
काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामा राष्ट्रियसभाबाट कुलिङ पिरियडमा भएको त्रुटि सच्याउन आग्रह गरेका छन्। आज मंगलबार विज्ञप्ति जारी गरेर उनले कुलिङ अफ पिरियडमा भएको अक्षम्य घटना राष्ट्रियसभाबाट सच्याउनुपर्ने आग्रह गरेका हुन्।
उनले राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएको बताए ।
कुलिङ पिरियडमा हुँदै नभएको व्यवस्था लेखिएपछि दलहरूले सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए। घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र संलग्नले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग पनि सांसदहरूले गरेका छन्।