आज :

जीवनको कठिन बाटोमा मेरो संघर्ष

  • अनलाइन डबली

मेरो नाम प्रिमा कुमारी विश्वकर्मा हो, तर धेरैले मलाई “प्रेरणा” भनेर चिन्छन्। म २०४२ साल माघ २४ गते कालिकोट जिल्लाको रास्कोट नगरपालिका, साविक फुकोट गाविस वडा नम्बर ७ बाँग्रीमा जन्मेकी हुँ। मेरो जन्म सात पुस्तापछि छोरीको रूपमा भएकोले मेरो आगमनले घरपरिवारमा अपार उत्साह, उमंग र माया ल्याएको थियो। हामी चार दाजुभाइबहिनीमध्ये म जेठी सन्तान थिएँ। बाल्यकालमै मैले असाध्यै माया, हौसला र साथ पाएकी थिएँ।

सानैदेखि मलाई नाचगान र कलाप्रति गहिरो रुचि थियो। तर पारिवारिक अवस्था र परिस्थिति त्यस्तो थिएन कि म औपचारिक शिक्षाको माध्यमबाट अगाडि बढ्न सकूँ। गाउँघरमै सामान्य प्रौढ शिक्षामार्फत मैले अक्षर चिन्ने अवसर पाएकी थिएँ। तर जीवन एकाएक मोडमा आयो—जब म १२ वर्षकी थिएँ, २०५५ साल कात्तिक २ गते, मेरा बुवा सेतो कमेडे माटाको ढिस्कोमा पुरिएर बित्नुभयो। त्यो दिन मेरो जीवनमा कहिल्यै नसकिने पीडा बोकेर आयो। बुवाको निधनसँगै, हाम्रो परिवारको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आइपुग्यो।

त्यसबेला माइलि बहिनी आठ वर्षकी, भाइ चार वर्षका र कान्छी बहिनी त केवल आठ महिनाकी थिइन्। मेरी आमा त्यतिबेला ३६ वर्षमै बिधवा हुनुभयो। उहाँको आँसु पुछ्दै, उहाँलाई ढाडस दिंदै, मैले एक छोरीले मात्र नभएर बाबाको ठाउँ पनि लिनुपर्ने भयो। त्यसपछि मैले गोलाहाट, चिसापानी, पारिलेखका देउरा, बेस्साहा गर्दै सानातिना कामहरू गरी घर धान्न थालेँ। जति शारीरिक श्रम गरेँ, त्यति नै मानसिक बल सँगाल्दै भाइबहिनीलाई हुर्काएँ।

त्यही कठिन जीवनक्रमका बीच ममा समाजप्रतिको चासो र परिवर्तनप्रतिको चेतना पलाउन थाल्यो। देशमा फैलिँदै गएको दशवर्षे जनयुद्धको प्रभाव ममा पनि पर्यो। म भित्रैदेखि बगिरहेको प्रतिरोधको भावना जाग्न थाल्यो। गाउँमा माओवादीका कार्यक्रमहरू सञ्चालन भइरहेका हुन्थे, म तिनमा सक्रिय सहभागिता जनाउँदै जाँदा, अन्ततः २०५८ साल जेठ १० गते पूर्णकालीन सदस्यको रूपमा भूमिगत जीवन रोजेँ।

संघर्ष, सशस्त्र यात्रा र शिक्षा: मेरो दृढ यात्राको दोस्रो अध्याय

म २०५८ सालमा पूर्णकालीन सदस्य भएर भूमिगत जीवनमा प्रवेश गरेँ। सुरुका दिनहरूमा मैले जिल्ला मिलिसिया कमाण्डरको रूपमा काम गरें। २०५८ देखि २०५९/६० सालसम्म जिल्लास्तरमा सुरक्षा र संगठनको जिम्मेवारी लिएर मैले जनयुद्धको महत्त्वपूर्ण चरणमा योगदान पुर्याएँ।

२०५९ सालको अन्त्यतिर संगठन सुदृढीकरण र विस्तार अभियानमा सहभागी भएर म झन्डै ६ महिना बझाङ जिल्लामा काम गरें। त्यसपछि सशस्त्र जनमार्च अभियानमा भेरी–कर्णालीबाट सेती–महाकालीसम्मको अभियानमा सहभागी हुँदै डोटी जिल्लामा पुगें। डोटीमा पाँच वर्षसम्म जिल्ला पार्टी सदस्य भएर काम गरें र त्यहाँको ‘ईन्द्रिरा जनसांस्कृतिक परिवार’को जिल्ला अध्यक्ष पनि बनेँ।

म जनमुक्ति सेनामा जान चाहन्थें तर उमेर नपुग्दा पार्टीले सांस्कृतिक मोर्चामा काम गर्न निर्देशन दियो। त्यसैमा म समर्पित भएँ । २०६४ सालमा नेता प्रकाण्ड कालिकोटमा सरुवा हुँदा निर्वाचन अभियानमा म उनका साथमा रहेँ। कालिकोट सदरमुकाम मान्ममा भएको ठूलो आमसभामा, जहाँ अध्यक्ष प्रचण्ड पनि थिए, मैले “६४ साल बन्दै छ गणतन्त्र नेपाल” भन्ने गीत प्रस्तुत गरें। त्यो गीतले सबैलाई उर्जा दियो र मञ्चमा हजारौं नेता कार्यकर्ता र जनता  नाच्न थाले। त्यसपछि मलाई ‘प्रेरणा’ भनेर चिनिन थालियो।

तर शान्ति स्थापना पछि जब धेरै माओवादी कार्यकर्ता व्यवस्थापनतर्फ गए, मेरो परिवारको अवस्था अस्तव्यस्त भयो। त्यसपछि म फेरि संघर्षको बाटोमा लागें। २०६५ सालमा मैले पढाइ पुनः सुरु गर्ने निर्णय गरें र आफ्नो जन्मथलो डुग्रीडाँडास्थित श्री जनजागृति विद्यालयमा कक्षा ७ मा भर्ना भएँ। केही घण्टा पढ्दै, बाँकी समय खेतबारी, घरधन्दा र पार्टीको काममा बिताएँ।

सानैमा गुमाएका बुवाको सपना ‘देशका लागि केही गर्नुपर्छ’ भन्ने मेरो मार्गदर्शन भयो। पढ्नुपर्छ भन्ने सोच र देशको सेवा गर्ने चाहनाले मलाई अघि बढायो। कर्णाली करिडोरको कटिङ भइरहेको बेलामा दुई महिना मजदुरी गरेर कमाएको पैसा लिएर मैले आमाको उपचार सुर्खेतमा गरेँ ।

मैले भाइबहिनीहरूको पढाइ, उपचार, लुगाफाटा र भविष्यका लागि धेरै संघर्ष गरें। सबैले एसएलसी पास गरेपछि मैले आफ्नै पढाइलाई प्राथमिकता दिँदै पार्टीको कामलाई निरन्तरता दिएँ।

२०६७ साल वैशाखमा पार्टीले काठमाडौंमा १८ दिने आमहड्ताल गर्ने निर्णय गरेपछि म धनजित शाहीको नेतृत्वमा राजधानी पुगें। त्यहाँ विभिन्न सांस्कृतिक कार्यक्रमहरू मार्फत आन्दोलनमा जीवन्तता थपें। आन्दोलन सकिएपछि म फेरि कालिकोट फर्किएँ र पढाइमा पूर्ण रूपले समर्पित भएँ।

बैबाहिक जीवन, मातृत्व र पत्रकारिताको संघर्षमय यात्रा

म पार्टी र पढाइमा समर्पित जीवन बिताइरहेकी थिएँ। एक दिन अचानक नयाँ नम्बरबाट आएको फोनले मलाई चकित बनायो। मेरा नजिकका आफन्तहरूले मेरो विवाहको कुरा अघि सारिरहेका थिए, तर म खासै ध्यान दिइरहेकी थिइनँ। तर मनमा एक विचार थियो—यदि मेरो जीवनसाथी पनि माओवादी आन्दोलनमा तपस्या, त्याग र समर्पणले जोडिएको मान्छे भए, त्यो विचार गर्न सकिन्छ।

समयक्रमसँगै त्यो कुरा अघि बढ्यो र मैले सोचेजस्तै व्यक्ति, दान बहादुर विश्वकर्मा सँग भेटभयो। उनी जनमुक्ति सेनाको दसरथपुर क्याम्पमा कार्यरत थिए। हाम्रो पहिलो भेट सुर्खेतको छिन्चुमा भयो। त्यतिबेला बटालियन कमाण्डर अमिकले मलाई सल्लाह दिनुभयो, “उ इमानदार, जिम्मेवार र विचारधारा स्पष्ट मान्छे हो, विवाह गर्न उपयुक्त हुनेछ।” उनका जेठा दाजु जनयुद्धमा सहिद भइसकेका थिए र उनको परिवारले मलाई स्वीकार्न तयार थियो। सबै कुरा मिलेको देखेर हामी २०६७ साल असार ७ गते राति १० बजे परम्परागत ढंगले विवाह बन्धनमा बाँधियौ ।

पोइली घरमा मेरो आगमनले उत्साह र उमंग थपियो। सासू-ससुरा, नन्द-देवर सबैले माया र सद्भाव देखाए। तर विवाहपछि पारिवारिक जीवन सहज रहेन। म माईतीघरमा कम काम गरेकी थिएँ र गाउँघरको श्रमप्रधान जीवनशैलीमा घुलमिल हुन गाह्रो भयो। जंगल, मेलापात, बाख्रापालनका कामहरू कहिले रमाइला त कहिले अत्यन्त कठोर लाग्थे।

२०६८ साल भदौमा मेरी पहिलो छोरी जन्मिएपछि पारिवारिक जिम्मेवारी अझै बढ्यो। त्यही समय पार्टीले मलाई कुनै विशेष जिम्मेवारी दिएन । २०७० सालमा दोस्रो छोरी जन्मिएकी थिइन् र म १३ दिनकै सुत्केरी भएर मतदान गर्न गएको थिएँ। श्रीमान् नेपाली सेनामा समायोजन भएपछि करिब दुई वर्षसम्म घर आउन पाउनुभएन। त्यो समय मैले मेरी आमा बाहेक कसैको साथ पाएनँ।

त्यो अवधिमा मैले १३ वटा बाख्रा र एउटा भैंसीसहित सल्लीवारिमा गोठाली गरेँ, दाना खोजेँ र दुई छोरी हुर्काएँ। सल्लीवारिबाट दाउराका ९ भारी सदरमुकाम मान्म पुर्‍याएर बेचेर लुगाफाटा र जुत्ता किनें। त्यसपछि करिब २१/२२ महिना म माइतीघरमै बसेँ र पढाइलाइ निरन्तरता दिएँ। एसएलसीमा दुई विषयमा पुरक परीक्षा लागेर कटाउन सकिनँ।

२०७३ सालमा मान्ममा सामुदायिक रेडियो मालिका एफएम सञ्चालनमा आएपछि आदरणीय दाइ रत्नबहादुर कार्कीले मलाई रेडियोमा सांगितिक कार्यक्रम संचालन गर्न फोन मार्फत आग्रह गर्नुभयो । म सांगीतिक कार्यक्रम सञ्चालन गर्न रेडियोमा आबद्ध भएँ। सुरुवाती ८ महिना स्वयंसेवकका रूपमा काम गरें। त्यसपछि तत्कालीन स्टेशन म्यानेजर खगेन्द्र भट्टराईको सहयोगले प्रतिमहिना ६ हजार पारिश्रमिकसहित नियुक्ति पाएँ। तर पार्टीगत विचार र भावना नमेल्दा रेडियोबाट टाढिन बाध्य भएँ।

पढाइ छोडिनँ। २०७२ सालमा अन्ततः SEE पास गरें। आफूलाई रोकिन, निरन्तर लागिरहेँ। २०७५ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा “सामुदायिक रेडियो प्रदेश आवाज कालिकोट” स्थापना भयो। त्यही रेडियोमा कार्यक्रम प्रस्तोता तथा समाचार वाचिकाका रूपमा कार्यरत रहेँ।

पत्रकारितामा मेरो लगाव र निरन्तरताले २०८० साल फागुन ५ गते नेपाल पत्रकार महासंघ कालिकोट शाखाले मलाई “छोरी बुहारी पत्रकारिता पुरस्कार” र नगद ५,००० सहित सम्मान गर्‍यो। त्यो सम्मानले मलाई पत्रकारितामा अझ ऊर्जा र हौसला दियो।

संगठनतर्फ पनि मैले निरन्तर जिम्मेवारी पाएँ। २०७८ सालमा प्रेस सेन्टर नेपालको कालिकोट जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हालेँ। साथै पार्टीको भौगोलिक संगठनको जिल्ला कोषाध्यक्ष र कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट प्रदेश सचिवको जिम्मेवारीमा छु। यी सबै भूमिकाले मेरो जीवनलाई अझ सशक्त बनाउँदै छ।

हालको पारिवारिक अवस्था र जीवनदृष्टिको एकान्त पीडा

हाल म रोजगारीको सिलसिलामा कालिकोटको सामुदायिक रेडियो प्रदेश आवाजमा कार्यरत छु। सानैदेखि कठिन परिस्थितिबीच हुर्किएर, जीवनका प्रत्येक मोडमा संघर्ष र आत्मनिर्भरता नै मेरो साथ बनेको छ। मैले जहिले पनि अरूका लागि अभिभावक भएर जिएकी छु, तर आफूले चाहिने अभिभावकत्व, सबल र सहाराको अनुभूति कहिल्यै गर्न सकिनँ।

आज जब म विगत फर्केर हेर्छु, मलाई लाग्छ—यदि मेरो परिश्रमलाई साथ दिने, आत्मबल बढाउने नजिकको कुनै व्यक्ति हुन्थ्यो भने मेरो व्यक्तित्व विकास अझ फरक ढंगले हुन्थ्यो। म जुनसुकै मोर्चामा लागेँ—चाहे त्यो राजनीतिक होस् वा सामाजिक—त्यहाँ मेरो आत्मबल थियो, तर हात समाउने मान्छे थिएन। हुन पनि, मेरा सन्तानहरू राजनीतिक हैसियतमा उचाइमा नपुगेका कारण पनि होला, म आजसम्म पारिवारिक रूपमा सशक्त सहारा पाउनबाट टाढै छु।

यिनै अनुभवहरूको थिचोमिचोले गर्दा मैले आफ्नो कथा आफैं लेख्नुपर्ने महसुस गरेँ। मलाई विश्वास छ—साँच्चिकै यदि कोही मेरो जीवन भोगाइ बुझ्नेछन् भने त्यो मेरी छोरीहरू नै हुनेछन्। एक दिन अवश्य उनीहरूले मेरो अधुरो सपना बोक्नेछन्, मेरो त्याग, पीडा र संघर्षलाई बुझेका आँखाहरूले सम्मान गर्नेछन् भन्ने आशा राख्छु।

बैवाहिक जीवनमा मैले अनुभूत गरेको असहजताको मूल कारण पारस्परिक बुझाइको अभाव हो। उहाँको कामको मोर्चा आस्था थियो भने म संगठनतर्फ सक्रिय थिएँ। फरक मोर्चा र दृष्टिकोणले हामीबीच कहिल्यै भावनात्मक सहकार्य बन्न सकेन। अझ उहाँ अझै पनि पारिवारिक भावनामा भन्दा बाबुआमा र आफन्तहरूको माया स्नेहमा बढी बाँधिनुभएको छ भने म त्यो अभावमा, एक्लो जीवनमा, बाँकी उत्तरदायित्वको भारी बोकेर अघि बढ्न विवश छु।

परम्परागत समाजको सोच र बुझाइले मलाई पटकपटक अपहेलित गर्‍यो। श्रीमान् भन्दा दुई वर्ष जेठी भएको कुरा समाजमा अझै “असामान्य” मानिन्छ। त्यसमा पनि छोरा नहुँदा मैले गहिरो हेपाइ, उपेक्षा र सम्मानको अभाव खेपिरहेकी छु। तर मैले छोरा जन्माइनँ भनेर कहिल्यै आफैंलाई कम आँकिनँ—किनकि मैले दुई छोरीलाई यो समाजमै टेकी, जीवनमै उभिने बनाउने दृढ अठोट बोकेकी छु।

यो कथा आज अरूलाई सामान्य लाग्न सक्छ, तर म विश्वास गर्छु—मेरो जीवनको यो संघर्ष आज नबुझिए पनि, भोलिका दिनमा मेरी छोरीहरूले अवश्य मूल्यांकन गर्नेछन्।

जीवनको समर्पण र प्रेरणाका स्रोतहरू

मेरो बाल्यकालदेखि आजसम्मको जीवन यात्रामा मलाई कोही नजिकबाट हात समाउने, साथ दिने, ढाडस बन्ने पाइएन। पाएँ केवल मेरी जन्मदात्री आमा। उहाँको साहस र निरन्तर प्रेरणाले मेरो जीवनलाई कम्पोस्ट मलझैं ऊर्जा दिएको छ। आज म जसरी बाँचिरहेकी छु, त्यो उहाँकै आशीर्वादको प्रतिफल हो। म सधैं भगवानसँग प्रार्थना गर्छु—माथि आउने जुनसुकै बाधा, बेवधान र चुनौतीलाई आमाकै आशीर्वादले सजिलै सामना गर्ने शक्ति मिलोस्।

राजनीतिक दृष्टिले म मेरो जीवनसाथीका लागि कार्ल माक्र्सकी जीवनसंगिनी जेनि माक्र्स जस्तै बन्न चाहन्छु।  नेपालकी विद्या देवी भण्डारी वा भारतकी इन्दिरा गान्धीभन्दा अगाडि पुग्ने सपना देख्छु—यही मेरो जीवनको उद्देश्य हो।

म कर्मघरमा माया र आदरले ग्रहण गर्नु हुने आदरणीय ससुरा बुवाप्रति कृतज्ञ छु। त्यस्तै, मेरो माईतीघरमा कान्छो भएपनि मेरो अभिभावकत्व निभाउँदै आएको भाइप्रति विशेष आभार प्रकट गर्छु। मेरो जीवनका हरेक सफल क्षणमा उसले माया, हौसला र प्रेरणा दिइरहेको छ। म भाइप्रति प्रतिज्ञा गर्दछु—मसँग रहुञ्जेल उसले कहिल्यै कुनै अभाव महसुस गर्न नपरोस्। मेरो माया, सम्मान र श्रद्धा उसप्रति मेरो जीवनभरको अटुट संकल्प हो।

मेरो जीवन उज्यालो बनाउने र “उमेरले पढाइ रोकिन्न” भन्ने उदाहरण स्थापित गर्ने बाटोमा मलाई प्रोत्साहन गर्ने अर्को विशेष व्यक्ति मेरा दिवंगत भाइ धिरेन्द्र बि.क. हुनुहुन्छ। उहाँ कक्षा १२ मा अध्ययनरत रहँदा, २०६६ सालमा कालिकोटबाट कैलाली जाँदै गर्दा बस दुर्घटनामा निधन हुनुभयो। आज म जहाँ छु, त्यो उहाँकै प्रेरणाले हो। उहाँको सम्झनामा म शिर झुकाएर श्रद्धासुमन अर्पण गर्दछु र उहाँको अधुरो सपना पूरा गर्ने वचनबद्धता गर्दछु।

त्यस्तै, मेरी माईली बहिनी र कान्छी बहिनी, ज्वाँई मन बि.क. र जगदीश सुनारलाई पनि म हृदयदेखि धन्यवाद व्यक्त गर्दछु, जसले जीवनका हरेक सुख–दुःखमा मेरो साथ दिनुभयो र मलाई अगाडि बढ्न प्रेरणा दिनुभयो।

कलाकारितामा मेरो योगदान

१. २०७५ साल वैशाख ५–९ गते कालिकोट जिल्ला पचाझरना गाउँपालिकाको महोत्सवमा इन्द्रेणीका कृष्ण कडेलसँग रैथाने भाकामा दोहोरी प्रस्तुति।

२. २०७८ साल पुष ४ गते मेरो पहिलो गीत “जीवन कथा” रेकर्डिङ, जसमा मेरो व्यक्तिगत जीवनको संघर्ष र कथा समेटिएको छ।

३. २०८१ साल असोज १ गते सामुदायिक सूचना नेटवर्क (CIN) को स्टुडियोमा पत्रकार राजन रुचालसँग अन्तरवार्ता, जहाँ मैले कर्णालीको मौलिक संस्कृति, लोकभाका र जीवनशैलीका १६ वटा पुराना भाका रेकर्ड गराएँ।

जीवनको कठिन मोडमा, जब म समाजमा हराउँदै थिएँ, “प्रेरणा” भन्ने नाम हराउँदै थियो, त्यही बेला मलाई पुनः स्थापित गरिदिनुहुने सामुदायिक रेडियो प्रदेश आवाजका अध्यक्ष आदरणीय दाइ रत्न बहादुर कार्की र भाउजू मिना कार्कीप्रति म हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।

मेरो जीवनको साँचो प्रेरणा

मेरा प्राणभन्दा प्रिय छोरीहरू—बसन्ती, रितु र हिमानी हुन्। उनीहरू मेरो जीवनको सबैभन्दा उज्यालो भाग हुन्। उनीहरूप्रति म अगाध माया, प्रेम र आशिर्वाद प्रकट गर्दछु।

जीवनसाथीप्रति विश्वास

मेरो प्रिय जीवनसाथी दान बहादुर बि.क.प्रति म मेरो प्राण रहुञ्जेल मुनामदनझैँ जीवन बिताउने प्रण गर्दछु। उहाँको एक सकारात्मक पक्ष भनेको मप्रति कहिल्यै शंका नगर्ने, सदैव विश्वास गर्ने स्वभाव हो, जसले मलाई ऊर्जा र हौसला दिएको छ। उहाँबाट अपेक्षा धेरै हुने, मबाट बुझाइ धेरै आवश्यक हुने अवस्था भए पनि यी कुराहरू मेरो प्रेरणाका स्रोत बनेका छन्।

अन्तिम अनुभूति

म अझै पनि समाजको परम्परागत सोचले थिचिएको अनुभूति गर्छु—श्रीमान् भन्दा जेठी भएकै कारण सामाजिक अपहेलना भोग्नु परेको छ। छोरा नभएको कारण कतिपय अवस्थामा सम्मानको कमी झेल्नुपरेको छ। तर मैले यो कहिल्यै कमजोरी मानिनँ—किनभने म मेरी छोरीहरूलाई गर्वसाथ अगाडि बढाउने छु र जीवनका हरेक मोडमा उनीहरूलाई सम्मानका साथ स्थापित गराउने दृढ निश्चय राख्छु।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal