आज :

जब बहालवाला मन्त्रीज्यूले ‘निद्रा लागेन, तिम्रो याद आयो !’ भनेर मेसेज गरेपछि…

  • अनलाइन डबली

काठमाडौँ । मिडिया एडभोकेसी ग्रुप (म्याग)ले आज (बुधबार) ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ प्रतिवेदन सार्वजनिक गर्यो । देशभरका दुई सय ८१ महिला पत्रकारलाई अनलाइन हिंसासँग सम्बन्धित प्रश्न अनलाइनमार्फत पठाएर गरिएको अध्ययनमा ९० प्रतिशतले अनलाइन हिंसा भोगेको बताएका छन् ।

अन्य संस्थाको तुलनामा सञ्चारमाध्यमलाई बढी बहस र छलफल हुने थलोको रूपमा लिइन्छ । पत्रकारले प्रचलित कानुन र सामाजिक न्यायका सम्बन्धमा मोटामोटी बुझेको हुन्छ भन्ने पनि समाजको धारणा पाइन्छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत पत्रकार महिलामाथि नै यो परिमाणमा हिंसा हुन्छ भने आम महिलाको अवस्था के होला ?

सहकर्मीबाटै बढी हिंसा
अध्ययनमा सहभागी ८८.६ प्रतिशत (दुई सय ४९ जना) ले विभिन्न माध्यम र प्रकारबाट आफूले अनलाइन हिंसा भोगेको बताएका छन् । यस्तै, ११.४ प्रतिशत (३२ जना) ले आफूले प्रत्यक्ष रूपमा अनलाइन हिंसा नभोगेको तर भोगेकाहरूले आफूलाई सुनाएको बताएका छन् ।

अध्ययन अनुसार, सबैभन्दा बढी हिंसा गर्नेमा कार्यालयभित्र र कार्यालय बाहिरका सहकर्मी छन् । त्यस्तै, राजनीतिक दलका व्यक्ति, सरकारी निकायका व्यक्ति र सुरक्षाकर्मीले समेत हिंसा गरेको पाइएको छ ।

अध्ययनमा सहभागी ४१.३ प्रतिशत (एक सय १६ जना) ले कार्यालयभित्रका सहकर्मीबाट र ३१.७ प्रतिशत (८९ जना)ले कार्यालय बाहिरका सहकर्मीबाट अनलाइन हिंसा भोगेको बताएका छन् । नचिनेको व्यक्तिबाट हिंसा गर्ने पनि ३१.७ प्रतिशत नै छन् ।

यस्तै, राजनीतिक दलका सदस्यबाट १९.९ प्रतिशत, सरकारी निकायका व्यक्तिबाट ९.३ प्रतिशत र सुरक्षाकर्मीबाट ६ प्रतिशतले हिंसा भोगेको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रीज्यूको म्यासेज : निद्रा लागेन, तिम्रो याद आयो
प्रतिवेदनमा अनलाइन हिंसा भोग्ने केही महिला पत्रकारका अनुभव र भोगाइ पनि समेटिएका छन् । मधेस प्रदेशमा रेडियो र टेलिभिजनमा कार्यरत एक पत्रकार महिलाको अनुभव यस्तो छ :

म विगत दश वर्षदेखि मधेस प्रदेशमा पत्रकारिता गर्छु । एकजना राज्यमन्त्रीलाई अन्तर्वार्ताका लागि पटकपटक फोन गरेँ । उहाँको समय मिलेपछि अन्तर्वार्ता लिएँ । अन्तर्वार्ता लिइसकेपछि ‘तपाईं त राम्रो मान्छे हुनुहुँदोरहेछ, मैले पहिल्यै भेट्नुपर्ने’ भन्नुभयो । मैले सामान्य रूपमा लिएँ । त्यतिबेला म रेडियो र टेलिभिजन दुवैमा काम गर्थें । रेडियोमा गरेपछि केही दिनपछि टेलिभिजन अन्तर्वार्ताका लागि समय मिलाएँ । स्टुडियोमा अन्तर्वार्ता सकिएपछि उहाँले ‘प्राइभेट रुम छैन ? एकछिन कुरा गरौँ न’ भन्नुभयो । प्राइभेट रुम त छैन, तर यहाँ कुरा गर्न मिल्छ भनेँ । ‘भइहाल्यो’ भनेर उहाँ जानुभयो । राति मोबाइलमा म्यासेज आयो– ‘निद्रा आएन, तिम्रो याद आयो ।’ मैले जवाफ दिइनँ र उहाँसँग कहिल्यै सम्पर्क गरिनँ ।

कार्यरत संस्था के भन्छ ?
अध्ययन अनुसार, अनलाइन हिंसामा परेका महिला पत्रकारले हिंसा सम्बन्धमा आफू कार्यरत संस्थालाई बताउने गरेका छन् । अध्ययनमा सहभागीमध्ये ३३.५ प्रतिशत (९४ जना)ले आफू कार्यरत संस्थाको नेतृत्वले कानुनी उपचार खोज्न सुझाव दिएको बताएका छन् । यस्तै, २०.६ प्रतिशत (५८ जना) ले आफू कार्यरत संस्थाबाट कुनै प्रतिक्रिया र सहयोग नपाएको, १६ प्रतिशत (४५ जना)ले आफू कार्यरत संस्थाले चुप लागेर बस्न भनेको बताएका छन् ।

आफू कार्यरत संस्थाले पीडकमाथि छानबिन गरेको बताउने ११ प्रतिशत छन् भने घटनालाई सामान्य रूपमा लिन भनिएको बताउने ५ प्रतिशत महिला पत्रकार छन् । अध्ययनमा सहभागीमध्ये ४.६ प्रतिशत पीडितलाई उनीहरू कार्यरत संस्थाले डिजिटल सुरक्षा विशेषज्ञसँग सम्पर्क गर्न भनेको थियो ।

हिंसाको असर
अध्ययनअनुसार, अनलाइन हिंसामा परेका ७४.३ प्रतिशत पत्रकार महिलाले तनाव बढेका कारण कामको गुणस्तर खस्केको बताएका छन् ।अध्ययनमा सहभागीमध्ये ४० प्रतिशतले अनलाइन हिंसाका कारण आफ्नो पेसामा असर परेको, ३१ प्रतिशतले पारिवारिक जीवनमा असर परेको र ४३ प्रतिशतले मानसिक स्वास्थ्यमा असर परेको बताएका छन् । यस्तै, हिंसामा परेपछि २६.३ प्रतिशत महिला पत्रकारले मनोसामाजिक परामर्श लिनुपरेको छ । हिंसामा परेको घटना बताउँदा साथी तथा सहकर्मीको हेर्ने नजर फरक परेको बताउन १७.७ प्रतिशत छन् ।

हिंसाको कारण
अध्ययन प्रतिवेदनले महिला पत्रकारमा अनलाइन हिंसा बढ््नुमा सातवटा कारण देखाएको छ । जसअनुसार, डिजिटल लिटरेसीको कमी, उचित कानुनको कमी, मिडियामा आवश्यक नीतिको अभाव, महिला पत्रकारलाई हेर्ने दृष्टिकोण, कानुनको कार्यान्वयनमा उदासीनता, पितृ सत्तात्मक स्रोत र पत्रकारमा व्यावसायिकताको कमी आदि कारण महिला पत्रकारमाथि अनलाइन हिंसा बढेको हो ।

माध्यम
इन्टरनेटलाई माध्यम बनाएर गरिने हिंसालाई अनलाइन हिंसा भनिन्छ । अध्ययनमा सहभागीमध्ये सबैभन्दा बढी एक सय ७५ जना (६२.२ प्रतिशत) ले फेसबुक म्यासेन्जरबाट आफू हिंसामा परेको बताएका छन् । यस्तै, एक सय ७२ जना (६१.२ प्रतिशत) ले फेसबुकका माध्यमबाट, १२.८ प्रतिशतले ह्वाट्सएपबाट, ११.७ प्रतिशतले भाइबरबाट, ४.६ प्रतिशतले इन्स्टाग्रामबाट, ६ प्रतिशतले इमलेबाट र २.५ प्रतिशतले युट्युबबाट, १.१ प्रतिशतले एसएमसएबाट र माथिका सबै माध्यमबाट १.१ प्रतिशतले हिंसा भोगेको बताएका छन् ।

(वि.सं. २०७९ साउन २६ गते महिला पत्रकारसँग गरिएको समूहगत छलफलमा आफूले भोगेको परिस्थिति सेयर गर्दै मधेस प्रदेशमा रेडियो र टेलिभिजनमा कार्यरत महिला पत्रकार)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal