आज :

घनश्यामको विद्रोह स्वाभाविक भन्दै भीम रावलले गरे यस्तो बोल्ड निर्णय, एमालेभित्र तरंग

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावल मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार बन्न पार्टीको क्षेत्र र जिल्लाबाट एकल सिफारिसमा परे। एमाले अध्यक्ष केपी शर्मा ओलीका आलोचक रावल एक्लै सिफारिसमा परेपछि उनले यसपालि पनि टिकट पाउने धेरैको आँकलन थियो।

पटक-पटक मन्त्री हुँदै उपप्रधानमन्त्री भइसकेका रावलको अछाम एमालेमा बलियो प्रभाव छ। अछाम-१ बाट उनी तीन पटक सांसद निर्वाचित भएका छन्। रावलको एकल सिफारिस भए पनि एमाले अध्यक्ष ओलीले भने यसअघि नै उनलाई टिकट नदिने संकेत गरिसकेका थिए।

आफूलाई भेट्न आएका सुदूरपश्चिमका एमाले नेताहरूसँग उनले भनेका थिए- तलबाट एकल सिफारिस भयो भन्दैमा कसैले पार्टीको टिकट पाउने ग्यारेन्टी हुन्न।

नभन्दै त्यस्तै भयो। एमालेले रावललाई टिकट दिएन। केही समयअघि मात्रै माओवादी केन्द्र छोडेर आएका झपट बोहोरालाई उम्मदेवार बनायो।

रावलले टिकट नपाएको र एमालेको टिकट वितरण पद्धतिबारे प्रतिक्रिया लिन खोज्दा उनले भन्दै आएका थिए- म गहन अध्ययन गरिरहेको छु, उचित समय आएपछि बोल्नेछु।

‘गहन अध्ययन’ सकेपछि रावलले बोल्न बिहीबार पत्रकार सम्मेलन आयोजना गरे। बबरमहलको कार्की ब्यांक्वेटमा भएको पत्रकार सम्मेलनमा रावलले आफूले टिकट नपाएको सन्दर्भ र एमालेको टिकट वितरण प्रणालीप्रति रोष पोखे।

पत्रकार सम्मेलनका लागि उनले पाँच हजार शब्दको वक्तव्य तयार पारेका थिए। पार्टीको टिकट वितरण प्रणालीबारे रावलले भने, ‘टिकट वितरण प्रणाली स्वेच्छाचारी र अन्यायपूर्ण छ।’ आफू पनि त्यसैको शिकार भएको उनको तर्क छ।

एमालेमा विवाद हुँदा समाधानको प्रयास गर्ने १० बुँदे पक्षधरलाई प्रतिशोध साँध्नकै निम्ति अध्यक्ष केपी शर्मा ओलीले एमालेमा कुनै योगदान नभएकालाई टिकट दिएको उनले बताए। पार्टीभित्र विधि र पद्धतिको वकालत गर्नेहरूलाई षडयन्त्रपूर्वक नेतृत्वले पाखा लगाएको उनको टिप्पणी छ।

एमाले अध्यक्ष ओलीले निकटहरूसँग १० बुँदे पक्षधरले पार्टीको अनुशासन उल्लंघन गरेकाले आत्मालोचना गर्नुपर्ने बताउँदै आएका थिए। पार्टीभित्र अनुशासनका कुरा गर्ने अध्यक्ष ओलीलाई नै रावलले प्रश्न गरेका छन्, ‘होली वाइनका प्रवर्द्धक एकनाथ ढकालले समानुपातिकको टिकट पाउने, एमालेका कार्यकर्तामाथि दमन गर्ने र पार्टीले प्रतिक्रियावादी भनेको व्यक्तिलाई मकवानपुरमा चुनाव चिन्ह दिने, एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने काम कुन विधि, अनुशासन र पद्धतिभित्र पर्छ?’

अछाम-१ मा अन्तरघात गरेर आफूलाई हराउन नसकिने निष्कर्षमा पुगेपछि ओलीले टिकट नदिएको रावलको दाबी छ। क्षेत्र र जिल्लाबाट सर्वसम्मत सिफारिस हुँदासमेत आफूलाई टिकट नदिनुले अछाम जिल्ला कमिटीको अपमानका साथै पार्टीको हित र एकतामा आघात पुर्‍याएको रावललको जिकिर छ।

‘एमालेमा कुनै योगदान नगरेको र सिफारिसमै नपरेको व्यक्तिलाई अघि सार्ने अध्यक्ष केपी ओली लगायतले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छारी, अन्यायपूर्ण र गलत छ। यस्तो निर्णयले पार्टी संगठनमा रहनुभएका नेता र कार्यकर्ताको अपमान भएको छ र पार्टीको हित र एकतामा आघात पुर्‍याएको छ।’

रावलले देशभर एमालेका कार्यकर्ता जिताउन अपिल गरेका छन्। अछाम-१ का सन्दर्भमा उनको कसलाई समर्थन हुन्छ भनी सोधिएको प्रश्नमा रावलले बोहोरालाई समर्थन हुन नसक्ने संकेत गरे। ‘अछाम-१ को सन्दर्भमा मैले केही पनि भन्न सक्दिनँ। त्यहाँका कार्यकर्ता र जनताको भावनाअनुसार मैले पनि निर्णय लिनेछु,’ उनले भने।

१० बुँदे पक्षधरबाट टिकट नपाउनेमा रावलमात्रै छैनन्। चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा ओलीलाई चुनौती दिने अर्का नेता घनश्याम भुसालले पनि टिकट पाएनन्। एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

भुसाल रूपन्देही-३ बाट उठ्न चाहन्थे तर उनी त्यहाँबाट नभएर रूपन्देही-१ बाट सिफारिस भएका थिए। रूपन्देही-३ मा एमालेले राप्रपाका दीपक बोहोरालाई समर्थन गरेको छ। भुसालको विद्रोहलाई रावलले स्वाभाविक भनेका छन्।

‘आफ्ना पार्टीका निष्ठावान् कार्यकर्तालाई पाखा लगाएर आफ्नै कार्यकर्तालाई दमन गर्ने व्यक्तिलाई टिकट दिने कुरा सह्य हुने कुरै भएन। दमन भएपछि विद्रोह स्वाभाविक रूपमा जन्मिन्छ। घनश्याम भुसालको विद्रोह स्वाभाविक छ,’ रावलले भनेका छन्।

पार्टीले टिकट नदिएपछि रावल पनि एमालेबाट बाहिरिने आशंका भइरहेको थियो। आफ्नो आगामी बाटोबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका रावलले कस्तो बाटो तय गर्लान् भनेर सञ्चारकर्मी प्रतीक्षारत थिए।

रावलले अल्पकालका लागि आफ्नो बाटो सुनाए– न्यायको रक्षा नगरी अन्याय पराजित हुन सक्दैन। घोषित सिद्धान्त र कार्यक्रमको रक्षा नगरी पार्टीको रक्षा हुँदैन। त्यसैले देश र जनताको पक्षमा आवाज उठाउन निम्ति मैले उचालेको झण्डा समातिरहनेछु।’

भुसालको कदमलाई समर्थन गरेका रावललाई अन्याय सहँदै पार्टीमै बस्ने हो वा तपाईं पनि विद्रोह गर्ने आँट गर्नुहुन्छ भन्ने प्रश्न सोधिएको थियो। रावलले यसबारे अमूर्त जवाफ दिए। उनले भने, ‘आवेगमा होइन, राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी बाटो तय गर्नेछु।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal