
बाजुरा । बाजुराका स्थानीय तह भष्ट्राचारीको अखडा बन्दै गएको गुनासो आएको छ । यहाँका स्थानीय तहले एकै बर्षमा नियम विपरित १३ करोड बढि रकम अनियमितता गरेको पाइएपछि जनगुनासो बढेको हो ।
विभिन्न शीर्षकमा कागजात नपुर्याइ स्थानीय तहले रकम भुक्तानी गरेको पाइएको हो ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदन अनुसार विभिन्न शीर्षकमा बाजुराका स्थानीय तहहरुले नियम विपरीत रकम भुक्तानी गरेर अनियमितता गरेको जनाएको छ ।
आर्थिक बर्ष २०८०।०८१ मा यहाँका स्थानीय तहहरुले १३ करोड १ लाख ५२ हजार एक सय ७ रुपैयाँ अनियमित गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उल्लेख भए अनुसार सबैभन्दा बढी बुढीगंगा नगरपालिकामा आर्थिक अनियमिता भएको पाईएको हो ।
नगरपालिकाले आर्थिक बर्ष २०८०।०८१ मा ३ करोड ३८ लाख ५७ हजार ७ सय ६४ रुपैयाँ अनियमित गरेको छ । नियम विपरीत करार कर्मचारी नियुक्त गरी तलव भत्ता भुक्तानी, लगायत विभिन्न शीर्षकमा नगरपालिकाले नियम विपरित अनियमितता गरेको पाइएको हो ।
त्यस्तै, बुढीनन्दा नगरपालिकामा १ करोड ८७ लाख २० हजार ३ सय ३६ रुपैयाँ अनियमित भएको छ । त्रिवेणी नगरपालिकामा १ करोड ८५ लाख ९५ हजार १ सय ३३ रुपैयाँ, बडीमालिका नगरपालिकामा १ करोड ८२ लाख ३६ हजार ६ सय ४ रुपैयाँ, जगन्नाथ गाउँपालिकामा १ करोड १७ लाख ७६ हजार ५ सय १०, स्वामीकार्तिक खापर गाउँपालिकामा १ करोड ८ लाख ३३ हजार २ सय ७, हिमाली गाउँपालिकामा ७४ लाख ५९ हजार ९ सय ५२ रुपैयाँ, खप्तड छेडेदह गाउँपालिकामा ७२ लाख ९५ हजार ७ सय ७ रुपैयाँ र गौमुल गाउँपालिकामा ३३ लाख ७६ हजार ८ सय ९३ रुपैयाँ अनियमित भएको तथ्यांकमा उल्लेख छ ।
बाजुराका ९ वटै स्थानीय तहले ठूलो रकम अनियमितता गरेको पाइदा यतिवेला सामाजिक सञ्जलमा सबै स्थानीयहरुको टिकाटिप्पणी भइरहेको छ ।
नियम विपरीत दरबन्दी बाहेकका कर्मचारीहरु नियुक्त गरी ७ करोड २४ लाख ३९ हजार ३ सय ४३ रुपैयाँ तलव भत्तामै खर्च गरेको पाइएको हो । सबै स्थानीय तहहरुलाई यतिवेला भष्ट्रहरुको संज्ञा दिएको छ ।