आज :

विजयको खुशीयाली मनाउन नपाउँदै पोखरा महानगरका मेयर धनराज तनावमा, आयोगले स्पष्टीकरण सोध्यो

  • अनलाइन डबली

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । विजयको खुशीयाली मनाइरहेका आचार्यको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो । उनले निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनेर आचार्यले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

मेयर आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भनी अभिव्यक्ति दिएका थिए ।

आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंको अभिव्यक्तिहरु नगर प्रमुख जस्तो जिम्मेवार जनप्रतिनिधिलाई सार्वजनिक मञ्चमा बोल्न असान्दर्भिक र अशोभनीय देखिन्छन्, तपाईंलाई निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिह्न कसरी राखिन्छ भन्ने जानकारी छ, छैन ? मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ?’

दल र सरोकारवालाहरुको सहमति तथा विज्ञहरुको राय समेतको आधारमा मतपत्रको डिजाइन भएको र २०७४ सालदेखिको अभ्यास यसपालि समेत प्रयोग गरेको भन्दै निर्वाचन आयोगले मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी विरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिएको कारण स्पष्टीकरण सोध्नु परेको आयोगले बताएको छ ।

‘विज्ञ टोलीको सिफारिसमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णय करार गरी व्यक्तिगत दूराग्रह राखी आक्षेप लगाउन मिल्छ, मिल्दैन ?’ प्रश्न सोधेको आयोगले कानून बमोजिम बदर भएको मतलाई आयोगको बदनियतले बदर भएको भनी पुष्ट्याई गर्ने आधार, प्रमाण र कारण मागेको छ ।

आम नागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई आयोगको निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाएको भन्दै आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । आयोगको स्पष्टीकरणसँगै आचार्य तनावमा परेको बताइएको छ । यो विषयले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि तनावमा परेको एक नेताले बताए ।

को हुन् धनराज आचार्य ?

वि.स.२०२६ साल चैतमा कास्कीको भरतपोखरीमा जन्मिएका आचार्य सानै उमेरबाटै कास्की जिल्लाबाट राजनीतिमा सक्रिय हुदै हाल आएर नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला अध्यक्ष हुन ।
एमाले टुक्रिँदा माधव नेपाललाई साथ दिएका आचार्यको कम्युनिस्ट यात्राले चार दशक पूरा गरेको छ । २०३९ सालमा विद्यालयमै अनेरास्ववियु प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका आचार्य क्याम्पस पढ्न पृथ्वीनारायण क्याम्पस छिरेपछि उनको राजनीतिक हिँडाइको गति बढेको हो ।

२०४४ सालमा एमाले निकट अनेरास्ववियु प्रारम्भिक कमिटी पृथ्वीनारायण क्याम्पस पोखराबाट उनी अझ सक्रिय भएर कम्युनिस्ट आन्दोलनमा लागेका हुन् । त्यहीँबाट आचार्य राजनीतिमा अझ निखारिए । २०४५ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष बने ।

विद्यालय, क्याम्पस, जिल्ला हुँदै २०४८ सालमा धनराज अनेरास्ववियु गण्डकी अञ्चल अध्यक्ष चुनिए । २०४९ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बने । त्यही वर्ष उनी स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को पृथ्वीनारायण क्याम्पस कोषध्यक्ष बने । तीन वर्ष कोषाध्यक्ष बनेका उनी २०५१ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सभापति चुनिएका थिए । स्ववियुको जिम्मेवारी लिइरहँदा २०५० देखि २०५४ सालसम्म संगठनकै पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य भएका थिए ।

०४५ सालमा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याहृावन विरुद्ध आन्दोलनबाट गिरफ्तार भएका उनी २ वर्षसम्म जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहेर समेत काम गरेको बुझिन्छ ।
राजनीतिसँगै उनी व्यावसायिक संगठनमा पनि सक्रिय रहे । २०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुखको जिम्मा पाएका थिए ।

२०६४ देखि २०६९ सम्म नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको फ्रयाक्सन सचिव बनेका थिए । २०६९ देखि २०७४सम्म एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष भए । त्यहीबीच २०७१ देखि २०७६ सम्म नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, २०७१ देखि २०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र २०७५ देखि २०७८ सालसम्म नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य थिए ।

२०७७ सालको अन्तिममा एमालेभित्रको विवादले देशभर समानान्तर गतिविधि भए । सुरुमा कतै नखुलेका आचार्य पछि माधव नेपालले थालेको समानान्तर गतिविधिमा संलग्न भए । २०७७ चैतमा समानान्तर कमिटीको अध्यक्ष बनेका उनी नेकपा ९एकीकृत समाजवादी० स्थापनादेखि एमालेबाट अलग भएका छन् ।

राजनीतिसँगै व्यवसायलाई पनि अघि बढेका उनी व्यवसायमा पनि सफल रहे । पुस्तक पसलबाट व्यवसाय सुरु गरेका आचार्य उनी अहिले प्रकाशन गृह नै चलाइरहेका छन् । २०५१ सालमा स्वयिवु सभापति हुँदा ‘हेल्लो स्टेसनरी’ थियो ।

उनी लायन्स क्लबमा पनि सक्रिय थिए । २०१२र१३ मा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ को क्याबिनेट सेक्रेटरी, २०१७र२०१८ मा त्यही डिस्ट्रिक्टको गभर्नर भएका थिए ।

४५ देशको भ्रमण गरेका आचार्य स्वर्गीय नेता रवीन्द्र अधिकारीका अत्यान्तै नजिकका साथी थिए अहिले गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनेका छन्। एमबीए र एमएड सम्म शिक्षा हासिल गरेका आचार्य पोखराका कुशल प्रभावशाली नेता मानिन्छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal