काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल ‘शिलु’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको छ । विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरी बनेको शिलु नेतृत्वको नेकपाले केही समयअघि राष्ट्रिय भेला गरेर विचार मिल्नेसँग एकता र कार्यक्रम मिल्नेसँग सहकार्य गर्ने औपचारिक निर्णय गरेको थियो ।
नेकपाको महासचिव शिलुले दिएको जानकारीअनुसार यही कात्तिक १७ गते दुबै पार्टीबीच एकता हुन लागेको हो । एकता कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे राखिएको छ ।
विप्लव एकताको पक्षमा नभएको भन्दै शिलुको नेतृत्वमा छुटै राष्ट्रिय भेलाको आयोजना गरिएको थियो । भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।
यसअघि दुबै पार्टीले वार्ता समिति गठन गरेर एकताको लागि विभिन्न चरणमा वार्ता गरेका थिए । कम्युनिस्ट आन्दोलनको अबको नीति तथा कार्यक्रम, सांगठानिक समायोजन र जिम्मेवारीमा कुरा मिलेपछि दुबै पार्टी एकतावद्ध भएर अगाडि बढ्ने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।
कम्युनिस्टहरु विभाजित भएपछि राष्ट्रियता र जनताको अधिकारमाथि खतरा बढ्दै गएको भन्दै सबै कम्युनिस्टहरुले एकतावद्ध भएर अगाडि बढ्नुपर्ने समय आएको शिलुले बताइन् ।


अनलाइन डबली



