काठमाडौँ । नेपाली कांग्रेस सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, युवराज न्यौपाने र कल्यण गुरुङ चुनावी मैदानमा उत्रेका छन् । न्यौपाने र गुरुङ राष्ट्रिय राजनीतिमा नसुनिएका नाम हुन् ।
काँग्रेसको यसपटकको महाधिवेशनमा आन्तरिक समिकरणमा व्यापक फेरबदल भएको छ । सभापति देउवालाई साथ दिँदै आएका निधिले उम्मेदवारी नै दिए भने यसअघि नेता रामचन्द्र पौडेल समूहका दुई नेता सिंह र कोइराला नै उम्मेदवार बने । आफ्नो समूहमा सहमति नभएपछि पौडेलले भने सक्रिय राजनीतिबाटै बिदा लिए ।
त्यसैगरी यसअघि अलगै समूह बनाएर चुनाव लडेका नेता कृष्णप्रसाद सिटौलाले देउवालाई साथ दिँदै आफ्नो समूहबाट प्रदिप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए ।
उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजय गच्छदार, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ तथा प्रकाशमान सिंह समूहबाट सुजाता कोइरालाले उम्मेदवारी दिएका छन् । त्यस्तै, महामन्त्रीमा प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा, देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ । १३ औं महाधिवेशनमा थापा सिटौला समूहमा थिए भने यसपटक कोइरालाको पुगे ।
सभापतिमा मुख्य प्रतिस्पधा देउवा र कोइरालाबीच हुने काँग्रेस नेताहरु बताउँछन् । कुल खसेको ५० प्रतिशत भोट कटाउन नसकेपछि पुनः चुनाव हुने काँग्रेसको विधानले व्यवस्था गरेको छ ।
त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खस आर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ ।
यसैगरी प्रदेश–१ बाट १३, प्रदेश–२ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन गरेका छन् ।
खुला केन्द्रीय सदस्यको ३५ पदमा महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।
यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेको जनसम्पर्कबाट गरी यस सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । शुक्रबारबाट सुरु भएको महाधिवेशन जारी छ ।
निर्वाचन तालिका अनुसार ११ बजेसम्म मनोनयन पत्र फिर्ता समय । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो १२ः१५ बजे र मतदान भोलि बिहान ८ बजेबाट ।