
ललितपुर । शुक्रबार कर्णालीको इतिहास, भाषा, संस्कृति, नीति तथा विकासमाथि बहुआयामिक कोणबाट लेखिएको कृति सपादलक्ष कर्णालीमाथि एक छलफल सम्पन्न भएको छ ।
पुस्तकमाथि बोल्दै बरिष्ठ राजनीतिक विश्लेषक हरि शर्माले सपादलक्ष कर्णालीको समीक्षक नभई एक पाठकका रुपमा बोल्ने क्रममा लेखक स्वयम्को सामाजिक, राजनीतिक, आर्थिक, सामाजिक जिज्ञासा एवम् म को हुँ भन्ने प्रश्नको उत्तर स्वरुप पुस्तक आएको बताए । कुँडा कर्णालीको उत्सवमा नै किताव किनेर कोलाहलमा नै पढ्न सुरु गरेको चर्चा गर्दै ज्ञान निर्माणको प्रक्रिया बहस, छलफल र अन्तरक्रिया भएको बताए । ज्ञान विज्ञानमा निश्चित वर्गको ठेक्का हुँदैन ।
यो एक खुल्ला प्रक्रिया भएको शर्माको विश्लेषण थियो । उक्त छलफलमा शर्माले पुस्तकको मात्र समीक्षा नगरी सङ्घीयता, जातीयता, विकास अवधारणा निर्माणदेखि पछिल्लो ट्रम्मले सुरु गरेको व्यापारिक राज्य प्रणालीको समेत चर्चा गरेका थिए ।
शर्माले कर्णालीका मान्छेहरु सडक, गाडी भनिरहँदा साइकलमा कुँदिरहेको फरक मान्छेको रुपमा माधव चौलागाईलाई चिनेको र पुस्तकले त्यो पृथक सोंच र चिन्तन पुष्टि गरेको बताए । शर्माले इतिहास लेखनमा रहेका त्रुटीहरु पनि सच्चाउनु पर्ने औल्याए । हाम्रा पुर्खाहरुले साम्राज्य चलाए कि राज्य, शासन गरे कि वा अरु नै केही ? यसमाथि गम्भीर राजनीतिक एवम् इतिहासपरक विश्लेषण हुनुपर्ने बताए ।
छलफलमा लेखिका सजना महर्जनले पुस्तकमाथि चर्चा गर्दै पुस्तक तथ्यपरक भएको बताइन् । पुस्तकका हरेक लेखमा तथ्याङ्कको विश्वसनीय प्रयोग भएको, कर्णालीको गरिवी मात्र होइन सम्भावनामाथि विश्लेषण गरिएको बताइन् ।
पुस्तकमा इतिहास, भाषा, पर्यटन आदि बारे प्रयाप्त चर्चा गरिए पनि शिक्षा क्षेत्रमाथि कम लेखिएको बताउँदै आगामी दिनमा लेखकले शिक्षा प्रणालीमाथि पनि लेख्ने अपेक्षा गरेको बताइन् ।
कर्णाली विकास आयोगका संस्थापक उपाध्यक्ष डा. पुण्य रेग्मीले मुलुक सङ्घीय प्रणालीमा गए पनि अझै केन्द्रिकृत शासन व्यवस्थामै रमाइरहेको बताए । प्रथम सङ्घीय बजेट निर्माणमा विज्ञको रुपमा काम गरेको आफ्नो अनुभवलाई सुनाउँदै १७ प्रतिशत बजेट मात्र स्थानीय तहमा गएको बताए । डाटा निर्माणको अधिकार प्रदेशलाई नभएको उल्लेख गर्दै यो ज्ञान, योजना निर्माणमा स्थानीय अधिकार नभए सरह नै भएको बताए ।
लेखक माधव चौलागाईंले सपादलक्ष कर्णाली कुनै पाठ्य पुस्तक र प्राजिज्ञ पुस्तक नभई यो कर्णालीलाई जान्न, बुझ्न चाहनेका लागि एक सन्दर्भ सामाग्री भएको बताए ।
कर्णाली विकास आयोगका पूर्व उपाध्यक्ष योगेन्द्र शाहीले सञ्चालन गरेको यो कार्यक्रम नेचुरालय रेष्ट्रो एण्ड क्याफेमा गरिएको थियो । नेचुरालयले कर्णालीमा पाइने अर्गानिक रैथाने उत्पादन कोदो, फापर, मार्सी, जौको ब्रान्डिङ गर्दै आइरहेको छ ।