काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकको ऐतिहासिक योगदान र आगामी दिनमा बैंकिङ क्षेत्रले अवलम्बन गर्नुपर्ने सुधारका विषयमा चर्चा गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल बैंक स्थापनाको उद्देश्य आर्थिक उन्नति, जनतालाई सुविधा र मुलुकको विकाससँग जोडिएको उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले नेपाल बैंकले आगामी दिनमा तीनवटा सुधारका एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । उनले उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन र प्रविधिमैत्री बैंकिङ सेवालाई मुख्य सुधारका क्षेत्रका रूपमा औँल्याए ।
उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले बैंकिङ क्षेत्रको सफलता निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकारले मात्र नभई राष्ट्रिय उत्पादन, रोजगारी र आर्थिक वृद्धिमा पुर्याएको योगदानबाट मापन हुनुपर्ने बताए ।
उनले भने, ‘कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनु अनिवार्य छ । कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमुलक उद्योग तथा साना र मजुला उद्योगमा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ ।’
त्यस्तै, बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौती सम्बोधन गर्न कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउनुपर्ने उनले बताए ।
संस्थागत सुशासन र वित्तीय अनुशासनबारे उनले भने, ‘जनविश्वास कायम राख्न, पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौतीलाई सम्बोधन गर्दै कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउनुपर्दछ । सरकारी स्वामित्वको बैंक भएकोले नेपाल बैंकले सुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्दछ ’
वाग्लेले बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिए । डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्दछ । साथै, ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्नेछ।’
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले नेपाल बैंक आगामी दिनमा अझ सबल बन्दै नेपालको आर्थिक समृद्धिको यात्रामा सशक्त साझेदार बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।


अनलाइन डबली

