
सुर्खेत । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी निर्माण र सुदृढीकरणका विषयमा पार्टीको स्थायी समिति बैठकमा गम्भीर र व्यापक बहस भएको बताएका छन्।
गृहजिल्ला रुकुम जाने क्रममा सुर्खेतमा केही समय बिताएका नेता शर्मासँग भेट गर्न आएका स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीको वर्तमान अवस्था, सांगठानिक सुदृढीकरण र आगामी रणनीतिसम्बन्धी जिज्ञासा व्यक्त गरेका थिए। ती जिज्ञासाको जवाफ दिँदै नेता शर्माले स्थायी समिति बैठकमा आत्मसमीक्षा र आलोचनाको सकारात्मक वातावरण बनेको उल्लेख गरे।
“पार्टी निर्माण र सुदृढीकरणका विषयमा गहिरो छलफल भएको छ, बैठकले संगठनलाई जनमुखी बनाउने दिशामा सशक्त मार्गनिर्देशन दिएको छ।” शर्माका अनुसार बैठकमा विभिन्न विषयमा स्थायी समिति सदस्यहरूले फरक–फरक धारणा राख्दै खुलेर विचार प्रस्तुत गरेका थिए। उनले पार्टीले हाल जनस्तरसम्म सांगठानिक सुदृढीकरण अभियान तीव्र बनाउनुपर्ने निष्कर्षमा बैठक पुगेको जानकारी पनि दिए ।
प्रभाकरले पछिल्लो समय माओवादी केन्द्रभित्र देखिँदै आएको आन्तरिक मतभेद र असहमतिको विषयमा खुलेर प्रश्न उठाउने संस्कृतिको विकास हुनु सकारात्मक रहेको बताउँदै,आलोचना र आत्मआलोचनाको आधारमा नेतृत्वले कार्यशैली सुधार गर्दै गएको धारणा राखे।
“पार्टी निर्माणको विषय उठायो भनेर पार्टीमा आरोप–प्रत्यारोप गर्ने परिपाटी अब अन्त्य भएको छ, अब सहकार्य, समालोचना र संगठन सुदृढीकरणमै केन्द्रित हुने समय आएको छ।” उनका अनुसार पार्टीको स्थायी समिति वैठकले सांगठानिक एकता, नीति परिमार्जन र स्थानीय स्तरसम्म पहुँच विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे।