
काठमाडौं, चैत १२ गते । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इन्जिनियर अरुण थापाले उक्त सर्भर र एप हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल संवतको गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल संवतलाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वयनमा जान्छ ।”
सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिनेछ। यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
प्रधान मन्त्री पुष्पकमल दाहाल नेतृत्व सकारले नेपालको मौलिक सम्बत नेपाल संवतलाइ ११४४ बाट नै अनिवार्य रूपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको छ । सरकारले नेपाल संवतलाइ सरकारी कामकाजी ( लेटर हेड तिथि मिति ) मा प्रयोग गर्ने भएपछी उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ ।