
कालिकोट सान्नीत्रिवेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पसको यही चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) बाट सभापति पदका उम्मेदवार बसराज बोहरा सान्नीत्रिवेणी गाउँपालिका–४ का स्थायी बासिन्दा हुनुहुन्छ। उहाँको बाल्यकाल जनज्योति माध्यमिक विद्यालय, तिकुवामा कक्षा १ देखि ८ सम्म अध्ययन गर्दै बित्यो भने कक्षा ९ देखि १२ सम्म पञ्चदेवल मावि, मेहलमुडीमा अध्ययन गर्नुभयो। त्यसपछि उहाँले कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा हासिल गर्नुभएको छ। हाल उहाँ जनचेतना बहुमुखी क्याम्पस, मेहलमुडीमा तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ।
बुबा जयबहादुर र आमा आशाका कान्छा छोरा बोहरा सहिद परिवारका सदस्य पनि हुनुहुन्छ। शिक्षा र नेतृत्वमा आफूलाई स्थापित गर्दै विद्यार्थीहरूको आवाज बुलन्द गर्ने लक्ष्यसहित उहाँले सभापति पदमा उम्मेदवारी दिनुभएको छ। उहाँसँग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत छ:
शैक्षिक गुणस्तर सुधारका लागि के-कस्ता पहल गर्नुहुन्छ?
सबैभन्दा पहिले ई-लाइब्रेरीको व्यवस्था गर्छु। विषयगत प्राध्यापकहरूको सुनिश्चितता, व्यवहारिक शिक्षामा जोड र पुस्तकालयको पहुँचमा सुधार ल्याउने मेरो प्राथमिकता हुनेछ। विद्यार्थीहरूलाई सिकाइमा सहज पहुँच दिलाउन आवश्यक स्रोतसाधनको व्यवस्था गर्नेछु।
छात्रवृत्ति अवसरहरू सबै विद्यार्थीहरूसम्म पुर्याउन के पहल गर्नुहुन्छ?
स्थानीय, प्रदेश, र संघीय सरकारसँग समन्वय गरेर छात्रवृत्ति कार्यक्रमलाई सबै विद्यार्थीसम्म पुर्याउने व्यवस्था मिलाउनेछु। क्याम्पस प्रशासनलाई जिम्मेवार बनाउँदै योग्य विद्यार्थीहरूले छात्रवृत्ति पाउने सुनिश्चितता गराउँछु।
अपांगता भएका विद्यार्थीहरूका लागि के-कस्ता पूर्वाधार उपलब्ध गराउनुहुन्छ?
अपांग मैत्री पूर्वाधार निर्माण मेरो प्राथमिकतामा पर्छ। विशेष शौचालय, कक्षा कोठामा सहजै प्रवेश गर्ने संरचना र पठन-पाठनमा सहजीकरण गर्ने उपायहरू निर्माण गरी सबैलाई समावेशी वातावरण तयार गर्नेछु।
स्ववियु कोषको पारदर्शिता र खर्चको विवरण सार्वजनिक गर्ने व्यवस्था गर्नुहुन्छ कि हुँदैन?
अवश्य गर्छु। प्रत्येक खर्चको विवरण सार्वजनिक गरिन्छ, र विद्यार्थीहरूलाई कोषको प्रयोगबारे जानकारी दिन बार्षिक रुपमा प्रतिवेदन प्रस्तुत गरिनेछ।
क्याम्पसमा हुने राजनीति र पढाइबीचको सन्तुलन कसरी मिलाउनुहुन्छ?
राजनीतिभन्दा पनि क्याम्पसलाई शैक्षिकिकरण गर्न पहल गर्छु। विद्यार्थीहरूको अधिकारको संरक्षण र शैक्षिक वातावरण बनाउन काम गर्छु। पढाइ पहिलो प्राथमिकता हो भन्ने मान्यता स्थापित गरिनेछ।
हाल क्याम्पसमा देखिएका प्रमुख समस्याहरू के-के हुन्, र तिनको समाधान कसरी गर्नुहुन्छ?
क्याम्पसमा खानेपानी र शौचालयको अभाव प्रमुख समस्या हो। निर्वाचित भएमा, खानेपानी र सफा शौचालयको व्यवस्थापन पहिलो काम हुनेछ। साथै, कक्षा नियमित सञ्चालन र शैक्षिक शुल्कमा राहत प्रदान गर्दै शैक्षिक वातावरण सुधार गर्नेछु।
तपाईं निर्वाचित भएमा १०० दिनभित्र गर्ने प्रमुख तीन काम के-के हुन्?
१. ई-लाइब्रेरी स्थापना गर्छु।
२. कक्षा नियमित सञ्चालनको व्यवस्था मिलाउँछु।
३. विद्यार्थीको शैक्षिक शुल्कमा राहतको पहल गर्छु।
साथै, क्याम्पसमा रहेका विकृति र विसंगतिहरू अन्त्य गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउने प्रतिबद्धता लिएको छु।
अन्त्यमा, विद्यार्थीहरूलाई के भन्न चाहनुहुन्छ?
म विद्यार्थीहरूको आवाजलाई नीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता लिन्छु। क्याम्पसलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउँदै सबै विद्यार्थीहरूको अधिकारको सुनिश्चितता गर्न म कटिबद्ध छु। तपाईंहरूको विश्वासलाई कर्ममा परिणत गर्न म यहाँ उभिएको छु।
– धन्यवाद!