
देवीराम देवकोटा
सुर्खेत,
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले श्रम र उप्पादन बिना समृद्धि सम्भव नभएको बताएका छन् । उनले सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान राजनीतिक अवस्था र मुलुकको आर्थिक संकटबारे आफ्नो विचार प्रस्तुत गर्दै नेपाललाई आत्मनिर्भर बनाउने मूलमन्त्र श्रम र उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
विप्लवले देशमा व्यापकरूपमा भइरहेको व्यापार घाटा, खाद्य संकट र परनिर्भरताको अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै भने, “नेपालमा दुई महिनाको खाद्यान्न अभाव भइसकेको छ। मुलुकको व्यापार घाटा अरबौंको रहेको छ, तर यहाँ आकाशे गफले मात्रै समृद्धि सम्भव छैन।“
उनले आफ्ना कार्यकर्ता तथा नेताहरूलाई श्रम गर्ने, उत्पादन गर्ने र आत्मनिर्भर बन्न आग्रह गरे। “नेपालमा भिख मागेर खाने संस्कृतिले जरा गाडिसकेको छ। मलाई झोला बोकेर गफ गर्ने, मागेर खाने कम्युनिष्ट नेता र कार्यकर्ता मन पर्दैन। एक छाक खान नपुग्नेहरूले समृद्धिको कुरा गर्नु हास्यास्पद हुन्छ,“ विप्लवले भने ।
विगत ६० वर्षको राजनीतिले देशलाई कंगाल बनाइसकेको भन्दै विप्लवले उत्पादनमूलक प्रणाली नअपनाए नेपालले युक्रेनको जस्तै परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिए। उनले भने, “राजनीति केवल गफको विषय होइन, यो व्यवहारमा उतार्नुपर्छ। आत्मनिर्भर बिना समृद्धि सम्भव छैन।“
उनले विदेशी हस्तक्षेपको विषय उठाउँदै केही विदेशी रिटायर्ड अफिसरहरू काठमाडौँका होटलहरूमा बसेर नेपालमा कसको सरकार बनाउने, कसको सरकार हटाउने भन्ने छलफल गरिरहेको उल्लेख गरे। उनले भने, “यदि नेपाली जनताको भविष्य बाह्य शक्तिहरूको हातमा रहन्छ भने यहाँको निर्वाचन गर्ने कुरा, बहुमत–अल्पमत गर्ने कुराको कुनै औचित्य रहँदैन।“
कम्युनिष्ट एकताको आह्वान
विप्लवले नेपाललाई २००६ सालकै स्थितिमा फर्काउनु पर्ने विचार व्यक्त गर्दै देशका सम्पूर्ण कम्युनिष्ट शक्तिहरू एक हुनु पर्ने बताए । “हामी अहिले समाजवादी मोर्चामा आबद्ध छौँ। कम्युनिष्टहरूबीच सहकार्य हुनुपर्छ, तर त्यो उपयोगका लागि होइन, रूपान्तरणका लागि हुनुपर्छ,“ उनले भने।
हिजोको परिस्थितिले कम्युनिष्टहरु विभाजित भएपनि अहिलेको परिस्थितिले हामीलाई एक हुनुपर्ने बिन्दुमा ल्याएको बताउँदै विप्लवले भने, “देशलाई जोगाउन प्रगतिशील शक्तिहरूको एकता अपरिहार्य छ।“