काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका उम्मेवार देवकी तिमिल्सिना रोकायले ‘सबैको गन्तव्य हुम्ला र हुम्लाको गन्तव्य सर्केगाड’ भन्ने नारा बोकेर चुनावी मैदानमा उत्रिएकी छन् ।
समाजवादी मोर्चाको तर्फबाट उम्मेदवारी दिएकी नेकपा (माओवादी केन्द्र) की नेतृ समेत रहेकी रोकाया अहिले पालिकाका मतदाताको घरदैलोमा रहेकी छन् । उनले पालिकामा सुशासनको जग बसाउँदै शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत, सेवा प्रवाहलाई प्रभावकार बनाउनेलगायतका प्रतिवद्धता जनाएकी छन् ।
यसअघि निधन भएका पार्टीका युवा नेता चन्द्रसिंह कार्कीका सपना पूरा गर्दै सहिद परिवार, महिला, दलित, आदिबासी तथा जनजाती, आपांग भएका व्यक्ति पछाडि पारिएका वर्गको हक हित र सामाजिक सुरक्षाको लागि विशेष पहल गर्ने प्रतिवद्धता समेत जाहेर गरेकी छन् ।
त्यसैगरी रोकायाले ‘सुशासन, समृद्धि र सामाजिक न्याय, हाम्रो अभियान, सर्केगाडको समग्र विकासका लागि हसिया हथौडा चिन्हमा मतदान’ नाम दिइएको प्रतिवद्धतामा रोकायाले व्यवस्था परिवर्तनको लागि जनयुद्ध लडेको र अहिले जनताको अवस्था बदल्ने अभियानमा रहेको बताउँदै हिजोका शासकहरुकै कारण हुम्ला अझ सर्केगाड पछि परेको बताएकी छन् ।
केही दिन पहिले मात्रै हुम्ला जोडिएको कर्णाली करिडोरको सडकको स्तरोन्नतीका लागि आफूले पहल गर्ने बताइन् ।
यस्ता छन् रोकायाको चुनावी प्रतिवद्धताः
१. सडक पूर्वाधार विकासमा कर्नाली करिडोरको खुलेको ट्रयाकमा यस वर्ष पिलुदेखि तुम्चसम्म र अर्को वर्ष तुम्चदेखि सिमकोटसम्म स्तरोन्नतिका लागि पहल गरिने छ।
२. कवाडी–ताँजाकोट–अदानचुली हुँदै आएको सडकलाई सर्केगाडको रिपसम्म पुर्याइने छ। यसका लागि गुसा जाने सडकको निर्माणलाई तीव्रता दिइने छ।
३. सर्केगाड–मारघोर–खार्पुनाथ–सिमकोट सडकको ट्रयाक खोल्ने कार्यलार्इ तीव्रता दिन लगाइने छ।
४. ह्याप्स्या–फुचा–पंखा सडक¸ तुम्च–जैर सडक¸ सर्केगाड–बराइ–छ्यागी–घिउसी सडकको ट्याक खोली सञ्चालनमा ल्याइन लगाइने छ। स्थानीय जनसमुदाय, निर्माण कम्पनी र प्रशासनिक क्षेत्रमा रहेको अवरोधलार्इ सहजीकरण गरिने छ।
५. सल्लीसल्ला¸ सर्केगाड र उनापानी र रिप गाउँ जोड्ने सडक पुल बनाइन पहल गरिने छ।
६. राष्ट्रिय प्रशारण लाइन विस्तारका लागि संघीय सरकारसँग पहल गरिने छ ।
७. हुम्ला कर्नाली १ को सर्केगाड र चंखेली २३५ मेगावाट¸ हुम्ला कर्नाली कासकाडे ९१६ मेगावाटको बारेमा पैरवी गरिने छ। चालु साना जलविद्युत आयोजनाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र ऊर्जा खपत बढाउने योजना बनाइने छ।
८. माइक्रो वेव रेडियो ट्रान्समिसनबाट मात्र हुम्ला जोडिएको हुम्लासम्म फाइवर विच्छ्याउन पहल गरिने छ। फोरजी टावर यथासिघ्र सञ्चालनमा ल्याउन लगाइने छ।
९. उत्पादन बढाउन तुम्च र रोडिकोट शेराको जिउलामा सिँचाइको व्यवस्था गरिने छ । बराइदेखि साँयासम्म, कल्लाँसदेखि गोठीसम्म र छिडी न्हात्तामा लिफ्ट सिँचाइको संभाव्यता अध्ययन गर्न लगाइने छ ।
१०. उनापानी गुसाको उत्पादनलाई ‘मेड इन सर्केगाड’ को नामबाट ब्रान्डिङ गर्न लगाइने छ।
११. यहाँको आयु बढाउन सफा चुल्हो र चर्पी तथा स्वच्छ खानेपानीमा सुधार ल्याउन विशेष पहल गरिने छ। साथै, हरेक गाउँमा लिस्नो सुधारमा जोड दिइने छ ।
१२. एकीकृत बस्ती विकासका लागि थप अध्ययन गर्न पहल गराइने छ। सर्केगाडको बजारलार्इ व्यवस्थित गर्न प्लानिङ गराइने छ।
१३. बालबालिकालार्इ लगानी, युवालाई रोजगारी र ज्येष्ठ नागरिकलार्इ सम्मान र सुरक्षाका लागि विशेष पहल गरिने छ।
१४. यहाँको गरिवी निवरणका लागि अनिवार्य न्युनतम् आय आर्जन कार्यक्रम सञ्चालन गरिने छ।
१५. सर्केगाडलार्इ शैक्षिक हव बनाउन हिमज्योति नमुना माध्यमिक विद्यालयलार्इ प्रविधिमैत्री बनाइने छ। हिमज्योति बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार विकास गर्नुका साथै नियमित कक्षा सञ्चालन गर्ने वातावरण बनाइने छ।
१६. कोट माध्यमिक विद्यालय रोडिकोटलार्इ सिमालीमा आवासीय विद्यालयका रुपमा सञ्चालन गर्न थप व्यवस्थापन गरिने छ। यसका साथै यथासिघ्र स्थानीय पाठ्यक्रमको पठन पाठन गर्ने व्यवस्था मिलाइने छ।
१७. शिक्षित युवाहरुलाई निजामती सेवामा प्रवेश गरुन् भन्ने हेतुले लोक सेवा पढ्ने व्यवस्था मिलाइने छ। व्यवसायिक शिक्षा मार्फत रोजगारीका शाखाहरु बढाउन पहल गरिने छ।
१८. निर्माणाधिन १५ शैयाको अस्पताल सुचारु गराउन पहल गरिने छ।
१९. उच्च पर्वतीय खेलको विकास गर्न स्थानीय खेल जीवनको ब्रान्डिङ गरिने छ।
२०. शहीद परिवार¸ महिला¸ दलित¸ आदिवासी जनजाति¸ अपांगता भएका व्यक्ति लगायत समाजमा पछि परेका वर्ग¸ क्षेत्र र समुदायको हक हित र सामाजिक सुरक्षाका लागि विशेष पहल गरिने छ।
२१. मानवअधिकारको रक्षा¸ भ्रष्टाचारको नियन्त्रण¸ शान्ति सुरक्षा र सुशासनका लागि जोड दिइने छ।
२२. भू विशेषता हेरी अर्गानिक कृषि उत्पादन गरी त्यसको व्यवसायीकरण गर्न निजी क्षेत्रसँग सहकार्य गरेर सर्केगाडमा खाद्य बैकको स्थापना गरिने छ।
२३. युवालाई रोजगारी दिन कृषिजन्य¸ पर्यटनजन्य¸ वनजन्य¸ खानीजन्य र पानीजन्य उद्योगको पहिचान र परिचालन गरिने छ।
२४. मेथा, मालिका, गुसा, मालुवाछरा, तल्छरी झरना, नाप्ल्या थाप्ल्या, भुव्र्या लाग्ना, पोग्री पाटन, बाइथला, छिन्ट्या ढुङ्गा, शेरी भिट्टाको गुफा, थुम, दुधेदह र सबै गाउँका बाह्रदेउ चौतारालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ।
२५. वडागत रुपमा स्थानीय पहिचानका आयोजना निर्माणमा जोड दिइने छ ।
२६. दशरा, साउनपुनी, गौरा, भूवो, भैलो र हरेलो लगायतका साँस्कृतिक पर्वहरुलार्इ पालिका विशेष चाडको रुपमा स्थापित गरिने छ।
२७. सर्केगाड गाउँपालिकालाई जिल्लाको अर्को मिलन केन्द्रको रुपमा स्थापित गर्ने प्रयास गरिने छ।