
काठमाडौँ । साहित्यकार तथा राजनीतिककर्मी सत्य पहाडी लिखित दश कृतिहरुको सङ्ग्रह सत्य सञ्चयनको आज दिउँसो एक बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको डवलीमा विमोचन हुँदैछ ।
सत्य सञ्चयनमा आगो, लाभा र हुरी, फर्जीका विरुद्ध र समयका यक्षप्रश्नहरु तीन वटा कवितासङ्ग्रह, मृत्युञ्जयी यात्रा, उत्सर्गगाथा, बेइजिङदेखि बालीसम्म, आमा एक जीवनदर्शन एक कमान्डर चार वटा संस्मरणसङ्ग्रह, महात्रासदी कोभिड १९ को डायरी एक, जनयुद्ध, शान्ति र शिक्षाहरु (लेखसङ्ग्रह) एक र जनयुद्धकालीन पत्रहरुको सँगालो जनसमरका पत्र एक गरी जम्मा दश कृति रहेका छन् ।
२०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा जनकलाकारहरुको हत्याका विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आइरहेको छ । सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सत्य सञ्चयनको विमोचन गर्ने कार्यक्रम रहेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखीले बताएका छन् ।
कवि सत्य पहाडी डोल्पा जिल्लाको त्रिपुरासुन्दरी वडा नं. १० लिकुमा २०३४ साल असोज ७ गते जन्मिएकी स्रष्टा हुन् । अखिल(क्रान्तिकारी)बाट राजनीतिक जीवनको प्रारम्भ गरेकी सत्यको पहिलो रचना जीवनयात्रा २०५२ मा जनादेशमा प्रकाशित भएको थियो भने पहिलो कृति जेल जीवनमा रहँदा २०५९ सालमा पर्खालभित्रको सन्देश(संयुक्त कवितासंग्रह) प्रकाशित भएको थियो । साहित्यिक प्रतिभा पुरस्कार, इच्छुक प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेकी स्रष्टा सत्य पहाडी पूर्व शान्तिमन्त्री पनि हुन् । नेकपा(माओवादी केन्द)को स्थायी समिति सदस्य समेत रहेकी स्रष्टा सत्य पहाडी अखिल नेपाल जनसांस्कृतिक महासंघ, मध्यपश्चिम साहित्य परिषद्, प्रगतिशील लेखक संघ, इच्छुक सांस्कृतिक प्रतिष्ठानजस्ता साहित्य, कला र संस्कृतिसँग सम्बन्धित संस्थाहरुको नेतृत्व पनि गरिसकेकी छन् ।