कवि दिलिप श्रेष्ठको लघु कविता सङ्ग्रह ‘जहाँ तिम्रो पाइला हुन्छ’ पुस्तक विमोचन भएको छ । हालै काठमाडौंमा विमोचित कविता संग्रहमाथि धारणा राख्ने टिप्पाँणीकारहरुले साहित्यनुरागीहरूका लागि नयाँ आयामका साथ प्रभावशाली तबरले उदाएका कवि भएको ठोकुवा गरेका छन् ।
यसअघि ४ वटा पुस्तक प्रकाशन गरिसकेका श्रेष्ठको ५औं पुस्तक विमोचन वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्य अन्वेषक प्रमोद प्रधान, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला लगायतले विमोचन गरेका हुन् ।
साहित्य अन्वेशक प्रमोद प्रधानले जटिल अनि कठिन विषयलाईसमेत सरल र सटिकतामा ढालेर सौन्दर्यको सृष्टि गर्दै कथ्यलाई सम्प्रेष्य तुल्याउने दिलिप श्रेष्ठ नयाँ आयामका कवि रहेको दाबी गरे । “मैले नेपाली साहित्यका दिग्गज व्यक्तिहरुका कृर्तिहरु अध्ययन गरेको छु, यति सरल, सरस अनि सटिकता पाएको छैन, हरेकले घुमाउरो र जटिल तरिकाले भाव प्रकट गर्दा धेरैले बुझ्न कठिन हुने सामाग्रि हुन्छन्, जुन धारलाई दिलीपजीले भत्काउने प्रयास गर्नु भएको छ” प्रधानले भने ।
कृति बारेका प्रमुख वक्तासमेत रहेका प्रधानले यतिको कविको नाम र चर्चा नेपाली साहित्यीक क्षेत्रमा नहुनु अचम्म लाग्दो विषय भएको पनि औंल्याए । “दिलीप जीका ४ वटा कृति आइसके छन्, ती सबै पढ्दा निकै परिपक्वता देखिन्छ, तर उहाँको चर्चा कतै पाइएन, न त कसैले कुनै किताबमा उहाँको नाम नै उल्लेख गरेको पाईयो, आखिर उहाँ कसरी छुट्नु भयो, सोचनीय विषय भएको छ” प्रधानले थपे ।
प्रधानले श्रेष्ठका कवितामा संगीतात्मक चेतना भएको र सो सबैमा नहुने जिकिर गर्दै भने,“दौडनेहरू सबै धावक हुँदैनन्, कविता भनी लेखेका पनि सबै कविता हुँदैनन्, तर उहाँका कविता संगीतात्मक चेतना भएका मन–मुटु स्पर्श गर्ने सुललित प्रकृतिका छन्, जसलाई नेपाली साहित्य क्षेत्रले विशिष्टरुपले पक्कै मुल्याङ्कन गर्नेछ ।”

वरिष्ठ नाट्यकर्मी अशेष मल्लले दिलीप श्रेष्ठका कविताहरु योजनाबद्ध बनिबनाउ भन्दा पनि अन्तरमनबाट स्वतस्फूर्त प्रष्फूटित भएका सिर्जनाहरु भएको बताएका छन् ।
प्राध्यापक केदारनाथ श्रेष्ठले कवि श्रेष्ठद्वारा सिर्जित सबै कृतिहरु पढिसकेको र तीभित्रका कविताहरु जति पढ्दा पनि धित नमर्ने किसिमका रहेको बताए । “जति दिलीप श्रेष्ठका कविता बढ्दा आनन्द आउँछ त्यति अरुका कृतिहरुमा आउँदैनन्, त्यसको मुख्य कराण सायद उहाँका कवितामा क्लिष्ट सब्दरहित, कसैको विरोध नगरि सर्वसाधारणले बुझ्ने भाषामा गहन भाव व्यक्त हुनु हो जस्तो लाग्छ” प्राध्यापक श्रेष्ठले थपे ।
वरिष्ठ कवि ज्ञान उदासले दिलीप श्रेष्ठ रहरको कवि भन्दा पनि उनिभित्रको साहित्यीक उर्वरताको प्रस्फुटनको प्रतिक भएको बताए । श्रेष्ठको ‘नसानसा’मा साहित्य दौडिरहेको दाबी गर्दै उदासले भने,“उहाँको जिजु–बाजेको पालादेखि नै गीत, संगीत, बाध्यबाधन र साहित्य क्षेत्रबाट राष्ट्रलाई योगदान दिइसकेको निपूर्ण परिवारिक विरासत हो, त्यसैको द्योतक दिलीपजीका प्रभावशाली कविता हुन् ।” “नाम र प्रसिद्धिको लागि कविता लेख्नु हुन्थ्यो भने युवा कालमै परिचित र स्थापित भइसक्नु हुन्थ्यो, न कि आजसम्म गुमनाम” उदासले थपे ।
वरिष्ठ कवि कलानिधी दाहालले कवि दिलीप श्रेष्ठ मनमस्तिष्कलाई एकैसाथ चलायमान बनाउन सक्ने कवि भएको जिकिर गरे । दाहालले युवा कालदेखि नै श्रेष्ठले कविता लेख्न सुरु गरेको भए आजसम्म नेपाली साहित्य क्षेत्रमा ठूलो योगदान पुगिसक्ने दाबीसमेत गरे ।
शिक्षासेवी नारायाण जोशी, कविहरु मोहीनी मन, पम्फा भट्टराईले कविता बाचन गर्दै छोटो समयमा कविता परम्पराको सरल धारमा आफ्नो स्पष्ट पहिचान बनाउन कवि दिलीप श्रेष्ठ सफल रहेको बताए ।

श्रेष्ठकी जीवन संगिनी बन्दना श्रेष्ठले आफ्नो पनि गीत–संगीतमा व्यापक रुचिरहेकोले जीवनको निवृत्त समयमा जीवन संगीका कविताम रमाईरहेको बताईन् ।
जहाँ तिम्रो पाइला हुन्छ’ लघुकविता सङ्ग्रहका सर्जक कवि दिलीप श्रेष्ठले कविता सुखमा खुसि व्यक्त र दुःखमा पीडा अनि अवेग व्यवस्थापनको उच्चकोटीको साथि रहेको बताए । “मेरो लेखाई कुनै उदेश्य प्राप्तिको लागि योजनाबद्ध केही हैन, तर यति हो परिस्थितिजन्य सामयिक भावतरङ्गलाई कविताको रूपमा ढालेर अन्तस्करणको आवजलाई बुलन्द गर्ने प्रयासलाई निरन्तरता दिनेछु”श्रेष्ठले थपे । उनले सो कार्यक्रममा आफ्नो निमन्त्रणालाई स्वीकर गरेर आउने सबैलाई धन्यवाद दिए ।
५० भन्दा बढी दिग्गज कवि तथा साहित्यकारका साथै आफन्तजन गरेर करिब १ सय जनाको उपस्थित रहेको कार्यक्रमलाई सुनीता अधिकारीले सञ्चालन गरेकी थिइन् ।
विषयगत विविधता, विकृति र विसंगतिप्रति प्रहार उनका कविताका विशेषता हुन् । उपवाक्यमा शीर्षकीकरण गरिएको यस कृतिमा रिक्त चिन्हले लक्ष्यित अर्थको पनि संकेत गरेको देखिन्छ । आवरणमा महिलाको पनि तस्बिरले कविसंग सम्बन्धित प्रेरक पात्र मुख्य जीवन संगिनीरहेको पुष्टि गरेको छ सो ‘जहाँ तिम्रो पाइला हुन्छ’ कृतिमा सयवटा कविता समेटिएका छन् । यस अघि २०६५ सालमा ‘जिन्दगीको यात्रा कहाँ रोकुँ’बाट औपचारिकरुपमा साहित्यीक यात्रा सुरु गरेका श्रेष्ठको २०७४ सालमा ‘रेल चढेपछि’, त्यसपछि २०७७ सालमा‘खोलापारिका आमा’ र २०८१ मा ‘मैले नबनाएको घर’ र वर्तमानको गरेर उनका चारवटा कृति प्रकाशित भएका छन् ।


धनन्जय बुढा




