
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विहीबार देशभर विवादित एमसीसीविरुद्ध मशाल जुसुल निकालेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदबाट पास गराउने प्रयास भइरहेको भन्दै नेकपाले त्यसविरुद्ध मशाल जुलुस निकालेको हो ।
नेकपा काठमाडौँले विहीबार साँझ पर्चा तथा मशाल जुलुस निकालेको छ । काठमाडौँका मुख्य स्थानहरुमा नेकपा कार्यकर्ता तथा समर्थकहरुले पर्चा छर्नुको साथै मशाल जुलुस निकालेका थिए । काठमाडौँका काटेश्वर, नयाँ बानेश्वर, न्यूरोड, नयाँ बसपार्क क्षेत्रमै नेकपाका कार्यकर्ताहरुले पर्चा छर्दै मशाल जुलुस निकालेका थिए । नयाँवानेश्वरस्थित संसद भवन नजिकै समेत नेकपाका कार्यकर्ताहरुले पर्चा छर्नुको साथै मशाल जुलुस निकालेका थिए ।
नेकपा काठमाडौँले लिएको जानकारीअनुसार काठमाडौंका गोकणेश्वर, नागर्जुन, चन्द्रागिरी, किर्तिपुर, तार्केश्वोर, टोखा, बुढानिलकण्ठ, कागेश्वरी मनोहराको बाबाचोक, दिक्षणकाली नगरपालिकाको राम्चेभञ्ज्याङ र सितलचोक,सानोभर्याङलगायतका स्थानहरुमा नाराबाजी गर्दै नेकपाका नगर कमिटी र जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुले मशाल जुलुस निकालिएका थिए ।
नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा संसदबाट पास गराउन लागेको भन्दै भन्दै बुधबार देशभर पुत्ला जलाएको थियो । नेकपाले एमसीसी सम्झौता नेपाली सार्बभौमिकता, स्वाधीनता र स्वतन्त्रताविरुद्ध भएको खारेज गर्नुपर्ने बताउँदै आएको छ ।
नेकपाका पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गरेर संघर्षका कार्यक्रम घोषणा गरेका थिए । सोहीअनुसार आज काठमाडौँसहित देशभर एमसीसीका राष्ट्रघाती बुँदासहित पर्चा वितरण गर्नुको साथै मशाल जुलुस निकालेका थिए । नेकपाका कार्यकर्ताहरुले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै संसदबाट पारित गर्न लागेको भन्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।