पदम श्रेष्ठ –
हाडीगाउँ, लिच्छविकालिन राज्य शंकश्यनगरी विशालनगरको सभ्यता मानिएपनि चार ऐतिहासिक वस्तीको केन्द्र हो, नक्साल । जसमा १ ) नक्साल २) हाँडीगाउँ र मालिगाउँ ३ ) सखोना ४) थँवहिल (ठमेल ) हुन् । नरद भनिने हाँडिगाउँ सस्कृतिक बस्ती र नक्साल चाहि कुटनितिक केन्द्र मानिन्छ । त्यसैले , नक्साललाई प्यङगथाँ अर्थात चार ढुङ्गे भनिएको हो
१ ) नक्साल भगवती र नवसागरस्थल ः
शङ्खस्यनगरीका अष्टमातृका पीठमध्ये एक हो नक्साल भगवतीे । भनिन्छ–लिच्छवीकालमा पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकारको दायाँ हात काटिएपछि यो मुर्ति बायाँ हातले निर्माण गरिएको हो । एक समय नदि र मसान समेतको यो मन्दिर नेपाल सम्पदा संघकाअनुसार ने.सं.८०१मा जीर्णोद्धारित भएको हो । तीनतले पेगौडा शैलीको धातु छाने मन्दिर छेउ पुरातात्विक सानो चैत्य, महादेव ,गणेशका मुर्तिहरु भजनगृह छन् । यहाँ विजयादशमी , सिथीनखःमा राँगा,हाँस,कुखुरा बलि दिई पुजिन्छ । दसैंमा राष्ट्र प्रमुखबाट दर्शन हुने शक्त्ति पिठमध्ये भगवति मन्दिरको भित्तामा मसानको प्रतिक चित्र कोरिएका थिए ।
शङकरकीर्ति महाविहार (नक्साल वही) ः
एक समय मातृसत्तात्मक सत्ताका पक्षधर अमर बाँडा र विरोधी शङ्कराचार्य बीच ठूलो विवाद भएछ । विवादको कारण शङ्कराचार्यलाई काठमाडौ र ललितपुरमा बास समेत दिएनछ । तर भक्तपुरे राजाले साथदिएपछि यी दुईका विच शास्त्रार्थ हुनपुगेछ । भनिन्छ , शास्त्रार्थ यही नक्सालस्थित बुद्ध विहारमा भएको थियो । चलनानुसार कालोपर्दाले छेकी भएको शास्त्रार्थमा अमर बाँडाले निलसरस्वतीको अदृश्यसाथ लिएका थिए रे । शास्त्रार्थमा शङ्कराचार्य हारेपछि हिंसामा उत्रिएका थिए रे । भनिन्छ, शंकराचार्यले अमर बाँडाको आस्था बौद्धमूर्ति भत्काई ध्वस्त नकवहिल (नक्साल विहार ) को नाउँ शङ्करकीर्ति राखियो ।
नन्दीकेशर बहाल ः
नन्दी साँढेलाई केन्द्रितगरी मल्लकालमा निर्मित नन्दीकेशर महादेवस्थल राणाकालमा व्यवस्थापन भएको हो । चार रोपनीमा फैलिएको नन्दीकेशर महादेव हालै तीन तले पेगौडा शैलीमा पुनःनिर्माण भएको छ । देवस्थलको चारैतिर दिवा र रात्रीकालिन स्कुल छन् भने मन्दिरकै नाउँमा काठमाडौंका मेयर केशव स्थापितको पालामा नन्दिकेशर खुल्ला पार्क निर्माण भएको थियो । पार्कमा ब्यायाम, योगा हुने गर्दछ । पाटनको नाग वहालमा रहेको निल साँढेसंगपनि आख्यान जडिएको पाईन्छ । पाटनको नाग वहालको शिला मुर्तिनै साँढे कराएमा नन्दिकेशर वहाल स्थित साँढेको पनि पुजा गर्नुपर्ने परम्परा छ ।
नारायणचौर र साईबाबा केन्द्र ः
लिच्छवीकालिन नारायण मन्दिरकै चौरमा ने.सं.१०१७ मा केन्द्रीय साई परिषद् स्थापित छ । वैदिक,बौद्ध,जोरास्टर,क्रिस्चियन,मुस्लिम , वहाई , जैन ,सिखको लोगो स्वरुपमा सत्य साई केन्द्र क्रियाशील छ । प्रवचन हल,सेवा कक्ष,स्वास्थ्य केन्द्रसमेटेर चारतल्ले भवन आकर्षक बगैचासहितको छ । केन्द्रस्थलमा भगवान बुद्ध , गणेश , शिव, कृष्णका भव्य मुर्तीहरु छन् । दक्षिण भारतमा ने.स.१०४७ मा जन्मनुभएका साईबाबा, नयाँ धर्म प्रादुर्भाव गर्न नभई , भएकै धर्म शुद्धीकरणकालागि जागृत ईश्वरीय आत्मा हुन । मानव शरीर बेग्लाबेग्लै भएपनि आत्मा एकै हो, भन्ने सन्देशलाई सर्वव्यापी बनाउन नक्सालमा साई केन्द्र स्थापना भएको हो ।
कमलपोखरी र अग्रवाल भवन ः
३० रोपनीमा फैलिएको कमलपोखरी नक्साल नामकरणका नौवटा पोखरीमध्ये एक हो । हाल पोखरीमा माछा पाल्ने डुङ्गा चलाउने सम्भावनाका साथ मर्निङ वाक गर्न ,घाम र हवा खान पुग्नेहरुका लागि स्वर्गको बगैचा अनुभुति हुन्छ । काठमाडौं महानगरपालिकाको लगानीमा ने.सं.११४२ चैत्र फागुपुर्णिकाको अवसरमा उदघाटित कमलपोखरीमा ७ बुद्धको चिवा चैत्य, फल्चा र बगैंचाले पोखरी आकर्षक छ । नजिकै अग्रवाल भवन । मारवाडी समुदायका प्रवद्र्धनक अग्रसेन महाराजको मुर्तिसहित अग्रवाल भवनलाई कमलपोखरीले सुनमाथि सुगन्ध छरिदिएकोछ ।
नागपञ्चमी एक आख्यान अनेक :
नक्साल नामाकरण गर्ने नौ पोखरीमध्ये एक हुन् , नागपोखरीपनि । प्रत्येक वर्ष नागपञ्चमीको दिन विशेष पूजा हुने गर्दछ याहाँ । करिब सात रोपनीमा फैलिएको नागपोखरी नागका अलावा ने.सं.१०१५ मा सन्तोषीमाताको मन्दिरपनि स्थपित छ । उपत्यकामा १२ नाग तीर्थ छन् । ती तिर्थ जस्तै नागपोखरी पनि एक हो । नागपञ्चमीमा यहाँ मेला लाग्ने गर्दछ । उपत्यका दहको पानी चोभार ह्रासिकापबाट छेदनगरी बाहिर पठाउँदा मञ्जुश्रीले नागवंशको सम्मानार्थ टौदह र ललितपुरको धापाखेलमा पोखरी सुरक्षितगरी बस्ती बसाएको आख्यान छ ।
महाविर जयन्ती (जैन धर्मका प्रर्वतक):
अहिंसा र सदाचारका सन्देशबाहक एकै युगका तीन महापुरुष गौतम बुद्ध, कन्फ्यूसियस जस्तै जैन धर्म गुरु महाविरपनि हुन् । चैत्रशुक्ल त्रयोदशीका दिन महाविर जयन्ती मनाइन्छ । भगवान बुद्ध र जैन महाविरलाई छुट्याउँदा बुद्ध पद्माशनमा शरीर ढाक्ने चिवरमा देखिन्छ भने महाविर सादा पलेटी कसेर वस्त्र बिहीन देखिन्छ । आहर्त जैन धर्मका संस्थापक तीर्थङकर ऋषभदेव हुन् । ऋषभदेवका जेष्ठ पुत्र सम्राट भरतको नाउँबाटै हिन्दुस्थानको नाउँ भारत रहेको हो । तर चौवीसौं तीर्थङकर मल्लिनाथ मिथिला जनकपुरमा र गौतमबुद्ध समकालीन महाविरको जन्म नेपालकै सिम्रौनगढमा भएको दाबी छ । ईश्वरको अस्तित्वलाई स्वीकार्ने जैन र बुद्धसँग शान्ति, अहिंसा र सदाचारका उपदेश मिल्दछन् । अनुश्रुतिमा व्यापारीका रूपमा नेपाल प्रवेश गरेका जैनहरूले काठमाडौंको कमलपोखरीमा २०४५ सालमा स्थापित जैन मन्दिरमा सभाकक्ष, अतिथि भवन, व्यापारिक कम्प्लेक्सहरु छन् ।
२ ) हाँडीगाउँ नरदे र मालिगाउँ माग एकै सभ्यतास्थल
माटोको भाँडा बनाउनेको बस्ती हाँडीगाउँलाई नेपालभाषामा नरदे र संगैको माली गाउँलाई मागः भनिन्छ । कथनअनुसार कीर्तिपुर नरगोवासीलाई बाघले सताएछपछि बसार्इँ सरेका नरगोबासीलाई नरदे भन्न थालिएको हो । भनिन्छ, राजा मानदेवको राजप्रसाद मानगृह र अंशुवर्माको कैलाशकुट भवन मालीगाउँभित्रै भग्नावशेषको रुपमा रहेकोछ । हाँडीगाउँ डबली संवत ४७२ लिच्छवीकालीन अभिलेख मानी रुद्रमती ( धोविखोला ) छेउमा उत्तर टुँडालदेवी र धुम्वाराही , दक्षिण मैतीदेवी अष्टमातृका पिठ सहित नरदे हाँडिगाउँ बसाईएको बताईन्छ ।
सत्यनारायण मन्दिर र ढुङ्गेधारा ः
हाँडीगाउँ सरस्वतीस्थान सम्बत् ४७२को शिलालेखबाट ढुङ्गेभ¥याङ ओर्लिइ धोविखोलातर्फ ढुङ्गेधारासहितको सत्यनारायण मन्दिर रहेको छ । मन्दिर अगाडि ठडिएको ढुङ्गेस्तम्भनै नेपालभित्रै बौद्धहरुलाई गाली गरिएको एकमात्र प्रतिमास्थल पनि हो । ढुङ्गेस्तम्भ मानदेव प्रथम भारवीद्धारा निर्मित मानिन्छ तर बौद्ध प्रतिको गालीले धार्मिक समभावमा कुनै दुष्प्रभाव पार्न सकेन ।
टंगाल गहना पोखरी र षड्मुखा भगवती ः
चैत कृष्णप्रतिपदाका दिनहुने टुडाँलदेवीको गहना खोज्ने जात्रा ने.सं.८०५का राजा शिवसिंह मल्लले शुरू गराएको भनाई छ । जात्रामा पोखरीको पानी बूढानीलकण्ठ
देखि राजकूलो ल्याईन्थ्यो लिच्छविकालमा । हाल बोरिङको पानी भरि गहना खोज्ने जात्रा गरिन्छ । गहना पोखरी नजिकै कोटालटोलमा गरूड चढेकी ६ शिर,६ मुख, ६ हात भएका भगवतीको दुईतले मन्दिर छ , षडामुखा भगवतीको । मन्दिर १८ औं शताब्दीका भूपालेन्द्र मल्लकालिन रहेको नेपाल सम्पदा संघले उल्लेख गरेको छ ।
मनमानेश्वरी ः
टंगाल पोखरी नजिकै मानेश्वरी मन्दिर भुँइतल्ले आकृतिमा छ । गोपालराज वंशावलीअनुसार राजा मानदेवका कुलदेवता हुन् यी । मन्दिर भित्र शिवलिङ्ग जस्तो ठुलो शिलामुर्तिलाई मानेश्वरी भगवतिको रुपमा पुजिन्छ भने गहना खोज्ने जात्रामापनि माँ खः भन्दै देवीकै रुपमा जात्रा गरिन्छ । राजा अंशुवर्मा को संवत् ३२ को अभिलेखमा देवीलाई ३ पुराण र १ पण छुट्याउनुले लिच्छवीकालमा मानगृहकै आगमदेवताको भग्नावशेष प्रमाणित हुन्छ ।
भाटभटेनी (मोपता अजिमा) :
हाडीगाउँकी टुँडालदेवीपछि छोरी भाटभटेनी (मोपता) को स्थान उच्च छ । दुईतले धातुछाने भाट र भटेनी झुण्ड्याइएकैमा पुजिन्छ आजपनि । कथनअनुसार, टुँडालदेवी (तोण अजिमाँ) पोडेसँग विवाहपछि दुई छोरीहरूलाई मोपता अजिमाँ ( भटेनी ) र माख (महालक्ष्मी) भए । महालक्ष्मी मानेखटले नक्सालमै घरबार गरेपनि भटेनीले चाहिं भाट पुरूषलाई घरज्वाईं राख्न हाँडीगाउँ ल्याइन् । बच्चालाई तेल घसेर घाममा सुताएका बेला चीलले टिपेर लगेछ । भनिन्छ,बच्चा लिन उडेको दृश्यनै भाटभटनीको पिडादायी देविको मुर्ती दृश्य हो ।
टुँडालदेवी (तोर्ण अजिमाँ) ः विशालनगरका पुज्यदेवी हुन्–टुँडालदेवी ,तोर्ण अजिमाँ । तीनतले पेगोडाशैलीको टुँडालदेवी मन्दिर , इच्छुमती र खहरेखोलाको दोभानमा छ । ने.सं.८५४मा राजा जगतजय मल्ल, ने.सं.८३४मा राजा भास्कर मल्लको राज्यकालमा जीर्णोद्धार भएको मन्दिरछेउ भैरवमानेर पुज्ने संवत् ३९७ र संवत् ८५४का अस्पष्ट अक्षरका शिलापत्र छन् । धर्मशालामा राँगाको सिंह चढाइनुले देवी तान्त्रिक मानिन्छ । बालाजु २२ धारा नुहाउने पुर्णिमाका दिन टंगालपोखरीमा गहना खोज्ने जात्रा हुनेगर्दछ ।
धुम्बाराही ः‘ धुँ ले बाघ र ‘बाराहीले रक्षक देवता हुन् । बाघजस्तो धुम्बाराही उपत्यकामा चार वाराही ललितपुरको बज्रवाराही,भक्तपुरको जिनबाराही,मध्यपुरको नीलवाराही र कान्तिपुरको धुम्बाराही १२रोपनीमा फैलिएको छ ।
,ज्ञानेश्वर महादेव, शान्त भैरव र सिख मठः
ज्ञानेश्वर महादेवस्थान शंकस्यनगरीको अन्तिम पूर्वी सिमाना हो । स्वस्थानीमा उल्लेखित ६४लिङगमध्ये एक मन्दिर तीनतल्ले छाना धातुयुक्त र टुंडालमा सम्भोगरत कलाकृतिका छन् । दुई रोपनी ढुंगे चोकबीच ने.सं.९४३मा दैवज्ञराज लक्षुमन भारोद्धारा स्थापित मन्दिरको दक्षिणतर्फ उन्मक्त भैरवको ढुंगेमूर्ति छन् । जहाँ सन्तान प्राप्तिकालागि भाकलगर्ने गर्दछन् । वरिपरि शिख सन्न्यासी मठ र बाह्रै महिना पानी आइरहने ढुंगेधारा छन् । भनिन्छ , शिख गुरू नानक ने.सं.६३८मा तेस्रो उत्तराखण्डको यात्रागर्दै नेपाल प्रवेश गर्नुहुँदा यहि बसी शिखमठ स्थापना गर्नुभयो । शिख मठमा सन्यासी ज्ञानेश्वर महादेवमा भट्ट ब्राह्मण र भैरवस्थानमा कर्माचार्य नेवार पूजारी रहन्छन् ।
मयतिदेवी (मैतीदेवी)ः
अष्ठमातृका पीठमध्ये एक मैतिदेवी अजिमां मालीगाउँबासीको कुलदेवता हुन् । तिहारको पञ्चकको दिन कुण्डमा मेला लाग्नु र पाँचवटा बुद्ध चैत्यले घेरिएकोहुँदा मैतिदेवीलाई पञ्चकुमारीपनि भनिन्छ । नेपाल सम्बत्को पहिलो दिन म्हपूजामा मैतीअजिमां,गणेश र महालक्ष्मीको खटजात्रा मुनिकार खलःको नेतृत्वमा हुने चलन छ । कुविद्याका ंरक्षक मैतीअजिमांको ने.सं.४८मा निर्माण र ने.सं.६५०
मा जात्रा थालिएको कथन छ । पोडे पूजारी र बज्राचार्य तान्त्रिक साधक रहने मयतिदेवी मसान र हिजाखुसी (रूद्रमती)सहित ३३रोपनीमा स्थापित छ ।
सँकोनाकी नीलसरस्वती ं
भनिन्छ ,मञ्जुश्री महाचीन ल्हासाबाट नेपाल आई साँखु नगरकोट र ल्हासापाको क्षेत्रमा विचरणगरी उपत्यकाको पानीलाई वाहिर पठाउने निक्र्यौल गर्दा शिक्षाकी देवी सरस्वतीको विशेष हात थियो । नेपाल भाषामा तिब्बतलाई सँदेय् अर्थात सँय् भोटे बस्ती र साँखुलाई सक्व अर्थात सँ देशको तल्लो बस्तीबाट आई लिच्छविकालमा बसाएको बस्तीलाई सँखुना अर्थात सकोना भनिएको भनाई छ । सोहि स्थानमा हरित तारा अर्थात निलसरस्वती मन्दिर थापना गरेको विश्वास गरिन्छ । उनै देवीको साधनागरी नक्साल विहारका अमर वाँडाले नारी शक्तिका विरोधी शंकराचार्यलाई शास्त्रात्रमा हराएका थिए । श्रीपञ्चमीमा ल्हासापाको, स्वयम्भू , ललितपुरको लेलेमा जस्तै यहाँपनि मेला लाग्दछ । शंखस्यनगरीको अन्तिम सिमाना टुकुचाछेउ स्थापित गुम्बजाकार शैलीको मन्दिर १४औं शताब्दीमा निर्मित मानिन्छ । जहाँ ,विद्यार्थीहरु परीक्षा, विदेश पढ्न जादाँ दर्शन गर्न पुग्दछन् ।
श्वेतकाली भगवती मन्दिर ः
अष्टमातृका पिठहरु मध्ये श्वेतकाली चामुण्डा पनि हो । भुईतले मन्दिरभित्र सादाढुंगा पुजिन्छ । गहना खोज्ने जात्रामा श्वेतकालीको खट जात्रा पाईन्छ ।
धोवीचौरस्थित मानदेवकालीन महादेव ः
नीलसरस्वती नजिकै धोवीचौरस्थित लिच्छवीकालीन महादेव मन्दिरपनि एक हो । लुगा सुकाउने चौर बीच शिव लिङको पादपीठमा उल्लेखित सम्बत् ३८९ र ३९० ले यस क्षेत्रको पुरातत्वलाई उजागर गरेको छ । मन्दिर राजा मानदेवले आमाको इच्छामुताविक निर्माण गराएको भनाई छ । जहाँ लुगा धुने चौर र शिलारुपि चामुण्डा अष्टमातृका मध्ये एक पनि छ ।
लाजिम्पाटस्थित दयाश्वर महादेवस्थल ः
दुस्तआत्मा विचरणगरी हिडने ठाउँ लछिपटनै नेपालभाषामा अपभ्रंस भई लाजिम्पाट भएको हो । यहि दुस्तआत्मालाई दवाउन स्थापित शिवस्थल हो, दयाश्वर महादेव । आधा रोपनीको क्षेत्रफल भित्र मल्लकालमा संरक्षित मन्दिरभित्र ,भजनगृह, यज्ञस्थल ,सप्तर्षि , बुद्धका मुर्तिसहितको छ भने शिवरात्री , तीज,साउने सोमबार मेला लाग्छ याहाँ । झण्डै अतिक्रमणमा परी लोप भैसकेको शिवस्थललाई समाजसेवी नरेशबाबु शाहिलगायतको समुहले चन्दा सहयोगमा संरक्षणगरी भोज भजन घर निर्माणगरी ब्यवस्थापन गरिएको पाईन्छ ।
रानीबारी ःपोर्पा अजिमाँ ः
लाजिम्पाटस्थित रानीबारीलाई नेपालभाषामा पोर्पा अजिमाँका नाउँले पुकारिन्छ । करीव १० रोपनीको थुम्कोमाथि रानीदेवीको सादा शिलाको मन्दिर रहेको छ । जहाँ ज्यापु समुदायको देवाली पुजा हुने गर्दछ । मन्दिर सामाखुशी नदी किनारमा छ । जहाँ विवाह,ब्रतबन्धआदि पिकनिकसहित आश्विनमहिनामा क्षमापुजा हुने गर्दछ ।
नारायणहिटी दरवार हत्याकाण्ड र शंकस्यनगरी ः
मानदेव प्रथमद्वारा आफ्नै पिता धर्मदेव हत्याभएको भनिने नारायणहिटी राजदरबारमा नै २०५८ साल जेठ १९गते राति ९.१५बजेको राजा विरेन्द्रको राजपरिवार हत्याकाण्डले राष्ट्रलाईनै किकर्तव्यविमुढ बनाईदिएको थियो । त्यस्तै शक संवत् ३८६ देखि ४२७ सम्म राजगद्दी सम्हालेका मानदेव प्रथमलेपनि अञ्जानमा नारायणहिटीमानै आफ्ना पिता धर्मदेवको हत्यागरी रक्तरञ्जित तुल्याएको आख्यान छ । देशमा खडेरीलाई अन्त्यगर्न ज्योतिषले ३२ लक्ष्यणयुक्त व्यक्तिको बलि दिनुपर्ने बताएअनुसार राजकुमारलाई आदेश दिए की, भोलि बिहानै हिटीमा सेतो कपडाले ढाकिएको डल्लो हुनेछ , दुई टुक्रागरी काटिदिनु । आदेश पालन त गरे तर काटिएको वस्तु आफ्नै पिता धर्मदेव थिए । अन्जानमा भएको पापमोचनार्थ बज्रयोगिनीको आज्ञाअनुसार बौद्धस्तूप बनाएको भन्ने लोकोक्ति छ । आख्यान अनुसन्धानकै विषय भएपनि , शाह राजाहरु हनुमान्ढोका नासल चोकमा राज्याभिषेक र नारायणहिटीमा बस्दै आईरहनुभएको थियो । राजा प्रताप मल्लद्वारा ने.सं.७६९मा निर्मित शिखर नारायण मन्दिर र लिच्छवीकालीन हिटी ढुङ्गेधाराको संयुक्तस्वरुप नारायणहिटी दरबारभित्र देशलाई शान्तिक्षेत्र घोषणा गरिनुपर्छ भनि लागेका राजा वीरेन्द्र,रानी ऐश्वर्य,युवराज दीपेन्द्र, नीराजन र अधिराजकुमारी श्रुतिसहितको हत्याले धर्मदेवकालीन हत्याकाण्डलाईपनि माथ ख्वाएको थियो ।
थँवहिल–ठमेल ( विक्रमशील महाविहार ) ः
नेपाल भाषामा ‘थँ’को अर्थ माथिल्लो र बहिले विक्रमशील महाविहारलाई थँवहिल अर्थात ठमेल भनियो । ने.सं.१०६ ताका कान्तिपुर बसाउँदा ठमेलछुट्टै बस्ती थियो । ने.सं.३४४मा निर्मित थँवहिलमा करुणमय र सिंहसार्थवाह पुजिन्छ । आख्यानुसार, ठमेलका बानियाँहरु तिब्बतबाट व्यापारगरी फर्कदा, अनकन्टार ठाउँमा राम्री–राम्री तरूनीहरुले बानियाँहरुको खुब सेवा गरे तर सिंहसार्थवाहलाई राति आर्यावलोकितेश्वरले सतर्क गराउदै भनेछन्–ती सुन्दरीहरू राक्षसनी हुन् तीनीहरुबाट बच्न ब्रह्मपुत्र नदि तर्दा ती यक्षिणीले जतिसुकै बोलाएपनि फर्किएर नहेर्नु, सो कुरा साथीहरुलाइपनि बताए । तर,समुद्र तर्दा सुन्दरीहरुले मन थाम्न नसकी फर्किएर हेरे । सबै यक्षीणीको आहारा बने । नेपाल फर्किन सफल सिंहसार्थवाहसंगपनि एउटी यक्षिणी आइपुगेकी रहिछिन् । सुन्दरीबाट मोहित शंकस्यनगरीका राजा सिंहकेतुले यक्षिणीलाई रखौटी राखिदिएछन् । ऐन मौका छोपि यक्षिणीले राजालाई खाइदिएछन् । सो कुरा थाहपाई सिंहसार्थवाह विशालनगर पुग्दा अवलोकितेश्वरको प्रभावका कारण यक्षिणीहरू भागाभाग गरेछन् । यक्षिणीबाट मुक्त गराएकाकारण जनताले सिंहसार्थवाहलाईनै राजा घोषणा गरे । यहि खुशियालीमा फागुपुर्णिमाको दिन बसन्तपुरमा झल्लर लिङगो उठाई भव्य सिहंसार्थवाहको खट जात्रा गरि जनताहरुले सिंहसार्थवाहलाईनै गरुढ भगवानको रुपमा प्रतिष्ठापित गरे । पाँचतल्ले थँवहिलमा ने.सं.८०४का अभिलेख छन् । १६औंशताब्दीमा निर्मित गुप्तदेवता सद्यकुमारी तीनतले मन्दिरको तोरणमा वज्रसत्व कुमारी भैरव र चोकमा स्वयम्भूचैत्य छ ।