काठमाडौँ । बीस बर्षपछि फेरि सत्तामा आएका तालिबानबारे जानकारीको लागि सबभन्दा उनीहरु को हुन् र कसरी जन्मिए ? भन्ने कुरा बुझ्नुपर्छ । तालिबानको अर्थ विद्यार्थी भन्ने हुन्छ ।
अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको मानिन्छ । मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए ।
तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति–सुरक्षा पुनर्स्थापित गर्ने र शरिया कानुन लागु गर्ने वाचा ग¥यो । सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे । त्यसको ठिक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे । उनी सुरुमा सोभियत सङ्घको विरोधमा दस्ता तयार गर्ने संस्थापकमध्येका एक थिए ।
सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरे । सम्झौताअनुसार सोभियत सेना फिर्तापछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे ।
भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले तालिबानलाई लोकप्रियता बनायो । तर, तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिए । हत्यारा तथा व्यभिचारीहरूलाई मृ.त्युदण्ड दिने र चोरका हात काटिदिने, नियम लागु गरे । उनीहरूको शासनकालमा पुरुषले दाह्री पाल्नुपथ्र्यो भने महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनु पर्ने बाध्यकारी कानुन थियो । अहिले तालिबानीहरुले त्यसलाई समाज सुहाउँदो बनाउने बताएका छन् ।
लोकप्रियतासँगै तालिबानहरूले केही उत्ताउँला कार्य पनि गरे । जस्तो टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान नदिने । यस्तै शासन चलिरहेको थियो । सन् २००१ मा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सत्ताच्युत गर्यो ।
खासगरी ११ सेप्टेम्बरको घटनाको मुख्य दोषी भन्दै अमेरिकाले ओसामा विन लादेनलाई बुझाउन अफगानको तालिबान सरकारलाई भन्यो । तर, अफगान सरकारले त्यो मानेन् । अमेरिकाले अल कायदालाई शरण दिएको भन्दै अफगानिस्तानमा हमला गरेर कटपुतली सरकार गठन गरायो ।
तालिबानलाई सत्ताबाट हटाएपनि उसको जनतासँगको पकड कायमै थियो । त्यसैले दुई दशकसम्म निरन्तर लडिरह्यो । अमेरिकाले तालिबानीलाई पूर्णरुपमा परास्त गर्न नसकिने निष्कर्ष निकाल्दै आफ्ना सेनालाई फिर्ता बोलाउने निर्णय गर्यो ।
अमेरिकी नेतृत्वको सेनासँग लड्दैगर्दा तालिबानले कतारमा कार्यालय खोल्यो । त्यो भन्दा पहिले सन् २०१८ मा तालिवान र अमेरिकाबीच शान्ति वार्ताको वातावरण बनेको थियो । सन् २०२० को फेब्रअरीमा दुई पक्षबीच कतारको दोहामा एउटा शान्ति सम्झौता भयो । शान्ति सम्झौतालेअफगानिस्तानबाट अमेरिकी फौजको फिर्ती र तालिबानले उनीहरूमाथि आक्रमणहरू नगर्ने प्रतिबद्धता जनायो ।
सम्झौतामा तालिबान नियन्त्रित क्षेत्रहरूमा अल–कायदा अथवा अरू समूहलाई सञ्चालनमा आउन नदिने र राष्ट्रिय शान्ति वार्ताको प्रक्रियालाई अगाडि बढाउने रहेका थिए । तर त्यसयता तालिबान लडाकुहरूले अफगान सुरक्षा फौज र सर्वसाधारण नागरिकलाई तारो बनाउने क्रम जारी राखेका छन् ।
पश्चिमा देशको प्रत्यक्ष उपस्थितिले अफगान हैरानी भइसकेका थिए । त्यसैले उनीहरुले तालिबानीलाई साथ दिँदै आएका थिए । शान्ति वार्तालाई कार्यनीति बनाएको तालिबानीले भित्रभित्र सैन्य संगठन सुदृढ गराउँदै लग्यो । वार्ता गरेर अमेरिकी सेना प्रत्यक्ष भिड्न आउन रोक्न सफल तालिवानीहरु जनसहभागितासहित अगाडि बढे । छोटै समयमा पुनः सत्तामा पुगे ।
यो क्रममा तालिबानीहरुले धेरै शिर्ष नेताहरु गुमाएका छन् भने अमेरिकी हमलाका कारण हजारौं अगफान नागरिक मारिएका छन् । तरपनि नथाकेर लडेका तालिबानीहरु २० वर्ष अफगानिस्तानको नेतृत्व गर्ने अवस्थामा पुगेका छन् ।
तालिबानीहरुलाई सदाको लागि पत्तासाप गर्ने भन्दै अफगानिस्तानमा हमला गरेको अमेरिकाले अन्ततः आफैले धुलो चाटेर फिर्ता भएको विश्लेषण भएको छ ।