आज :

एमसीसीबारे प्रस्तावित अमेरिकी राजदूतले यस्तो टिप्पणी गरेपछि चीनले मुख खोल्यो, कसलाई के भन्यो ?

  • अनलाइन डबली

काठमाडौं। नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा चीनको भूमिकाबारे गरेको टिप्पणीको नेपालस्थीत चिनियाँ दूतावासले खण्डन गरेको छ ।

चिनियाँ दूतावासले आफ्ना प्रवक्तामार्फत शुक्रबार त्यसको खण्डन गर्दै प्रस्तावित राजदूत थम्पसनको भनाइ ‘आधारहीन’ भएको बताएको हो ।

केही महिनाअघि नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित थम्पसनले बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिने क्रममा चीनले चलाएको दूष्प्रचारका बीच पनि नेपालको सदनले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको उल्लेख गरेका थिए ।

चिनियाँ दूतावासले एमसिसीबारे नेपालमा चर्को बहस भएको तर संसदले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको उल्लेख गरेको छ । उक्त व्याख्यात्मक टिप्पणीमा नेपालको कानुन एमसीसीभन्दा माथि हुने व्यवस्था गरेको दूतावासको भनाइ छ ।

‘थम्पसनको अभिव्यक्तिले चीनको मात्रै नभएर नेपाल र नेपालीको पनि अपमान गरेको छ । वास्तवमा प्रस्तावित राजदूतको अभिव्यक्ति नै ‘दुष्प्रचार’ हो,’ दूतावासले भनेको छ, ‘चीन यसको खण्डन गर्दछ ।’

दूतावासले अन्तर्राष्ट्रिय सहायता लिँदा परस्पर सम्मान र समानताको आधारमा सम्बन्धित देशको सार्वभौमसत्ता र नागरिकको सम्मान गर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा कूटनीतिक दबाब हुनु नहुनेमा चीन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

‘चीन छिमेकी मित्र र विकास साझेदार भएकाले नेपालको सार्वभौमिकताको रक्षा, स्वतन्त्रता र राष्ट्रिय हितको सुरक्षा गर्न तथा नेपालले आफ्नै स्वतन्त्र विकासको बाटोबाट अघि बढ्न सहयोग गर्नेछ,’ दूतावासले भनेको छ ।

के भनेका थिए प्रस्तावित अमेरिकी राजदूत थम्पसनले ?
नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले नेपालमा रहेका तिब्बती शरणार्थी र सीमान्तकृत समुदायको अधिकारलाई जोड दिएर काम गर्ने बताएका छन् ।

थम्पसनले ‘आफू नेपालका लागि राजदूतमा अनुमोदन भए के गर्ने’ भन्ने योजना अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सुनुवाइमा धारणा राख्ने क्रममा आफ्नो योजना प्रस्तुत गरेका हुन् ।

‘राजदूत भएर सेवा गर्ने अवसर पाएको खण्डमा नेपालका नागरिक र त्यहाँ बसोबास गर्ने सबैको अधिकारका लागि जोड दिनेछु । त्यसमा दलित, सीमान्तकृत र तिब्बतीलगायत शरणार्थी समुदायहरू रहने छन्,’ उनले जवाफ दिने क्रममा भनेका छन्, ‘म नेपाल सरकारलाई अर्थपूर्ण समावेशी, आर्थिक अवसर र मानवीय सहायतका नीति कार्यन्वयनका लागि प्रोत्साहन गर्नेछु ।’

उनले नेपालको आर्थिक वृद्धिलाई सहजिकरण गर्ने र दुई देशबीचको व्यापार सम्बन्ध सुदृढ बनाउने विषयलाई प्राथमिकता दिने बताएका छन् । ‘हामी नेपालसँगको सम्बन्धको महत्वपूर्ण मोडमा छौँ,’ उनले भनेका छन्, ‘नेपाललाई दुई ढुंगाबीचको तरुलका रूपमा चित्रित गरिन्छ, ती ढुंगा भनेका चीन र भारत हुन् । जबकि ती दुवै देशसँग नेपालको सम्बन्ध महत्वपूर्ण छ । हामीले पनि नेपालको स्वाधिनतालाई बलियो बनाउँदै अमेरिकासँगको साझेदारीलाई सुदृढ बनाउनुपर्छ ।’

उनले नेपाल र अमेरिकाको साझेदारीको ७५औं वर्ष पूरा भएको भन्दै अमेरिकी मूल्य र मान्यता अन्तर्गतका विविधता, समता, समावेशिता र पहुँच विस्तारको क्षेत्रमा काम गर्ने बताए ।

चीनले फैलाएको अफवाह अभियानको सामना गर्दै ५०० मिलियन डलरको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई नेपालको संसदले अनुमोदन गरेको उनको भनाइ छ ।

उनले यस परियोजना अन्तर्गत नेपालको जलविद्युतलाई दक्षिण एसियाको ऊर्जा ग्रिडसँग जोड्न प्रसारण लाइन, उच्च गुणस्तरका सडकहरू निर्माण गर्ने र यसले दुवै देशको समृद्धिमा सहयोग पुग्ने धारणा राखेका छन् । साथै, संयुक्त राष्ट्र संघको महासभामा युक्रेनको प्रस्तावमा नेपालले गरेको समर्थनलाई उनले स्मरण गरेका छन् ।

राजदूत र्‍यान्डी बेरीको कार्यकाल सकिनै लाग्दा गत चैतमा नेपालका लागि नयाँ राजदूतमा सिफारिस भएका थम्पसनको १३ जुलाईमा संसदीय समितिमा सुनुवाइ भएको हो ।

हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिवका रूपमा काम गरिरहेका थिए । अमेरिकी नीति र सो क्षेत्रका देशहरूसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ । थम्पसनले अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समय काम गरेका छन् ।

उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए । उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रूपमा काम गरेको अनुभव छ ।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीको कार्यकाल सकिएर ह्वाइट हाउसनले नामिबियाको राजदूतमा सिफारिस गरेपछि प्रस्तावित राजदूत थम्पसनको जिम्मेवारी सम्हाल्ने प्रक्रिया चलिरहेको छ ।

अमेरिकाले गत असारमा नेपालका लागि राजदूत बेरीलाई नामिबियाका लागि र दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलरलाई ताजिकस्तानका लागि राजदूतमा प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal