जनकपुर । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ ।
भव्यताका साथ मनाईने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ ।
जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध मानिन्छ । जनकपुरधामको गंगासगर पोखरी, धनुष सागर, अरगज्जा पोखरी, रुकमिनि पोखरी, अग्निकुण्ड, ध्रुवकुण्ड, रत्नसागर, दशरथ तलाउलगायत पोखरीका घाटहरुमा सरसफाई गरिनुका साथै, टेन्ट लगाउने कार्य तीव्र रुपमा भइरहेको छ ।
चार दिन सम्म मनाइने छठ पर्व यस वर्ष शनिबार (भोली) देखि सुरु हुँदै छ । शनिबार ‘नहाय–खाय’ विधि गरिनेछ । ब्रतिले पहिलो दिन ‘नहाय–खाय’ गरी शरीर र मनलाई शुद्ध बनाउने काम गर्छन् ।
दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ भने तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । अन्तिम अर्थात चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिइएपछि चार दिने पर्व सम्पन्न हुन्छ ।


अनलाइन डबली


