बुटवल । नेकपा (एमाले) ले कपिलवस्तुले जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ । एमालेले जिल्लाका १० वटा पालिकाका वडा अध्यक्ष र सदस्यको नाम सिफारिस गरेको छ ।
एमालेले बाणगंगा, विजयनगर, कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिकादेखि प्रभाव कम भएका अन्य पालिकासमेतबाट मेयर उपमेयरमा कम्तीमा ३ देखि बढीमा ११ जना सम्मको नाम सिफारिस भएको छ ।
१० वटै पालिकाबाट सिफारिस भएका उम्मेदवारमध्ये वडाध्यक्षसम्मको जिल्ला कमिटीले बुधबारभित्र टुंगो लगाउने छ भने मेयर उपमेयरको जिल्लाले सिफारिस गरी प्रदेश कमिटीसमक्ष पठाउने छ ।
एमालेको बलियो प्रभाव रहेको मानिएको बणगंगाबाट मेयरमा ६ जना सिफारिसमा परेकोमा पार्टीको प्रदेश कमिटीमा रहेका धेरै नेता रहेका छन् । प्रदेश नेता एवं कपिलवस्तुका पूर्वअध्यक्ष झविलाल पोखरेल, कृष्ण पौडेल, चक्रपाणी अर्याल, जंजिर थारु, सूर्यकुमारी शाही सिफारिस भएका छन् । ती सबै प्रदेश कमिटीका सदस्य हुन् ।
शिवराज नगरपालिकामा मेयरमा अर्जुन केसी, महादेव पोख्रेल, र लोकेन्द्र पौडेलको नाम सिफारिस भएका छन् भने उपमेयरमा अहिलेकै उपमेयर शिवकुमारी थारु सिफारिस भएकी छन् ।
अन्य पालिकामा सर्वसम्मत हुन नसकेपनि विजयनगर गाउँपालिकाको अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुको मात्रै सिफारिस गरेको एमालेले जनाएको छ । थापा नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा विजनगर इन्चार्ज र चौधरी जिल्ला कमिटी सदस्य हुन् । दुवैजना गत चुनावमा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।
बुद्धभूमि नगरपालिबाट ६ जना मेयरका लागि सिफारिस भएका छन् । टेकराज पौडेल, रुपेश श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, पिताम्बर खनाल, मिनराज बेल्वासे र राजेन्द्र सुवेदी मेयरका लागि सिफारिस भएका हुन् ।