
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी नेताहरुले भ्रष्टाचार गरे मन्त्रीबाटै हटाउने बताएका (छन् । भ्रष्टाचार गर्ने, जनअपेक्षाअनुसार काम नगरेको खण्डमा हटाउने आफूले पार्टी मन्त्री भएका नेताहरुलाई प्रष्ट भनिसकेको समेत बताए ।
“भ्रष्टाचार, अनुचित काम गर्ने र देशलाई आँच पु–याउने खालका काम गर्नेलाई छुट दिन सकिदैन । हाम्रो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले यस्ता काम गरे हटाइनेछ” नेपालले भने । उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् ।
एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
केपी शर्मा ओली सरकारको पालामा भएका यती, कोरोना महामारीको बेलामा भएको औषधि खरिदलगायत धेरै मुद्दाको ढाकछोप गर्ने कोसिस भएको बताउँदै अध्यक्ष नेपालले राज्यको सम्पत्तिको दुरुपयोग गर्नेलाई एक–एक छानबिन गर्ने काम गर्न आग्रह गरे । उनले भने, “संसारका देशमा प्रधानमन्त्रीदेखि जुनसुकै ओहोदाका व्यक्तिलाई पनि राज्यको सम्पत्तिको दुरुपयोग गर्छ र भ्रष्टाचार गर्छ भने त्यसमाथि छानबिन हुन्छ तर यहाँ कुनै पनि छानबिन भएन, त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री र वर्तमान सरकारलई म आग्रह गर्न चाहन्छु ।”
त्यसैगरी ओली नेतृत्वको सरकारका पालामा देशको ढुङ्गा, गिट्टी, बालुवा सबै भारत निकासी गर्न छुट दिएर चुरेभावर क्षेत्र बिजोग हुने र पर्यावरणमा असर पार्ने अवस्था बन्दै गएको बेला आफूले त्यसको रोक लगाउन आवाज उठाएको स्मरण गरे । उनले ओलीले गणतन्त्रको खिसिट्युरी गरेकाले सरकार ढालेको र अझै पनि त्यस्तै व्यवहार देखाए पार्टीमा पनि समस्या उत्पन्न हुने चेतावनी दिए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीबाट मन्त्री भएका नेताहरुको आज बैठक बोलाएर विशेष निर्देशन दिने बताइएको छ ।