काठमाडौं । नेकपा एमालेका नेता गोरखबहादुर बोगटीद्वारा लिखित छैटौँ कृति ‘कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलनः विगत, वर्तमान र भविष्य’ काठमाडौंमा लोकार्पण गरिएको छ ।
काठमाडौंको शंकरदेव क्याम्पसमा बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पुस्तकको लोकार्पण गरेका थिए ।
कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलनको इतिहास, विकासक्रम, राजनीतिक संघर्ष, सामाजिक तथा भौगोलिक परिवेश, उपलब्धि, वर्तमान चुनौती र भावी सम्भावनालाई केन्द्रमा राखेर पुस्तक तयार गरिएको लेखक बोगटीले बताउनुभयो ।
पुस्तकमा कर्णालीमा कम्युनिष्ट आन्दोलनको सुरुवातदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक गतिविधि र संघर्षको समीक्षा गर्दै आन्दोलनले कर्णालीको सामाजिक तथा राजनीतिक रूपान्तरणमा पारेको प्रभावलाई प्रस्तुत गरिएको छ । कर्णालीको भूगोल, सामाजिक संरचना, जनजीवन र राजनीतिक चेतनाको विकाससँग कम्युनिष्ट आन्दोलनको सम्बन्धलाई समेत पुस्तकमा विश्लेषण गरिएको छ ।
बोगटीका अनुसार कर्णालीको कम्युनिष्ट आन्दोलनसँग जोडिएका महत्वपूर्ण घटनाक्रम र अनुभवलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु तथा नयाँ पुस्तालाई आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनु पुस्तक लेख्नुको मुख्य उद्देश्य रहेको बताए
हुम्लाको अदानचुली गाउँपालिका–२ श्रीनगर स्थायी ठेगाना भएका बोगटीको यो छैटौँ कृति हो । बोगटीले यसअघि ‘श्रीनगरदेखि बल्खुसम्म (२०६८)’, ‘कर्णालीमा कम्युनिष्ट आन्दोलन (२०७२)’, ‘कर्णाली प्रदेश (विगत, वर्तमान र समृद्धिका सम्भावनाहरू २०७५)’, ‘कर्णालीमा पर्यटन विकासका सम्भावना र अवसरहरू (२०७७) ’ र ‘समकालीन विचारहरू (२०८०)’ लगायतका कृति प्रकाशन गरिसकेका छन् ।
ग्रामीण विकास विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका बोगटीले नेकपा एमालेमा स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हाली सकेका छन् । हाल उहाँ केन्द्रीय सामाजिक सेवा विभाग प्रमुखका रूपमा पाटीको काम गर्दै आउनु भएको एमाले काठमाडौ सम्पर्कमञ्चका सहसचिब विरजन महताराले बताए ।
कर्णालीको कम्युनिष्ट आन्दोलनलाई इतिहासको आँखाबाट हेर्दै वर्तमानको समीक्षा र भविष्यको दिशाबारे बहस अघि बढाउने प्रयास भएकाले पुस्तकलाई कर्णालीको राजनीतिक इतिहासको महत्वपूर्ण दस्तावेजका रूपमा लिइएको छ । पुस्तकले कर्णालीको राजनीतिक तथा सामाजिक रूपान्तरणमा कम्युनिष्ट आन्दोलनको भूमिकासँगै आगामी दिनमा आन्दोलनले लिनुपर्ने दिशा, चुनौती र सम्भावनाबारे समेत बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
लोकार्पण समारोहमा महासचिव पोखरेल प्रमुख अतिथि तथा पुर्वमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समितिका सदस्य शक्तिबहादुर बस्नेत विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।


अनलाइन डबली




