
काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’ ले ल्याएको आगामी आर्थिक बर्षको बजेटको सकारात्मक प्रभाव पर्न थालेको छ । पहिलो पटक नेपालबाट सिमेन्ट र फलामे डन्डी भारत निर्यात सुरु भएको छ । पाल्पा ब्राण्डको तानसेन सिमेन्ट भएपछि श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी भारत निकासी सुरु भएको हो ।
बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको छ । अर्थमन्त्री प्रभाकरले व्यपार घाटा कम गर्न र नेपालमा उत्पादित सिमेन्ट र डन्डी भारतीय बजारमा पुर्याउन बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेका थिए । सोहीअुनसार नेपालकै इतिहासमा पहिलोपटक नेपाली सिमेन्ट र फलामे डन्डी भारत निकास श्री स्टिलले डन्डी निकासी गरेको हो ।
श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र पाएपछि उद्योगबाट पहिलोपटक छड निकासी गरेको बताए । उनले भारतको नौतनवास्थित एक फर्मलाई आज एक ट्रक पठाएको जानकारी दिए । कच्चा पदार्थ भारतबाट ल्याएर भारतमै निकासी गर्न सम्भव नभएको तर सरकारले नगद अनुदानको व्यवस्था गरेपछि निकासी सम्भव भएको उनले बताए । भारतबाट नै स्पन्ज आइरन ल्याएर छड उत्पादन गरिँदै आएको छ । ४५० डलरमा किनेको स्पन्ज छड प्रोसेसिङ गरी ७५० डलरमा बिक्री हुँदै आएको छ ।
झन्डै १५ महिनापछि बिएसआई प्रमाणपत्र आयो जसले निकासीको बाटो खुलेको अग्रवालले बताउँदै अग्रवालले अन्य उद्योगले पनि निकासीका लागि प्रक्रिया अगाडि बढाएकाे जानकारी पनि दिए । उनले नेपालको लागि गौरवको काम भएकाे बताउँदै सरकारले चाँडै कार्यविधि बनाउनु पर्ने बताए । रुपन्देहीको रोहिणी गाउँपालिका ९३ सेमरहवास्थित श्री स्टिल्स प्रालिले केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा टिएमटी छड उत्पादन गर्दै आएको छ।
कम्पनीले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको छ । जुन भूकम्प र अग्नि प्रतिरोधात्मक मानिन्छ । आकार र तौलमा एकरुपता श्री स्टिल्सका विशेषता हुन्।
प्रतिघन्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक आठ सय सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टन्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड हो। एक खर्बको छठ निर्यात गर्ने क्षमता उद्योगको छ ।
बलियो र गुणस्तर निर्माणसँगै सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित उद्योगले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार उद्योगले आफ्नो उत्पादन अर्को देश अर्थात् भारत निर्यातको शुभारम्भ गरेको छ ।
प्रभाकर उर्जामन्त्री भएकै बेला नेपालमा लाेडसेडिङ अन्त्य भएकाे थियाे भने अहिले अर्थमन्त्री भएकै बेला निर्यातमा पनि क्रमभंग भएकाे छ । यसले नेपालकाे व्यपार घाटा कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अर्थविदहरू बताउँछन् ।