करुणाको अवतार गौतम बुद्धको जन्मभूमि, शिल्पकार अरनिकोको कलाभूमि, राजकुमारी भृकुटीको कूटनीतिक भूमि र एकीकरणकर्ता पृथ्वीनारायण शाहको दूरदृष्टिको भूमि । यही पावन माटोमा असंख्य जनविद्रोहका बलिदानीहरूले रगतका अक्षर लेखेर राष्ट्रलाई गौरवान्वित बनाए ।
तर, आज यो महानताको पहाडभित्र समाज विकृति, भ्रष्टाचार र नैतिक पतनको गहिरो खाडलमा डुब्दै छ । यो मात्र समस्या होइन, यो राष्ट्रिय संकट हो । भ्रष्टाचार, स्वार्थ, राजनीतिक खिचातानी, अन्याय र अनैतिकताले समाजलाई चारैतिरबाट घेरेको छ । महानताको छायाँ पनि मुस्किलले भेटिन्छ, जबकि इतिहासले यो माटोलाई विश्वलाई शान्ति, ज्ञान र त्यागको पाठ सिकाउने महामानवहरूको जन्मस्थल बनाएको छ ।
सोमबार राजधानीमा जेनजी रिभोलुसन नेपालले दिएका विचारले यही पीडादायी यथार्थलाई नयाँ कोणबाट उजागर गरे । उनको तिखो प्रश्नले पूरै देशलाई आत्मचिन्तनतर्फ धकेलेको छ ।
अदभूत महान् मानिसहरू यही माटोमा जन्मिएका छन, तर समाज किन दिनहुँ कुरूप र दिशाहीन बन्दै छ ? यो प्रश्नले नेपालको सामाजिक-राजनीतिक संरचनामाथि गहिरो बहस छेडेको छ । इतिहासमा महान व्यक्तित्वहरू जन्माउने यो देश किन आज नैतिक ह्रास र प्रणालिगत विफलताको शिकार बन्दै छ ? यसको जवाफ खोज्दै समाजलाई जागरणको आह्वान गरेका छाैं । राष्ट्र निर्माणको महान् अभियानमा युवाहरूको मझभुत सामाजिक अभियान ‘जेनजी रिभोलुसन नेपाल’ ले यही ज्वलन्त प्रश्नको जवाफ खोज्दै नयाँ बहसको सुरुवात गरेको छ।
व्यक्ति होइन, प्रणाली नै रोगी
नेपाली समाजको कुरूपता कुनै आकस्मिक दुर्घटना होइन । यो दशकौँदेखिको गलत संरचना, भ्रष्ट नेतृत्व र दबिएको नागरिक चेतनाको परिणाम हो । समस्या नेपाली जनतामा छैन । समस्या राज्यको प्रणालीमै छ,जसले सक्षम र सत्यनिष्ठ मानिसलाई माथि उठ्नै दिँदैन । यही देशले इतिहासभरि हजारौँ अद्भुत चरित्रहरू जन्मायो तर राज्य संरचनाले तिनलाई ठाउँ दिँदैन, सम्मान दिँदैन ।
इतिहासले महानताको उपदेश दिएको यो देश आज राजनीतिक व्यापार, विभाजनकारी स्वार्थ र अनैतिक जीवनशैलीको घेरामा छ । यही पर्दाभित्रको विकृति प्रणालीगत भ्रष्टाचार समाजको वास्तविक कुरूपता हो । महान मानिसहरूका गुण र कुरूप समाजबीचको खाडललाई उजागर गरेको छ । हाम्रो लडाइँ व्यक्ति वा दलसँग होइन, भ्रष्टाचारसँग हो ।
हामी कुनै नेता वा दलविरुद्ध होइनौँ हामी भ्रष्टाचार, अन्याय र अपारदर्शी प्रणालीविरुद्ध छौँ, जब शासन प्रणालीले जनताको आधारभूत आवश्यकता पूरा गर्न सक्दैन, त्यो समाज नशामा लागेजस्तै दिशाहीन बन्छ । गत एक दशकमा आठ पटक सरकार फेरियो, तर जनताका समस्या ज्यूँका त्यूँ छन् । भ्रष्टाचारका ठूला काण्डहरू जस्तैः सन् २०२४ को ललिता निवास जग्गा कब्जा, भिजिट भिसा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १०५ मिलियन डलरको नीतिगत अनियमितता । यी सबैले सत्ता र प्रशासनबीचको गहिरो सिण्डिकेट उजागर गरेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका सूचकहरूले नेपाललाई लगातार विश्वकाे उच्च भ्रष्टाचार जोखिममा राखेकाे छ । जसले सामान्य नागरिकलाई आधारभूत सुविधाबाट बञ्चित बनाएको छ ।
नेपाली समाज किन कुरूप हुँदै गइरहेको छ ?
पाँच यथार्थ
गहन चिन्तनले समाजको कुरूपताको जरा खोतलेको छ । उनले यो विरोधाभाषको कारणलाई पाँच मुख्य बुँदामा समेटेका छन्, जसले नेपालको वर्तमानलाई दर्पणझैं प्रतिबिम्बित गर्छ :
१. भ्रष्ट नेतृत्व र शक्ति केन्द्रहरूको निजी स्वार्थ
नेतृत्व जनताको सेवामा होइन, संसाधन लुट्ने र कुर्सीको व्यापारमा केन्द्रित भएको छ । सार्वजनिक पद व्यक्तिगत सम्पत्ति वृद्धिको माध्यम बनेको छ ।
२. युवा पलायन
राष्ट्रको मेरुदण्ड विदेश धकेलिँदै । प्रतिवर्ष हजारौँ क्षमतावान युवा देश छाड्छन् । आशा यहाँ मर्छन्, सपना परदेशमा बिक्छन् । राष्ट्रको भविष्य बनाउनुपर्ने पुस्ता श्रम बजारमा समाप्त हुन्छ । बेरोजगारी चरम बिन्दुमा छ । रेमिट्यान्स जीडीपीको एक चौथाइभन्दा बढी छ र दुई मिलियनभन्दा बढी युवा प्रत्यक्ष वैदेशिक रोजगारीमा छन् । विद्यार्थीहरूको पलायन सन् २०१४ देखि २०२४ सम्म चार गुणा बढेको छ ।
३. सामाजिक नैतिकताको ह्रास
अफवाह, हल्ला र गलत सूचनाको संस्कृतिले नैतिक चेतनालाई विषाक्त बनाएको छ । सोशल मिडियामा झुटा समाचार, घृणाको प्रवाह र विभाजनकारी विषयवस्तु छरपस्ट भएको छ ।
४. न्याय प्रणालीको पतन
अपराधीहरु स्वतन्त्र छन्, पीडितहरु विवश छन् । चिनजानको मूल्य हुने देशमा कानुनको शासन कागजमा मात्र सिमित छ । चिनजानकै मूल्य हुने देश महान् रहन सक्छ ?
५. शिक्षाको राजनीतिक दासत्व
विद्यालयदेखि विश्वविद्यालयसम्म राजनीतिक दलको नियन्त्रण छ । शिक्षा होइन, वफादारीको व्यापार भइरहेको छ । शैक्षिक संस्थाहरू ज्ञानको मन्दिर नभएर राजनीतिक कार्यकर्ता उत्पादनका कारखाना बनेका छन् ।
यी कारणहरूले महान् व्यक्तित्वहरू जन्माउने यो देशमा प्रणालिगत समस्याले नैतिक मूल्य हराउँदै गएको छ ।
GenZ परिवर्तनको विस्फोटक शक्ति
हाम्रै नेतृत्वमा सन् २०२५ सेप्टेम्बरमा सुरु भएको ‘जेनजी रिभोलुसन’ अहिले इतिहासको निर्णायक क्षणको प्रतिक बनिसकेको छ । यस आन्दोलनले सत्ताको स्वरूप नै हल्लाइदियो । विश्वविद्यालयबाट सुरु भएको महान् जनक्रान्तिको अभियानले सामाजिक सञ्जालहरू जस्तै इन्स्टाग्राम, रेडिट, टिकटक र एक्समार्फत युवाहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाए । सरकारले जनताका आधारभुत कुराहरु पूरा गर्न नसक्दा, सरकार नीतिगत रुपमा भ्रष्टाचारमा चुर्ल्लुम डुब्दा त्यसविरुद्ध आवाज उठाउँदा सरकारले सामाजिक सञ्जालहरू प्रतिबन्ध लगायो । त्यसले थप आन्दोलन चर्कियो । हामी सरकारमा को बस्छ भन्ने होइन, प्रणाली कत्तिको जवाफदेही र पारदर्शी हुन्छ भन्नेमा केन्द्रित छौँ ।
यो राजनीतिक परिवर्तन मात्र होइन, मौन पुस्ताको आत्मचेतनाको विस्फोट हो । हामी राष्ट्र पुनर्निर्माण गर्दै छौँ, नयाँ सरकारसँग मिलेर।
जेनजी रिभोलुसनबाट जे भयो, त्यो इतिहासमा कहिल्यै भएको थिएन र दोहोरिन सक्दैन । त्यस्लाइ संस्थागत गर्न सबै लाग्नु पर्नेछ ।
यो आन्दोलन सडकको आवाज मात्र होइन, यो नयाँ नेपालको घोषणापत्र हो । यसले नेपालको पहिलो महिला प्रधानमन्त्रीलाई सत्तामा ल्याएको छ, तर चुनौतीहरू धेरै छन् । जेनजी समितिले सरकारको दक्षता अनुगमन गर्ने र वाचडगको रूपमा काम गरिरहेको छ ।
नयाँ राष्ट्रिय पुनर्जागरणतर्फको यात्रा
जेनजी रिभोलुसन नेपालले अगाडि सारेका प्रस्तावहरू:
– पारदर्शी र जवाफदेही शासन प्रणाली-प्रत्येक निर्णय र खर्च सार्वजनिक हुनु पर्न
– युवाका लागि देशमै अवसर पलायन रोक्न योग्यतामा आधारित रोजगारी हुनु पर्ने
– शिक्षा, रोजगारी र नेतृत्वमा आमूल सुधार—दलीय नियन्त्रणमुक्त शिक्षा हुनु पर्ने
– दल स्वार्थभन्दा माथि नागरिक हित राष्ट्रिय हित सर्वोपरि
– नैतिक पुनर्जागरण र सामाजिक सद्भाव सत्य र न्यायमा आधारित समाज
यी दिशाहरूले युवालाई देशमै अवसर सिर्जना गर्दै नैतिक पुनर्जागरणको बाटो देखाउने छन् । युवा पिँढीले मात्र यसलाई बदल्न सक्छ तर यसका लागि नागरिक जागरण र सुशासन अनिवार्य छ । देशलाई परिवर्तन गर्न पहिले कुरूपताको मुटु कहाँ छ, त्यो पत्ता लगाउनुपर्छ । कारण भेटिएपछि समाधान कठिन छैन । नेपालको इतिहासमा अनेक आन्दोलनहरू आए र गए तर दिगो परिवर्तन कमै भयो । अब प्रश्न एउटै छ के युवा पुस्ता आफ्नो देश पुनः महान् बनाउन उठ्नेछन ?
यदि यो पुस्ता साँच्चै उठ्यो भने, सत्य, न्याय र सुशासनले नेपाललाई फेरि उज्यालो युगतर्फ डोर्याउनेछ । बुद्धको करुणा, अरनिकोको सृजनशीलता र पृथ्वीनारायण शाहको दृष्टि फेरि जाग्नेछ । परिवर्तनको समय आएको छ । प्रश्न अब उठ्ने हो कि नउठ्ने ? महानता माटोमा होइन, मानिसको कर्ममा हुन्छ । र कर्म तब उदात्त हुन्छ, जब प्रणाली न्यायपूर्ण हुन्छ ।
– शाही, जेनजी रिभाेलुसन नेपालका सह-सयोजक हुन् ।


अर्जुन शाही





