लिस्बन, पोर्चुगल। पोर्चुगल नेवाः खलःको आयोजनामा नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा सामूहिक म्हः पूजा तथा विविध सांस्कृतिक कार्यक्रम मनाएको छ ।

कार्यक्रममा पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल र उहाँकी धर्मपत्नी रुपा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो ।

राजदुत प्रकाश मणि पौडेलले नयाँ नेपाल सम्बत ११४७ को शुभकामना दिदै नेवाः समुदायको मौलिक भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सामूहिक एकताको महत्त्व भएको बताउन भयो ।
कार्यक्रममा गंगाबहादुर नेम्कुलले नेपाल संवत् र विक्रम संवत्को ऐतिहासिक पृष्ठभूमि, महत्त्व तथा नेपाल संवत्ले बोकेको राष्ट्रिय पहिचान र गौरवबारे प्रकाश पार्नुभयो। उहाँले विदेशस्थित नेपाली दूतावासहरूको आधिकारिक पत्राचार तथा प्रशासनिक कामकाजमा नेपाल संवत् प्रयोग गर्नुपर्ने र नेपालको शैक्षिक पाठ्यक्रममा समेत यसको ऐतिहासिक महत्त्व समेट्नुपर्ने मागसहितको अनुरोधपत्र प्रमुख अतिथि राजदूत पौडेललाई हस्तान्तरण गर्नुभयो।
नेम्कुलले हस्तान्तरण गर्नुभएको अनुरोधपत्रलाई सकारात्मक रूपमा लिँदै राजदूत पौडेलले नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली दूतावासहरूमा नेपाल संवत् प्रयोग गर्ने विषयमा आवश्यक प्रक्रिया अगाडि बढिरहेको र तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँको यस भनाइले विदेशमा नेपाल संवत्काे संस्थागत प्रयोग विस्तार हुने अपेक्षा बढाएको छ।
भाषा, संस्कृति र पहिचान संरक्षणमा जोड
कार्यक्रममा पोर्चुगल नेवाः खलः तथा वर्ल्ड नेवाः अर्गनाइजेसन (WNO) पोर्चुगल च्याप्टरका अध्यक्ष, नेवाः राष्ट्रिय पत्रकार दबुका पोर्चुगल च्याप्टरका संयोजक तथा योग प्रशिक्षक राजेश जोशीले स्वागत मन्तव्य राख्दै म्हः पूजा आत्मसम्मान, आत्मचेतना र जीवनप्रतिको सकारात्मक दृष्टिकोणको प्रतीक भएको बताउनुभयो।
उहाँले नेपाल संवत् राष्ट्रिय विभूति शंखधर साख्वाःको जनकल्याणकारी योगदान, परोपकार र मानवताको ऐतिहासिक प्रतीक भएको उल्लेख गर्दै यसलाई कुनै एउटा समुदायमा सीमित नगरी सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदाका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।
विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो मातृभाषा, इतिहास, कला, संस्कृति र मौलिक पहिचानसँग जोडिराख्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उहाँले पोर्चुगिजलगायत अन्य भाषा सिक्दै गर्दा आफ्नो मातृभाषालाई बिर्सन नहुने धारणा व्यक्त गर्नुभयो।
पोर्चुगल नेवाः खलःको मुख्य उद्देश्य नेवाः समुदायलाई एकताबद्ध गर्दै भाषा, कला, संस्कृति, परम्परा र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै उहाँले संस्थालाई कुनै व्यक्ति वा समूहमा सीमित नराखी समग्र नेपाली समुदायको साझा संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जोशीले प्रमुख अतिथि, विशेष अतिथि, कलाकार, संस्थाका पदाधिकारी, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण महानुभावलाई धन्यवाद ज्ञापन गर्नुभयो।
सामूहिक म्हः पूजा, नेवाः भाषा, संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रमले प्रवासमा नेपाली मौलिक पहिचान, सांस्कृतिक एकता र नेपाल संवत् राष्ट्रिय गौरव प्रवर्द्धन गर्ने सन्देश दिएको छ।


बुद्धशरण शाही

