
जनकपुर । जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् ।
शनिबार जनकपुरधामका युवायुवतीहरुले आफ्नो सांस्कृति पहिरन धोती, कुर्ता तथा सारी लगाएर अभियानको शुरुवात गरेका छन् ।
मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले उनीहरुले उक्त अभियान शुरु गरेका बताएका छन् ।
मिथिलाको मुख्य पोसाकले मिथिलाको पहिचान झल्काउछ भन्दै उनीहरुले आफ्नो पहिचानलाई बचाई राख्न र लोप हुनबाट बचाउन उक्त अभियानलाई निरन्तरता दिने बताए ।
ब्राण्डेड डिजाइन र विदेशी पहिरनको देखावटी गर्ने अहिलेको आधुनिक युगमा मिथिलाको सारी लगाउने परम्परा पनि ओझेल हुन लागेकोप्रति उपस्थित युवायुवतीहरुले चिन्ता व्यक्त गरे ।
उनीहरुले मिथिलाको नारीको पहिचान सारी मात्र रहेको भन्दै आफूहरुले स्पष्ट सन्देश दिनका लागि युवतीहरु सारी लगाएर आएको बताए ।
युवायुवतीहरुले सांस्कृतिक पहिरन जोगाउनका लागि आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा विचारविमर्ष समेत गरेका छन् ।
उनीहरुले जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा जम्मा भई जानकी मन्दिर प्राङ्गणसम्म पैदल हिँडेर संस्कृति पहिरनको प्रदर्शन गरेका थिए ।