
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले वर्तमान सरकारले माओवादी आन्दोलन र गणतन्त्र पक्षधर नेताहरुलाई धरपकड गर्ने, सुरक्षा थ्रेट दिने, विभिन्न आरोप लगाउने र कुप्रचार गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले यस्ता कामहरु तत्काल बन्द गर्नुपर्ने बताएका हुन् ।
‘अहिले बनेको सरकारले माओवादी आन्दोलनका र गणतन्त्र पक्षधरका ती नेताहरुलाई धरपकड गर्ने, सुरक्षामा थ्रेट दिने, आरोप लगाउने, कुप्रचार गर्ने कार्यहरु भइरहेका छन्,’ उनले भने ।
अखिल (क्रान्तिकार) का अध्यक्ष सापकोटाले तत्कालीन सकरारले जेन–जी आन्दोलनको क्रममा ड्रेसमा आएका विद्यार्थीहरुमाथि गोली हानेको भन्दै आपत्ति जनाए । उनले गोली हान्न आदेश दिने दोषीमाथि कारबाही गरिनुपर्ने बताए । यो कुरा आफूहरुलाई सह्य नरहेको पनि उनले बताए ।
‘यो सरकारले भदौ २३ गते भएको आन्दोलनमा ड्रेसमै रहेका विद्यार्थीहरुलाई हत्या गरियो । ती हत्याराहरुलाई छानविन गरेर कारबाही गर्नुको साटो अन्तै कुरा मोड्न खोजिरहेको छ, यो हामीलाई चित्त बुझिरहेको छैन । यो हामीलाई सह्य पनि छैन,’ उनले भने ।
साथै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्नका लागि त्रिताल आयोग गठन गरिएको र सो आयोगले तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदनसमेत बुझाइसकेकाले त्यो प्रतिदेन सार्वजनिक गर्न माग गरे ।
‘हाम्रा अध्यक्ष प्रधानमन्त्री भएको बेलामा त्रिविको अतिक्रमित जग्गा छानविनका लागि त्रिताल आयोग गठन भएको थियो । त्यतिबेला त्रिताल आयोगले त्रिभुवन विश्वविद्यालयमा हजार रोपनीभन्दा बढी जग्गा अतिक्रमित भएको भनेर तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन गायब भएको छ । त्यो बारे खोज अनुसन्धान हुनुपर्छ,’ उनले भने ।
नेता सापकोटाले अब तोकिएको मिति अगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताए । चुनाव भाँड्नका लागि वर्तमान सरकारदेखि जेन–जी आन्दोलन हाइज्याक गर्नेहरुसम्म लागिरहेको उनले बताए ।
यसैगरी नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष पुष्प ओलीले जेन–जी आन्दोलनको नाममा फेरि पनि हुनसक्ने आक्रमणको प्रतिकार गर्न आफूहरुले काठमाडौं उपत्यकामा १०औं हजारको फोर्स बनाएको बताएका छन् ।
उनले असली जेन–जीहरुको मागमा आफूहरु एकमत रहेको बताए ।
आफूहरु सो आन्दोलनमा स्वयमसेवकीय भूमिकामा संलग्न हुँदाहुँदै पनि घुसपैठेहरुले माओवादीका नेताहरुमाथि आक्रमण गर्ने, शक्तिको दुरुपयोग गरेर दमन गर्ने प्रयास भएको बताए । फेरि पनि यस्ता प्रकारको गोप्य षड्यन्त्रहरु रचिएको हुन सक्छन् भनेर आफूहरुले उपत्यकामा १०औं हजारको युवा फोर्स रेडी गरेर राखेको बताए ।
वाईसीएल अध्यक्ष ओलीले गत भदौ २३ गते ड्रेसमै रहेका विद्यार्थीमाथि हानिएको गोली र गरिएको दमनमाथि छानविन गरिनुपर्ने बताए । उनले भदौ २४ गते १२ बजेदेखि जेन–जी आन्दोलन हाइज्याक भएको र त्यो हाइज्याक गर्ने र विध्वंशमा संलग्नहरुमाथि पनि कारबाही गरिनुपर्ने बताए ।
साथै, उनले माओवादीका अग्रज नेता कृष्णबहादुर महरामाथि धरपकड गरिएको र झुठा मुद्दा लगाएर फसाइएको बताए । उनले महरालाई तत्काल रिहा नगरिएको खण्डमा सडकबाट जवाफ दिने पनि उनले चेतावनी दिए ।
त्यस्तै, उनले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्वराजा र राप्रपाका नेताहरुको सम्पत्ति छानविन गरिनुपर्ने बताए । निष्पक्ष रुपमा हुने सम्पत्ति छानविनमा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटै सुरु गर्न पनि उनले चुनौति दिए ।