
काठमाडौं । प्रदेश १ लाई कोशी नामाङ्कनको विरोधमा कोशीमा चलिरहेको आन्दोलनलाई ९वटा आदिवासी राजनीतिक दलहरुको गठबन्धनले समर्थन गर्ने जनाएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी कोशी नाम खारेज गरी पहिचानसँग जोडिएको नाम नराखे देशव्यापी आन्दोलन चलाउने चेतावनी दिएका छन् ।
खम्बुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष आर.के खम्बूले १ नम्बर प्रदेशको नाम कोशी नामाकरण हुनु त्यहाँका आदिव ासी जनताको पहिचानमाथि धाबा बोल्नु समान भएको धारणा राखेका छन् । जनताले आफ्नो पहिचान गुमाएको महशुस गर्नु र त्यसको प्रतिबाद गर्नु स्वभाविक रहेको बताउँदै भने, “जनताले सो नामलाई शान्तिपूर्ण तरिकाले अस्वीकार गर्दा राज्यले बल प्रयोग गरेर हत्या नै गर्नु त गलत भयो नि, त्यसको ठूलो मुल्य चुकाउनु पर्छ ।” ‘ठूलो त्याग र बलिदानबाट प्राप्त पहिचानको उपलब्धिलाई वर्तमान शासक–प्रशासकहरुले योजनाबद्द तबरले त्यसलाई कमजोर बनाइएको हामीलाई सह्य छैन ।’ अध्यक्ष खम्बुले अगाडी भने ।
त्यसैगरी नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा.विजय सैजुले कोशीमा चलेको आन्दोलनमा आफूहरुको पूर्ण सहमति रहेको बताउँदै, देशमा बहु–पहिचान सहितको संघियता लागू हुनुपर्ने बताए । “पहिलेको राज्य पुर्नसंरचना समितिले ल्याएको नेवा, तामाङ, खम्बुवान,लिम्बुवान, मगरात,तमुवानलगायत १४ पहिचान सहितको संघियताको लागि लड्ने बेला आएको छ ।” सैजुले अगाडी भने ।
राष्ट्रिय ताम्सालिङ पार्टी अध्यक्ष बुद्धराज लामाले स्थानिय जनताको भावना र मर्म विपरित भएको नामाकरणमा पुनर्विचार गर्नुपर्ने बताउँदै भने,“हामीलाई जातिवादी, बिखण्डनकारी लगायतका आरोप लगाएर पहिचानका मुद्धाहरु कमजोर बनाउने कोशी हामीलाई स्वीकार्य छैन ।”
मगरात राष्ट्रिय पार्टी नेपालका अध्यक्ष इन्द्रबहादुर मगरले कोशी नामाकरण खारेज नगरिए कोशीमा सल्किएको आगो देशभरी फैलिने चेतावनी दिए ।
सो पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरुले चैत ५ गते विराटनगरमा प्रहरी दमनबाट पदम बहादुर लिम्बुको मृत्यु भएको भन्दै मृतक लिम्बुलाई सहिद घोषणा गरिनु पर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसमेत राखेका छन् । प्रदेश १ मा प्रदेशको नाम पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको संघर्ष तथा आन्दोलनमा नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, बहुजन शक्ति पार्टी,थारुवान–थारुहट संघर्ष समिति, राष्ट्रिय ताम्सालिङ पार्टी नेपाल, खसान राष्ट्रिय संघर्ष समिति, मगरात राष्ट्रिय पार्टी नेपाल, लिम्बुवान पार्टी नेपाल, तमुवान राष्ट्रिय पार्टी नेपाल गरेर नौवटा आदिबासी राजनीतिक दलहरुको गठबन्धनले समर्थन दिएको बताए ।