आज :

यस्ता छन् टी–२० विश्वकपका ६ नयाँ रोचक पक्षहरु

  • अनलाइन डबली

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुँदै छ । जुन १ तारिखदेखि २९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित २० देशले भाग लिँदै छन् । नेपाल समूह डीमा परेको छ । नेपालले समूह चरणमा रहेका नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ ।

टी–२० विश्वकपमा ६ नयाँ अपडेट के छन् त ?

१. दुई अलग क्रिकेट बोर्डको आयोजना

आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदै छ । त्यसैलै यस पटकको विश्वकपमा आयोजक २ वटा क्रिकेट संघ रहेका छन् । आयोजकको रुपमा वेस्टइन्डिज र अमेरिका क्रिकेट संघ रहेका छन् । टी २० विश्वकपमा यो नवौं संस्करण हो । यसअघि भएका आठौं संस्करणसम्म एउटा बोर्डले मात्रै विश्वकप आयोजना गरेको थियो ।

२. अमेरिकामा विश्वकप

अमेरिकाले आईसीसीको प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो पटक हो । अमेरिकाले सन् २०२८ मा हुने ओलम्पिकको आयोजना पनि गर्दैछ । उक्त ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिएको छ । अमेरिका टी–२० विश्वकप आयोजना गर्ने दोस्रो एसोसिएट सदस्य राष्ट्र बन्नेछ । एसोसिएट भन्नाले आइसीसीले टेस्ट क्रिकेट खेल्ने हैसियत नदिएकोलाई बुझाउँछ । अमेरिका भन्दा पहिले २०२१ को टी–२० विश्वकप एसोसिएट देश युएईमा खेलाइएको थियो । यद्यपि उक्त प्रतियोगिता भारतले आयोजना गरेको थियो । यसअघि एसोसिएट सदस्यहरूले च्याम्पियन्स ट्रफी र एकदिवसीय विश्वकप आयोजना गरिसकेका छन् । सन् १९९८ मा च्याम्पियन्स ट्रफी एसोसिएट राष्ट्र बंगलादेशले आयोजना गरेको थियो भने सन् १९९९ मा एकदिवसीय विश्वकप स्कटल्याण्ड, आयरल्याण्ड, वेल्स र नेदरल्यान्ड्सले इंग्ल्याण्डसँगै आयोजना गरेका थिए ।

३. पहिलो पटक २० टिम

टी–२० विश्वकपमा पहिलो पटक २० टोलीको सहभागिता रहनेछ । यस पटक २० टोलीलाई ५÷५ गरी ४ विभिन्न समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष २–२ टोलीले सुपर–८ चरणका २ समूहमा खेल्नेछन् । यहाँ दुवै समूहका शीर्ष २ टोलीबीच सेमिफाइनल खेल हुनेछ भने विजेता टोलीबीच जुन २९ मा बार्बाडोसमा फाइनल खेल हुनेछ । २० मध्ये ८ टिम आइसीसीको वरियतामा शीर्ष ८ मा परेर सिधैं विश्वकपका लागि छनोट भएका हुुन् । यसैगरी अमेरिका र वेस्टइन्डिज आयोजक राष्ट्रको हैसियतमा विश्वकप खेल्दै छन् । २ टिम पनि वरियताकै आधारमा छनोट हुँदा बाँकी ८ टोलीले क्षेत्रीय छनोट जितेर प्रतियोगितामा स्थान बनाएका छन् । नेपालले पनि छनोट चरण पार गरेर टी २० विश्वकपमा स्थान बनाएको हो । यस्तै, अमेरिका, क्यानडा र युगान्डाले टी–२० विश्वकपमा डेब्यु गर्दैछन ।  यी तीन देशको पहिलो टी–२० विश्वकप हो ।

४.पहिलो पटक विदेशमा बनेको पिच

न्यूयोर्कको नासाउ काउन्टी स्टेडियममा ड्रप–इन पिच प्रयोग भइरहेको छ । ड्रप–इन पिचहरू मैदान बाहिर बनाइन्छ र त्यसपछि स्टेडियममा स्थापना गरिन्छ । नासाउ स्टेडियमको पिच अस्ट्रेलियामा बनाइएको थियो । यस वर्षको जनवरीमा अमेरिकाको फ्लोरिडामा १० वटा पिच समुन्द्री मार्गबाट लगिएको थियो । जहाँ ५ महिनाको तयारीपछि मेमा नै नासाउ रंगशालामा फिट गरिएको थियो । १० मध्ये ६ पिच अभ्यासका लागि छन् भने ८ खेल ४ वटा पिचमा हुनेछन् । पहिलो पटक विश्वकपमा अर्को देशमा बनेको पिच प्रयोग हुन लागेको हो ।

५. मोड्युलर स्टेडियम

न्यूयोर्कमा डिसेम्बर २०२३ सम्म अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला थिएन । यहाँ ६ महिनामा मोड्युलर रंगशाला निर्माण गरिएको हो । यसको पिच अष्ट्रेलियाबाट लगिएको थियो भने स्ट्यान्ड फर्मुला–१ प्रतियोगिताबाट ल्याइएको थियो । यो रंगशालामा ३४ हजार दर्शक बस्न सक्नेछन् । विश्वकपमा पहिलो पटक मोड्युलर स्टेडियम प्रयोग गरिने भएको छ । यहाँ भारत–पाकिस्तानबीचका खेलसहित समूह चरणका ८ खेल हुनेछन् । प्रतियोगिता पछि यसलाई पार्कमा परिणत गरिनेछ ।

६. स्टप क्लकको प्रयोग

आइसीसीले पहिलो पटक प्रतियोगितामा ‘स्टप क्लक’ नियम प्रयोग गर्दै छ । बलिङ टोलीले २ ओभरको बीचमा ६० सेकेण्ड मात्र पाउनेछ । ओभर सकिएपछि तेस्रो अम्पायरले मैदानमा जडान गरिएको टिभी स्क्रिनमा टाइमर सुरु गर्नेछन् । ६० सेकेन्डपछि अर्को ओभर सुरु भएमा फिल्ड अम्पायरले फिल्डिङ टिमका कप्तानलाई दुई पटक चेतावनी दिनेछन् । एक इनिङ्समा तीन पटक अर्को ओभर बल गर्न ६० सेकेन्डभन्दा बढी समय लागेमा ५ रनको पेनाल्टी लाग्नेछ । ५ रन ब्याटिङ टिमको स्कोरमा थपिनेछ  । बलिङ टोलीलाई इनिङ्समा प्रत्येक तेस्रो गल्तीको लागि दण्डित गरिनेछ । समय व्यवस्थापन गर्न यस नियमको ट्रायल गत वर्षको डिसेम्बरमा सुरु गरिएको थियो । जसलाई अहिले स्थायी बनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal