काठमाडौँ । उच्च शिक्षासँगै हरेक युवाहरुका आआफ्नै सपना र योजना हुन्छन् । आफू र आमाबुबाको सपना पूरा गर्न घर छोड्छन् । त्यस्तै, आमाबुबाको अपेक्षा र इन्जिनियर बनेर देश विकास गर्ने सपनासहित विरेन्द्र रावल पनि काठमाडौँ पसेका थिए ।
अछाम पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला मोरेलीमा जन्मिएका रावल २०६३ सालमा काठमाडौँ पसेका थिए । उनी बुबा सूर्यबहादुर रावलको अपेक्षा र इन्जिनियर बन्ने सपना बोकेर काठमाडौँ पसेका थिए । घरबाट नजिकै रहेको श्री भवानी देवी माविबाट एसएलसी पास गरेपछि विरेन्द्रले इन्जिनियर बन्ने सपना देखे । काठमाडौँ गएर इन्जिनियर पढ्ने सपना बनाए तर जम्मा गरेको रुपैयाँ खल्तीमा राखेर आउने अवस्था थिएन ।
छोराका इन्जिनियर बन्ने सपना पूरा गर्न बुबा सूर्यबहादुरले एकहल गोरु बेच्ने निधो गरे । त्यही एक हलगोरु बेचेको रुपैयाँ बोकेर विरन्द्र काठमाडौँ पसे । त्रिचन्द्र कलेजमा आईएसीमा भर्ना भए ।
त्रिचन्द्र विद्यार्थी राजनीतिको अग्रपंक्तिको कलेज भएकोले त्यहाँ विद्यार्थी नेताहरुसँग उठबस हुन थाल्यो । बुबा सूर्यबहादुर पुराना कम्युनिस्ट कार्यकर्ता भएकै कारण विरेन्द्र को मानसपटलमा पनि कम्युनिस्ट विचारको सकारात्मक प्रभाव परिसकेको थियो । विरेन्द्रले नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुमा संगठित भए । कलेजमा विद्यार्थी संगठनहरुको गतिविधिका कारण इन्जिनियर बन्ने भन्दा राजनीतिमा लाग्ने प्रेरित गरेको विरेन्द्र बताउँछन् ।
पहिलो वर्षमै अनेरास्ववियुको कक्षा कमिटीको सचिव भएका विरेन्द्र दोस्रो वर्षमा सोही कमिटीको अध्यक्ष भए । अनेरास्वावियुमा सक्रिय भएर लागेपछि नेपाल विद्यार्थी संघले विरेन्द्रलाई आँखाका कसिंगर जस्तै बनेका थिए । संगठनको जिम्मेवारीसँगै बिएससी पढ्दै २०६७ पुस ४ गते क्याम्पस परिसरमै नेविसंघका कार्यकर्ताहरुले विरेन्द्रमाथि खुकुरी प्रहार गरे । नेविसंघका कार्यकर्ताहरुले विरेन्द्रलाई मर्यो भन्दै छोडेर भागे । यो घटना राष्ट्रिय राजनीतिमा ठूलो चर्चा समेत भयो । काठमाडौँ मोडल अस्पतालमा उपचारपछि विरेन्द्रको ज्यान जोगियो । खुकुरी आक्रमणमा खुट्टाका नसा समेत काटिएका विरेन्द्रलाई अनेरास्ववियुको जिउँदो सहिद समेत भन्ने गरिन्छ ।
खुकुरी आक्रमणले आफूलाई पूर्णकालिन रुपमा राजनीतिमा लाग्ने थप प्रेरणा मिलेको विरेन्द्र बताउँछन् । “संगठनको जिम्मेवारीसँगै इन्जिनियर बन्ने सपना पनि पूर्णरुपमा मरिसकेको थिएन । मैले पटकपटक बुबाले हलगोरु बेचेर इन्जिनियर बन्न काठमाडौँ पठाएको सम्झिरहेको हुन्थे । बुबाको लागि भएपनि इन्जिनिर बन्नुपर्छ भन्ने नै थियो । तर, ममाथि जब खुकुरी आक्रमण गरियो, यो घटनाले मलाई इन्जिनियर बन्ने सपना त्याग्न लगायो । अब पूर्णकालिन रुपमा राजनीतिमै लागेर देश र जनताको सेवा गर्नुपर्छ भन्ने लाग्यो” विरेन्द्रले भने ।
क्याम्पस कमिटीको कोषाध्यक्ष भइसकेका विरेन्द्रको राजनीतिक यात्रा खुकुरी प्रहार भएपछि झन् शसक्त बन्यो । लामो उपचारपछि गाउँमै गएर केही समय आरामपछि विरेन्द्र पुनः काठमाडौँ फर्किएर संगठनमा सक्रिय भए ।
त्यसैगरी सिन्धुलीमा भएको चर्चित वाईसिए र युथफोर्सबीच भएको झडपमा समेत विरेन्द्र पनि सहभागी थिए ।
काठमाडौँबाट महेश बस्नेतको नेतृत्वमा चार गाडीमा गएका युथफोर्सका कार्यकर्तालाई वाईसिएलले घेरा हालेको थियो । त्यो बेला पनि निकै कुटाई खाएको विरेन्द्र सम्झिन्छन् ।
२०७२ मा नविना लामाको अध्यक्षमा बनेको कमिटीको केन्द्रीय सदस्यमा निर्वाचित भए । तत्कालिन (नेकपा) बनेको अनेरास्ववियूको पनि केन्द्रीय सदस्य भए ।
२०७८ सालमा अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलनले केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्वाचित भए ।
आगामी फागुन २ गते अनेरास्ववियुको २३ औं राष्ट्रिय हुँदैछ । फागुन २, ३ र ४ काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने अनेरास्ववियुले निर्णय गरिसकेको छ । अनेरास्ववियुले अहिले देशभर सम्मेलन केन्द्रीत कार्यक्रम बनाएको छ ।
राष्ट्रिय सम्मेनलबाट निर्वाचित हुने नयाँ कार्यसमितिमा विरेन्द्रले पदाधिकारीको दाबी समेत गरेका छन् । उनले आफ्नो योगदान र भूमिकाका आधारमा संगठनले आधिकारिक रुपमा आफूलाई अगाडि सार्ने विश्वस्त रहेको बताए ।