहमन्त्री बादलबीच छलफल भएको छ । पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी र मणि थापाले पनि बादलसँग छलफल गरेका छन् । उनीहरुले एउटा समूह बनाएर ओलीतिर लाग्न बादललाई आग्रह गरेका छन् ।
अन्तिम चरणमा मात्रै खुल्ने बादलशैली हो । प्रचण्ड र मोहन वैद्यबीचको विभाजनमा पनि अन्तिम चरणमा बादल वैद्यतिर लागेका थिए । पछि फेरि प्रचण्डसँगै फर्किएका थिए । पूर्वमाओवादी नेताहरुले सजिलै बादलले प्रचण्डसँगको साथ छोड्न सक्दैनन् । जनयुद्धको सुरुवात गर्दादेखिको सहकार्यदेखि अहिलेसम्म हेर्दा प्रचण्ड र बादलबीच लामो समयसम्म विवाद रहेको छैन ।