आज :

दैलेखको लोपोन्मुख भोसो संस्कृति: पुस्तान्तरणको चिन्ता र सचेतनाको सन्देश

  • नवीन रिजाल
​दैलेख । कर्णालीको माटो, लोकभाका र इतिहास सँग गहिरो रूपमा जोडिएको मौलिक लोकनृत्य संस्कृति ‘भोसो’ भास्सीले यति बेला गाउँ घरमा छुट्टै रौनक र कौतूहल थपिदिएको छ। कर्णाली प्रदेशका दैलेख, जुम्ला, कालिकोट, जाजरकोट तथा सुदूरपश्चिमका अछाम र बझाङ लगायतका जिल्लाहरूमा तिहारको तिथी सँगै यो अनुपम पर्व धुमधामका साथ मनाउने गरिन्छ। विशेष गरी दैलेखका विभिन्न बस्तीहरूमा कार्तिक कृष्ण चतुर्दशी (नरक चतुर्दशी) को रात्रिको आगमन सँगै भोसोको यो अद्वितीय भाका र सुसेली घन्किन थाल्छ।
​जिल्ला सदरमुकाम नजिकै रहेको ऐतिहासिक जाहरकोटका साथै रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा र दुल्लु लगायतका क्षेत्रहरूमा यो प्राचीन संस्कृति आज पनि उत्तिकै जीवन्त छ। आदिकाल देखि नै मौलिक रूपमा जोगाइँदै ल्याइएको र वर्षमा केवल एक रात मात्र खेलिने भएकाले यस लाई स्थानीय भाषामा ‘एक दिने खेल’ पनि भनिने गरिन्छ।
​​स्थानीय जेष्ठ नागरिक‌ तथा अगुवाहरूका अनुसार भोसोको सुरुआत पौराणिक कथा र धार्मिक विश्वास सँग जोडिएको छ। भगवान विष्णुले राजा बलीको अत्यधिक घमण्ड तोड्नका लागि उन लाई पाताल पठाएको प्रसङ्ग बाट यो परम्परा सुरु भएको जनविश्वास छ। भोसो व्यवस्थापन गर्ने मुख्य व्यक्ति (मूली) लाई ‘नायक’ र भोसो खेल्ने सहभागीहरू लाई ‘भुआरा’ भनिन्छ।
​रातको अन्धकार चिर्दै सल्लाको दियालो (झोरो) बालेर साल वा बाँस बाट निर्मित सुन्दर पालकी जस्तै ‘कोठी’ तयार पारिन्छ। चार जना भुआराहरूले त्यो बलिरहेको कोठी लाई आ–आफ्नो काँधमा बोकी, गाउँ भरिका मानिसहरू लयबद्ध भई भोसो गाउँदै अघि पछि लाग्छन् र सिङ्गो गाउँ परिक्रमा गर्छन्। कार्तिक कृष्ण चतुर्दशीको रातभर खेलिने यो भोसो लक्ष्मी पूजाको एका बिहानै नजिकैको नदी, धारा वा तोकिएको ‘भुवाखाडा’ मा लगेर भक्ति पूर्वक सेलाउने समापन गर्ने परम्परा छ।
​विगतका दिनहरूमा भोसो खेलका क्रममा पुराना परम्परा र मान्यता अनुसार केही अपशब्द वा गाली गलौजका शब्दहरू प्रयोग हुने गर्दथे। तर, समयको परिवर्तन सँगै यसमा महत्त्वपूर्ण र सकारात्मक सुधार आएको छ।
​उमेरले जेष्ठ स्थानीय लालबहादुर थापाका अनुसार, अग्रजहरूको प्रेरणाले निरन्तर जोगाइँदै आएको भोसोमा पहिले प्रयोग हुने त्यस्ता अपशब्दहरू हटेर अहिले अत्यन्तै मर्यादित, सभ्य र भावपूर्ण शब्दहरू प्रयोग हुन थालेका छन्। यसले संस्कृतिलाई समय सापेक्ष र समाज सुहाउँदो बनाउँदै लगेको छ।
​​सल्लाको दियालो बालेर उज्यालो, सामाजिक एकता र आपसी भाइचाराको गहिरो सन्देश दिने भोसो संस्कृतिको संरक्षण र पुस्तान्तरणमा भने पछिल्लो समय गम्भीर चुनौती थपिँदै गएको छ।
​जेष्ठ नागरिक लालबहादुर थापा चिन्ता व्यक्त गर्दै भन्नुहुन्छ, हामीले मेला-पर्वहरूमा मौलिक लय र शब्दहरू सुनेरै यो परम्परा जोगायौँ, अब पुर्खाको यो अमूल्य धरोहरलाई जस्ताको तस्तै जोगाउने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने मुख्य जिम्मेवारी युवा पुस्ताको काँधमा आएको छ।
​यसै सन्दर्भमा, पूर्व प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्माले नयाँ पुस्तामा बढ्दो आधुनिक तथा आधुनिक संस्कृतिको प्रभाव र अनुशासनको कमीले गर्दा मौलिक संस्कृतिको पुस्तान्तरण चुनौती‌ पूर्ण बन्दै गएको औँल्याउनुभयो। यद्यपि, अग्रज, समकक्षी र युवा गरी तीनै पुस्ताका मानिसहरू एकै ठाउँमा भेला भएर खेलिने भोसोले समाजमा बन्धुत्व र सद्भावको बलियो सन्देश दिएको उल्लेख गर्दै शर्माले यसको संरक्षणका लागि नयाँ पुस्ता लाई सक्रिय रूपमा सिकाउँदै लैजानु पर्नेमा जोड दिनुभयो।
​लक्ष्मी पूजाको बिहानी पख कोठी सेलाइ सके पछि भने गाउँ भरि धमारी, चुट्का र मारुनी गाउँदै घर घरमा भैलो तथा सिलङ्गी डाली खेल्ने अर्को महत्त्वपूर्ण परम्परा सुरु हुन्छ। विशुद्ध मनोरञ्जन मात्र नभएर धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य बोकेको भोसो संस्कृतिले कर्णालीको सामाजिक सद्भावको बन्धन लाई अझ कसिलो, प्रगाढ र जीवन्त बनाउँदै लगेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal