
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको निर्देशनमा अभियान्ताहरुलाई सांघातिक हमला भएको खुलेको छ । बुधबार राजधानीको संवाद डबलीमा पीडित युवाहरुले पत्रकार सम्मेलन गरि पालिकाभित्रै आफूहरुलाई काँग्रेसका ५०÷६० जना कार्यकर्ताहरुले कुटपिट गरी घाइते बनाएको जनाएका छन् ।
गत महिना असार २२ गते आइतबारका दिन ‘बेथिति एवं भ्रष्टाचारविरुद्ध अभियान’का राजु सुनार, आदर्श क्षेत्री र गोविन्द आचार्यलगायतका अभियान्तामाथि मेयर रिसालको निर्देशनमा हमला भएको पीडित । सो दिन वडा नं. ६ स्थित अर्थोपेडिक अस्पतालले कानुन विपरित लिँदै आएको पार्किङ शुल्क हटाउनुपर्ने माग राखि पालिका प्राङ्गणमा धर्ना बसेका युवाहरुलाई मरणाशन्न हुनेगरी कुटपिट गरेको पीडित युवाहरुले बताए ।
कुटपिटबाट घाइते भएका आदर्श क्षेत्रीले गोकर्णेश्वर नगरपालिकामा हुने भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरुले विगत २ वर्षदेखि निरन्तर खबरदारी गर्दै आएको र हरेकपटक अबरोध हुने गरेको पनि बताए । क्षेत्रीले गलत भयो भनेर खबरदारी गर्दा आफूहरुविरुद्ध काँग्रेसका कार्यकर्ताहरु परिचालित हुने गरेको बताउँदै भने, “मेयर साबसँग हामीले न्यायको लागि माग राख्दा उहाँ काँग्रेसी गुण्डाहरु परिचालन गरेर हातपात गर्नुहुन्छ । यसपटक पनि गुण्डा परिचालन गरेर हामीलाई घाईते बनाएपछि मेयरले नै एकदुई जना नमारी भएको छैन भन्नुहुन्छ, के यो देश तानाशाहाहरुले चलाएका छन् ?” क्षेत्रीले भने ।
अर्का अभियान्ता राजु सुनारले देशमा लोकतन्त्र आएको भनिए पनि मेयर रिसाल जस्ता मान्छेहरुले त्यसको चिर हरण गरिरहेको आरोप लगाए । सुनारले गत वर्ष असारमा मेयर रिसालकै योजनामा झुठा मुद्धा लगाएर हिरासत भोग्नु परेको स्मरण गर्दै भने,“सुशासनका लागि लड्दा पोहोर हामी १३ दिन हिरासत बस्नु परेको थियो, यो सालमा गुण्डा परिचालन गरेर सांघातिक आक्रमण गरे, के उनि राजा हुन् ?”
उनिहरुले आफ्नो अभियानलाई कोही कसैको धाकधम्कीले रोक्न नसक्ने बताउँदै, यदि आगामी दिनमा पनि यस्ता अवाञ्छीत कार्य भए सहेर पनि नबस्नेत चेतावनीसमेत दिए ।
मेयर रिसाल र उनका अनुयाईहरुले बारम्बार आफूहरुमाथि हमला जारी राखेको तथा पछिल्लो समयमा सांघातिक आक्रमण गरेकाले नेपाल सरकार तथा गृहमन्त्रालयसँग शान्ति सुरक्षाको मागसमेत गरेका छन् ।