काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ बीच भेटवार्ता भएको छ । शुक्रबार भएको भेटवार्ताको क्रममा वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ दुबै पार्टीबीच सहकार्य गर्ने दुई नेताबीच सहमति भएको छ ।
भेटमा सहभागी नेकपाका युवा नेता भीम चापागाईँका अनुसार सुदर्शनले आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति सरकारले कार्यान्वयन नगर्दा नेता कार्यकर्ताले जेल जीवन बिताइरहको बताएका थिए । तीन बुँदे सहमति कार्यान्वयनको लागि वैज्ञानिक समाजवादी पार्टीले साथ दिन सुदर्शनले दिनु आग्रह गरेका थिए ।
त्यसैगरी आहुतीले तीन बुँदे सहमति कार्यान्वयन नगरेर सरकारले आफ्नो चरित्र देखाएको भन्दै त्यसको आफ्नो पार्टीले विरोध गर्दै आएको बताए । उनले जेलमा रहेका नेकपाका नेता कार्यकर्ता रिहाईको लागि गरिने विरोध वा संघर्षमा आफ्नो साथ रहने बचन समेत दिएका थिए ।
त्यसैगरी नेपालमा वैज्ञानिक समाजवाद स्थापना नभएसम्म राष्ट्रियता, जनतन्त्र, जनजिवीकालगायत तमाम समस्या समाधान नहुने भन्दै त्यसको लागि मिलेर संघर्षमा जान दुबै नेता सहमति भएको बताइएको छ । त्यसको लागि दुवै दल आबद्ध रहेको रणनीतिक संयुक्त मोर्चालाई झन शसक्त बनाउनु पर्नेमा समेत सहमति भएको छ ।
नेता सुदर्शनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, नेकपा समाजवादीका अध्यक्ष राजु कार्कीलगायतसँग भेटवार्ता गरिसकेका छन् ।