लेखक : जातीय संस्कृतिका अन्वेषक , पदम श्रेष्ठ
हुने विरुवाको चिल्लो पात, उखान त्यसै बनेको होईन । यो मान्छे भविष्यमा केहि न केहि बन्छ भन्ने कुराको संकेत अपबाद बाहेक वालककालमा नै देखिसकेको हुन्छ प्रायः । यस्तै उदाहरणिय ब्यक्तित्वहरुमा पर्नुहुन्छ ,देविका बुढाथोकी पनि । सिर्जनसिल क्षमता नै सफलताको कडि हो, भन्ने आदर्शलाई आत्मसात गरेको नेपाली माटो नाउँको हस्तकला संस्थाका संस्थापक तथा महिला उद्यमी महासङ्घका अध्यक्ष देविका बुढाथोकीले उक्त कुरा सावित गर्नुभएको छ ।
उहाँ सानैदेखि गाउँघर वरिपरी खेर गईरहेका घाँस , पराल , कुरो वा केहिपनि सामग्रीलाई रचनात्मक ढङगले उपहारका सामग्री बनाएर आयश्रोतको माध्यम बनाईराख्ने स्वभावका हुनुहुन्थ्यो । यसै सिलसिलामा पाँच वर्ष अगाडि थाकलको घाँसले बुनेको व्याग बोकेर चीन जाँदा त्यो ब्यागको चीनमा ठुलो परिणममा अर्डर पाउनु भयो , त्याहाँबाट अर्डर लिएर फर्कन सफल त हुनुभयो तर एक्लैले त्यो अर्डर उत्पादन गर्न सक्ने सवालपनि भएन । अनि हाम्रो देशमा केहि न केहि काम गरी आयआर्जनगरी आत्म निर्भर हुन चाहने महिलाहरुको सङयापनि थुपै देख्नुभयो ।
सानैदेखि सिपका काम गर्न रुचाउनुहुने महिला उद्यमी बुढाथोकीले मकैको खोस्टा , परालबाट बन्ने जुत्ताको उपयोग गरी हातैले कलात्मक ढङ्गले बुनेका नौलो सामग्रीबाट विदेशी समेत आकर्षित हुने गरेकोपनि पाउनुभयो । उहाँले थाह पाउनुभयो कि, उत्पादन र बजारलाई समन्वय मात्र गर्न सकिएमा थुप्रै बेरोजगार महिलाहरुको आफनै हातमा आवश्यक खर्च दिलाउन सकिन्छ । यहि सोचलाई अगाडि बढाउने उदेश्यका साथ देविका बुढाथोकीले नेपाली माटो नाउँको संस्था खोली ऐच्छिक महिलाहरुलाई तालिम र उत्पादित हस्तकला तथा कृषि सामग्रीको विदेशमा बजारिकरण गर्न थाल्नुभयो ।
उहाँ अर्थात उद्यमी देविका बुद्धाथोकीले धेरै पढ्नु भएको छैन् तर उहाँ भित्रको केहि गर्ने रचनात्मक चाहनाबाट एक हजार जनाभन्दा बढी उद्यमी महिलाहरुको नेतृत्व गर्न सक्षम हुनुभएको छ । हाल स्थानिय कच्चा पदार्थबाट बनेका झोलाको वार्षिक दस लाख वटाको माग भएपनि करिब एक लाख वटा मात्र निर्यात गर्न सकेको उहाँले बताउनुहुन्छ ।
झोला बन्न थालेको तीन वर्षमै चीन र अष्ट्रेलियालगायतका देशबाट ठूलो परिमाणमा माग भईरहेको तर मागे जत्ति दिन नसकेको संस्थापक बुढाथोकी बताउँनुहुन्छ । त्यस्तो झोलाको माग पुरा गर्न नसक्नुको प्रमुख कारण भने झोला बनाउने जनशक्तिकै अभाव र हातैले बनाउनुपर्ने भएकोले उत्पादनका लागि समय लाग्नु र सामानको गुणस्तर कायम गर्नुपर्दा पनि हो भन्नुहुन्छ– उहाँ ।
रोजगारीका लागि नेपाली महिला दिदीवहिनी विश्वका थुप्रै देशमा पुगेर सङ्घर्ष गरिरहनुभएको छ तर घरमै बसेर दैनिक १८ सयसम्म कमाउन सकिने सिपको काममा ध्यान पुगेको छैन–उहाँ भन्नुहुन्छ । प्रतिव्याग ६सय रुपियाँ व्याग बनाउनेले पाउँछन्, दक्ष र लगनसील महिलाले प्रति दिन ३ वटा बनाउन सक्छन् । तर मसिनो गरी मेहनत गर्नुपर्ने भएकोले सिपको काममा भन्दा ज्यालादारी वा जागिरमै रमाउने प्रवृत्ति नेपाली महिलामा बढि पाइएको उहाँको अनुभव छ । उहाँले नेपाली माटो संस्थाको केन्द्र ग्वार्को तेता स्टुप नेर ऐच्छिक महिलाहरुलाई १५ दिने निःशुल्क थाकलको ब्याग बनाउने तालिमपनि दिदै आईरहनुभएको छ । महासङ्घका अध्यक्ष बुढाथोकीले तराईक्षेत्रमा थारु समुदायले बुन्ने गरेको ढकी, डालोको बनावटमा नयाँ डिजाइन भर्दै झोलामा परिणत गरेको प्रयास सफल भएको बताउनुहुन्छ ।
:सामग्री निर्माणका लागि कच्चा पदार्थ –
नेपालका पहाडी तथा तराई क्षेत्रमा खेर गइरहेका गाई, भैंसीलाई खुवाउने मकैको खोस्टा,पराल, सिक्की, थाकल, पटेर र काँसलाई सुकाएर तातो पानीमा डुवाएपछि झोलालगायतका रिजनल ह्याण्डिक्राप्टले निर्माण गर्ने कच्चा पदार्थ तयार हुन्छ, जुन खोला किनार, वनजङ्गल, खेतबारीमै पाइन्छ ।
उहाँले गाउँ घर जङगलमा त्यसै खेर गईरहेको थाकल काटेर मात्र दिएपनि प्रति के.जि. मा किनेर हस्तकलाको उत्पादनमा सहभागिता बढाउँदै आईरहनुभएको छ ।
गाउँमा खेर गईरहेको थाकललाई संकलन र प्रवद्र्धन मात्र गरिदिने हो भनेपनि घरायसी महिलालाई दुईचार रुपियाँको कहिल्यै खाँचो नहुने अभियान नै थालिएको बताईन्छ । महिलाको लागि मात्र अभियान चलाउनुको कारण बारे उद्यमी देविका भन्नुहुन्छ , पुरुष त प्रायः घर ब्यवहारको लागि बाहिर बाहिरै पुग्नु पर्ने तर घरको सुकेधन्दा देखि बाल बच्चा घर परिवारसम्म हेरचाह महिलाको थाप्लोमा पर्ने भएको हुँदा फुर्सदमा काम गर्न सक्नेगरी महिलालाई प्रार्थमिकता दिईएका हौं तर केहि गरी थाकलको व्याग बनाउने ईच्छा भए त्यसमा खासै छेकबार नभएको बताउँनुहुन्छ ।
:महिलालाई घरमै रोजगारी-
बुढाथोकीले पाँचजना महिलाबाट सुरु गर्नुभएको त्यस्तो झोला बनाउने पेशामा ३५ जिल्लाका १४ सय जना सहभागी छन् , भने रिजनल ह्याण्डिक्राप्टले सीप विकास प्रतिष्ठान, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायतको सहयोगमा तालिमहरु सञ्चालन गरी झोलालगायत अन्य ह्याण्डि क्राप्टका सामग्री बनाउने जनशक्ति तयार गरिरहेको छ ।
१५ दिनदेखि एक महिनासम्मको तालिमपछि उक्त सामग्री बनाएर स्वरोजगार हुन सकिन्छ । साथै २५ जनाको समुह तयारी पारी त्यस्तो सिप सिकाउन माग भए सो संस्थाले प्रशिक्षकहरु उपलब्ध गराउँदै आएको छ ।
रिजनल ह्याण्डिक्राप्टले स्थानिय कच्चा पदार्थको प्रयोग गरी झोला, चकटी, पिरा, व्याग, पर्स, गलैंचा, ह्याट, पेन होल्डर, खुत्रुकेलगायतका सामग्री बनाउन तालिम दिनुका साथै बनेका सामग्रीको बजारीकरणमा सहयोग गर्दै आएको छ । त्यस्ता सामग्री निर्माणका लागि तालिम दिन सक्ने ३५ जना दक्ष प्रशिक्षक तयार भइसकेको उहाँले बताउनुभयो ।
नेपाली ह्याण्डिक्राप्टका सामग्रीको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेको कारण सरकारले शिक्षालाई सिपसँग जोड्दै उद्यमी बन्न प्रेरित गर्ने नीति लिने हो भने स्वदेशमै प्रसस्त रोजगारी सृजना हुने उहाँको भनाई छ । गत वर्ष रिजनल ह्याण्डिक्राप्टले एक करोड ४६ लाख रुपियाँको निर्यात गरेको थियो ।