नेपालभाषा (नेवार भाषा )मा बालाजु क्षेत्रलाइ ‘ ल्हुति ’ भनिने गर्दछ । ल्ह्वों ति ( ढुंगाको रस ) बाट अपभ्रंश हुँदै ल्हुति नामांकरण हुन गएको जानकार तथा पुराना पुस्ताको भनाइ छ । इतिहास विध प्रा.डा.भगवानदास मानन्धरका अनुसार बालाजु, वाईसधारामा कुनै समयमा भित्ताका ठूल्ठूला ढुंगाका कापबाट पनि निरन्तर पानी बगिरहन्थे । झ्वाट्ट हेर्दा ढुंगाबाट नै पानी रसाएर आएको जस्तो देखिन्थ्यो । त्यसैले ल्ह्वों ती (ढुंगाको रस) भन्न थालियो । र, कालान्तरमा ल्ह्वों ती हुँदै ल्हुति हुन गयो ।
बालाजु पानी नै पानीले भरिएको स-सानो कुण्ड भएको ठाउँमा राजा प्रताप मल्लले विष्णुको ठूलो मुर्ति स्थापना गर्नु भयो । भगवान विष्णुलाई ईण्डियामा बालाजी पनि भनिन्छ । त्यसैले यहाँ हाम्रै नेपाली शैलीमा बालाज्यू भन्न थालियो । वि.सं.२०२२ सालको नापी तथा पुराना सरकारी कागजातमा बालाज्यू नै लेखिएको देख्न सक्छौं । हिन्दि भाषामा जी, नेपालीमा ज्यू भने जस्तो नेवाःमा जु । नेवाःको बाहुल्यता भएकोले बालाजु हुन गयो । पछि भानुभक्त आचार्यले बालाजुको वर्णन गर्दै कविता लेखेपछि सबैले बालाजुलाई चिन्न र बुझ्न थाले । प्रचारप्रसार पनि व्यापक भए । ” यति दिन पछि मैले आज बालाजि देख्याँ, पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ। ” बाईसधारा पानी नै पानीले भरिएको मनमोहक ठाउँ भएकोले तत्कालिन राजा जयप्रकाश मल्लले तान्त्रिक सिद्धिबाट २१ धारा बनाउनु भयो । तान्त्रिक सिद्धिमा २१ अंकको ठूलो महत्त्व हुन्छ । लहरै २१ धाराको सुन्दर बगैँचा देखे पछि राजा रणबहादुर शाहले पुछारमा १ धारा थपेको पनि भनिन्छ । त्यसो त बिचको ठूलो धारा राजा रणबहादुर शाहले थपेको भनिन्छ जुन पुष्टि हुने आधारा भने देखिदैन । १ धारा थपिएपछि २२ धाराको नामले प्रचलित हुन थाल्यो । तान्त्रिक सिद्धि अनुसाार २१ धारा बनाएको ठाउँमा राजा रणबहादुर शाहले किन र कसको निर्देशनमा १ धारा थपे ? महेन्द्रपार्क थानकोटमा राजा त्रिभुवनको नाममा पार्क बनाए जस्तै बाईसधारालाई पनि राजा महेन्द्रको सम्झनामा महेन्द्रपार्क बनाउने प्रयास भएको देखिन्छ । राजा महेन्द्र र रानी रत्न राज्य लक्ष्मी देवी शाहको शालिक पनि बनाईएको छ । तर, महेन्द्रपार्क वा महेन्द्र उद्यान भनेर कमैले मात्रै चिन्दछन् ।
महेश्वर मानन्धर लेखुनु हुन्छ –
समुद्र सतह भन्दा ६३३० फितको उचाईमा बालाजु संगै अवस्थित जामाच्व: (नागार्जुन पर्वत ) जुन समयमा काठमाडौं दहको पानी सुक्दै जान थाले पानी मुनीका जीवहरू देखिन थाले । ती मध्ये नागराज पनि हुन् । नागराजलाई आकाशमा उड्दै गरेको चिलले देखे पछि छोड्दै छोडेनन् । आफ्नो ज्यान जोखिममा परेपछि नागराज हारगुहार गर्दै ल्हुतिबाट जामाच्व: मा रहेको तपस्वी बुद्धको शरणमा गए । तपस्वी बुद्धले नागराजलाई बचाई दिए । त्यसैले यसैको स्मरणमा ल्हुति (बालाजु) पुन्हिका दिन बाईसधारामा मुख धोएर वा नुहाएर जामाच्वः जाने प्रचलनको शुरूवात भएको मानिन्छ ।
जामाच्वः मा अहिले पनि एउटा रूख मुनि सानो मन्दिर छ, जहाँ बेला बेलामा सेतो नाग आएको सुन्नमा आउँछ, भन्ने जना बिस्वास कायेमै छ । काठमाडौं भित्र छोटो हाईकिङ जानू पर्दा जामाचो नै प्रायः सबैको रोजाइमा पर्छन् । जामाचो बारे धेरैले यात्रा वृतान्त पनि लेखे । फोटो खिचे । sharing गरे । कमैले कविता पनि कोर्न भ्याए । तिब्वतबात आएका तपस्वी, बौध अनुयायी महामञ्जुश्री काठमाडौँ खाल्डो पानीले भरिभराउ बिशाल दह हुँदाको समय आफ्नो दुई श्रीमती मोक्षदा र वारदा सहित नेपाल आएपछि यहाँका चारवटा डाँडालाई विशेषरूपमा छानेर बसेको भनिन्छ । १. जामाच्वः ( नागार्जुन ) २. धिलाच्वः ( चम्पादेवी ) ३. चपुच्वः ( शिवपुरी ) ४. पुलच्वः ( फुलचोकी )
महामञ्जुश्री ले जामाच्वः मा बसेर काठमाडौँ उपत्यका पानीले भरिएको कालिनागदहको रुपमा रहेको बेला पानि सुकेको खण्डमा मानव बसोवासबारे सम्भाव्य अध्यन गरेको भनिन्छ । धिलाच्वः पर्वतमा बसेर ध्यान गर्नु भयो । चपुच्वः ( शिवपुरी )मा बसेर किताब लेख्नु भयो । पुच्वः ( फुलच्व्की) मा बसेर सम्भावित अध्ययन गर्नु भयो । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन बालाजुबाईसधारा तथा जामाच्वः मा मेला लाग्छ भने बाँकि तीन ठाउँमा बैशाख १ गते मात्रै मेला लाग्छ । बालाजु मा मात्रै किन फरक समयमा मेला लागेको हो ? अध्ययन कै विषय छ ।
जामाच्वः ( नागार्जुन )मा पुगेर मान्धरले केहि तस्बिरहरु खिच्नु भएको छ –