
काठमाडौं । नेकपा (एमाल) को माधव कुमार नेपाल समूहमाथिको कारवाही फिर्ताबारे छलफल भएको छ । विहीबार विहान एमाले ओली समूहको स्थायी समिति बैठकमा दोस्रो तहका नेतााहरुले कारवाही फिर्ता गरेर एमालेलाई एकतावद्ध गराउनु पर्ने बताएका थिए ।
स्थायी समिति सदस्यहरुले बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । यही २७ गते संसदमा विश्वासको मत लिने उद्देश्यले विशेष अधिवेशन बोलाएका छन् । नेपाल समूहले सहयोग नगरे ओलीले विश्वासको मत नपाउने पक्का भएपछि कारवाही फिर्ताको बहस उठेको हो ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्देशन तथा संसदीय दलका ह्वीप मान्ने प्रतिवद्धता जाहेर गरेपछि मात्रै कारवाही फिर्ताबारे सोच्न सकिने जवाफ दिएका थिए । बैठकको सन्देशसहित महासचिव विष्णु पौडेलले दिउँसो नेपाल समूहका दोस्रो तहका नेताहरुसँग छलफल गरेका थिए । नेपाल समूहका एक नेताका अनुसार ओलीले अहिलेसम्म गरेका मनपरी कार्यप्रति आत्मालोचना गर्दै फिर्ता लिनुपर्ने नेपाल समूहका नेताहरुले जवाफ दिएका थिए । त्यसबारे ओलीसँग छलफल गरेर फेरि भेट्ने भन्दै पौडेल बाहिरिएका थिए ।
अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निष्काशन गरिएको पत्र पठाएका थिए ।
अध्यक्ष ओलीले कारबाहीको विषयलाई बैठकको एजेण्डा बनाएका थिए । बैठकका सहभागी नेताहरुले भने तत्काल कारबाही गर्नु उचित नहुने, बरु सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिएको एक नेताले जनकारी दिएका छन् ।
अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्यहरु थप गर्ने लगायतका निर्णय गरेपछि नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । भेलाका लागि अगुवाई गरेको भन्दै ओलीले ७ चैतमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेर कारबाहीको निर्णय गराएका थिए ।
शुरुमा स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै ओलीले ६ महिना निष्काशन गरेका थिए । नेपाल र रावललाई १३ चैतमा कारबाहीको पत्र दिइएको थियो भने १६ चैतमा भुसाल र पाण्डेलाई कारबाहीको पत्र दिइएको थियो ।
ओलीले नेता नेपाल समूहका ३० सांसदलाई स्पष्टीकरण सोधेका थिए । २७ गते विश्वासको मत नपुग्ने भएपछि त्यसबारे पुर्नविचार गर्न दवाव बढेको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै समूहलाई मिलाउने प्रयास थालेकी छन् । विहीबार नेता नेपालसँग भण्डारीले भेटवार्ता गरेकी छन् । केही दिन पहिला अर्का नेता झलनाथ खनाल निवासमै पुगेर एमालेलाई विभाजनलाई रोक्नु पर्ने बताएकी थिइन् ।