आज :

‘राजनीतिक पार्टीहरूले बाल अधिकारलाई चुनावी प्रतिवद्धतामा समेट्नुपर्छ’

  • अनलाइन डबली

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत भएको बताएकी छन् । मन्त्री रेग्मीले विहीबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै बालबालिकालाई सानैदेखि राजनीतिक कुरा सिकाउन आवश्यक नभएको समेत बताए ।

“राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत र गैरकानूनी कार्य हो । यसमा राजनीतिक पार्टी र उम्मेदवारले ध्यान दिनुपर्छ । सानैबाट बालबालिकालाई राजनीतिमा लगाउन आवश्यक छैन” मन्त्री रेग्मीले भनिन् । बालबालिकालाई विद्यालयस्तरबाटै मनोवैज्ञानिक कुरा सिकाउन आवश्यक रहेको भन्दै मन्त्री रेग्मीले बालबालिका गलत बाटोमा जाँदा देश नै गलत बाटोमा जाने बताइन् । बालबालिकालाई जन्मेदेखि ७ बर्षसम्म विशेष स्याहार आवश्यक रहेको बताउँदै बालगृहमा राख्दा मानसिक र शारीरीक रुपमा ठूलो असर पर्ने बताइन् ।
कार्यक्रमा बोल्दै मन्त्री रेग्मीले आमा बुबा र अभिभावक नभएका बालबालिकाको लागि बालगृहको स्थापना भएको भएपनि त्यो लागु हुन नसकेको बताइन् । उनले खोज तलास, बालगृह र सुधार गृहको स्पष्ट परिभाषासँगै नीति बनाएर लागु पर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री रेग्मीले आफूले जिम्मेवारी समालेपछि नियमावली परिमार्जन गर्न पहल गरेको बताउँदै अब मन्त्रिपरिषदबाट पारित हुने जानकारी समेत दिइन् । कर्मचारीतन्त्र असहयोग र बजेट अभावका कारण आफूले सोँचेअनुसार ऐन, नियमको काम अगाडि नबढेको मन्त्री रेग्मीले बताइन् । उनले आफ्नो मन्त्रालयले समन्वय गर्दै नीतिगत सुधार गर्दै अगाडि बढेको जानकारी समेत दिइन् । उनले बाल अधिकार राजनीतिक पार्टीले आफ्नो चुनावी प्रतिवद्धतामा समेट्नु पर्ने बताइन् ।

कार्यक्रममा बोल्दै आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकालले राजनीतिक पार्टीले आफ्नो प्रतिवद्धताबाट पछि हटेर चुनावमा बालबालिका प्रयोग हुँदै आएको बताए । यसपटक बालबालिका चुनावमा प्रयोग गर्न नदिन मन्त्रालयले पहल गर्नुपर्ने उनले बताए । बालबालिका मतदाता नभएकै कारण राजनीतिक पार्टीले बाल अधिकारलाई आफ्नो चुनावी प्रतिबद्धता वा एजेण्डा नबनाएको बताए ।
बालबालिका ओसारपसारको अवस्था गम्भीर भएको बताउँदै ढकालले स्थानीय सरकारले अभिभावकत्व लिनुपर्ने धारणा राखे ।

सिविनका कार्यक्रम निर्देशक कुमार भट्टराईले बालबालिका राष्ट्रिय गौरव भएको बताउँदै निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नहुनेमा जोड दिए । उनले चुनावमा बालबालिका प्रयोग गैरकानूनी भएको बताउँदै त्यो नगर्न राजनीतिक पार्टीलाई आग्रह समेत गरे । यसअघिका चुनावअघि राजनीतिक पार्टीले बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता जाहेर गरेपनि कार्यान्वन नभएको बताउँदै भट्टराईले भने, “चुनावमा बालबालिकाको प्रयोग गैरकानूनी हो । यसअघिका चुनावमा राजनीतिक पार्टीले आफ्नो प्रतिवद्धताबाट पछि हटेर बालबालिका प्रयोग गर्दै आएका छन् । यसपटक नहोस् भनेर सबै राजनीतिक पार्टी र नेताहरुको ध्यानाकर्षण गराइरहेका छौं ।”

बालबालिका राष्ट्रिय गौरवको विषय बनाउनु पर्ने बताउँदै भट्टराईले राजनीतिक पार्टीको चुनावी प्रतिवद्धतामा बाल अधिकारलाई छुटै खण्डामा राख्नुपर्ने बताए । सिविनले चुनावअघि बालबालिकाको संरक्षणको लागि सबै राजनीतिक पार्टी वा नेताहरुको ध्यानाकर्षण गराइरहेको छ ।

हिमाली नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बालबालिका परिवारबाट अलग राख्दा मानसिक समस्या समेत देखा परेको भन्दै आमा बाबु भएका बालबालिका समेत बालगृहमा राखिएको बताए । उनले उक्त कार्यलाई निरुत्साहित गर्दै बालबालिकाको स्थानीय सरकार अभिभावक बन्नुपर्नेमा जोड दिए ।

आफ्नो संस्थाले बालबालिका ओसारपसार गर्ने कार्यलाई रोक्ने र परिवारसँगै बास्ने बातावरण बनाउन पहल गरिरहेको समेत लामाले बताए । कानुन भएपनि बालगृह संचालकले पालना नगरेको भन्दै सरकारले अनुगमन गर्नुपर्नेमा उनले जोड दिए ।

किपिङ फ्यामिली टुगेदरका संयोजक भविन्द्र राईले बालबालिका देशका खम्बा भएको बताउँदै राजनीतिक पार्टीले बाल अधिकारलाई चुनावी प्रतिवद्धतामा राख्नुपर्नेमा जोड दिए ।

अधिवक्ता समेत रहेका राईले बालबालिकालाई बालगृह अन्तिम बिकल्प भएको बताउँदै राईले अभिभावकसँग बस्नु पाउनुपर्ने बालबालिकाको अधिकार भएको बताए । गरिबी र अभावका कारण बालबालिका बालगृहसम्म पुग्ने गरेको बताउँदै सरकारले अभिभावकलाई आत्मनिर्भर बनाउन पर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । देशभर ११ हजार बालबालिका बालगृहमा रहेको बताउँदै देश अनुकुल मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।

एक्सेस नेपालकी बाल संरक्षण अधिकृत रोमिला गौतमले बालबालिका विद्यालय शिक्षबाटै बंचित हुनु परेको बताउँदै स्थानीय सरकारले अभिभावकत्व लिनुपर्ने बताइन् । अभिभावक हुँदाहुँदै बालबालिका बालगृहमा ल्याउनु हुँदैन भन्ने जनचेताना आवश्यक रहेको बताइन् । उनले चुनावमा बालबालिका प्रयोग नगर्न राजनीतिक पार्टीलाई आग्रह समेत गरिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal