आज :

बिर्सनै नसकिने नाम: इञ्जिनियर पूर्णबहादुर रोकाया

 

मैले पत्याएकै छैन¸ इञ्जिनियर पूर्ण बहादुर रोकायाले हामीलार्इ छोडेर जानुभयो । सामाजिक सञ्जालमा आफन्तजन र भाउजुले भावपूर्ण शव्दका साथ पोष्ट गरेका तस्वीर हेर्दा म विवश छु कि यो कुरा स्वीकार्न ।

तर अझै पनि पत्यार लागेको छैन । नेपाली फिल्म रामकहानीमा जस्तै तपार्इसित सपनामा भेट भयो । सिमकोटको त्यो भेटमा तपार्इ र अदानसिंह रावत दाजु लामो मुढाको आगो तापीरहनु भएको थियो । म पुग्दा पूर्ण दाजुले भन्नुभयो– तपार्इले भनेपछि ताराले मान्छ । भेटेर भन्नुहोला ।

कुरा नबुझेकाले म अलमलिएँ । उहाँले पुन: भन्नुभयो– हो क्या डा. साव¸ तपार्इले भन्दा ताराले मान्छ ।

जसरी भाउजुले हुम्ला जाँदा नेपालगञ्ज एअरपोर्टमा एउटा उद्यम गर्न चाहेको तर दाजुले अनुमति नदिएकाले मलार्इ भनीदिनोस् न बाबु¸ हजुरले भनेको दाइले मान्नु हुन्छ भने जसरी भन्नुभयो।

निद्रा खुल्यो । सपनामा पनि दाजुको आत्मीयता देखेँ ।

जतिखेर पूर्णबहादुर दाजु विरामी हुनुहुन्थ्यो¸ त्यो बेला दुर्इ पटक फोनमा कुराकानी भयो । उहाँलार्इ बाँच्छु भन्ने आँट थियो । बरु मलार्इ आफु समेत र सुरक्षित रहनुहोला भनी सुझाव दिनुभएको थियो । भेरी अस्पतालको बेडमा हुँदा भाउजुको मोवाइलमा दुर्इ पटक स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र आत्मवल बढाउन केही कुरा गरेको थिएँ । भाउजुका अनुसार दाजुले टाउको हल्लाउनुभयो भन्ने सुनेको हुँ ।

तर वैशाख २५ गते दिउँसो ११ वजे कम्प्युटर खोल्दा सबैले श्रद्धाञ्जली दिइरहेको देख्दा स्तब्ध भइयो । केही दिनअघि राजनीति शास्त्रका गुरु प्रा.डा. गोपाल शिवाकोटीको निधनले मन विक्षिप्तै थियो । त्यसमा यो पीडा थपियो ।

भाउजुलार्इ यो दु:ख परेको बेला भेट्न जानपर्ने । भेट्न जानका लागि दिपक¸ देवकी र म तयार भयौ । तर गाडी लिएर जान कसैले पनि मानेन । मान्छेप्रति भन्दापनि रोगप्रति मान्छे निकै डराउँछन् । निशेधाज्ञा जारी छ । धेरै पीडाबोध हुने रहेछ– यस्तो बेला भेट्न नसक्दा । प्राकृतिक प्रकोपले एक प्रकारले मानवता हराएजस्तो  बनायो ।

दोस्रो जनआन्दोलन सफल भएपछि हामी वर्दियाको गाउँबाट नेपालगञ्ज शहर छिरेका थियौ । धम्बोजीमा प्रेस राखेर जनसन्देश दैनिक र पुष्पलाल चोकमा जनआवाज रेडियो स्थापना गरी सञ्चालनमा ल्याएका थियौ । त्यसै समयमा एक दिन धम्बोजी चोकमा एक्कासी भेट भयो । त्यो हाम्रो पहिलो भेट थियो ।

म नेपालगञ्जमा रहँदा धेरै पटक दाजुले आफ्नो घरमा बोलाउनुभयो । भाउजु र देवकी पूर्वका छोरी हुनुले दुर्इ बहिनीको कुरा मिल्दथ्यो । हाम्रो पनि कुरा मिल्दथ्यो– हुम्लाको¸ उछिढुङ्गे रोकाया र एउटै विचार समूहमा रहेकाले ।

मैले कैलाश लामा दाजुबाट पूर्ण दाजुको बारेमा जानकारी पाएको थिएँ । त्यो जानकारी दिने आधार सिमकोटमा २०४८ सालमा स्थापित हाम्रो पसल हो । यस पसलले हुम्लामा कम्युनिष्ट विचार फैलाउन सहयोग गरेको थियो । मान्छेहरु भन्थे¸ यही सामान अरु पसलमा यतिमा पाइन्छ भने हाम्रो पसलमा यति रुपैयाँ सस्तोमा पाइन्छ । कम्युनिष्ट हुनु र नहुनुको फरक यही हो भनी सबैले भनेको सुन्थ्ये । मैले पनि यही पसलबाट कयौ पटक आवश्यक सामान किनेको थिएँ । पसलमा गोठी निवासी विष्णुकला शाही बस्नु हुन्थ्यो । उहाँलार्इ हामीले संभावित महिला नेतृको रुपमा हेर्दथ्यौ । यसै पसलको प्रभावले २०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चा नेपालबाट छक्कबहादुर लामाले प्रतिनिधिसभाका लागि जित्नु भएको थियो ।

हाम्रो पसलका प्रमुख सञ्चालक मध्ये उहाँ एक हुनुहुन्थ्यो । यस्तै यस घर्तीमा हामीलार्इ छोडेर गइसक्नु भएका आदाणीय दाजु कैलाश लामा र सञ्चार अप्रेटर मामा तुलमान ऐडी पनि सञ्चालक हुनुहुन्थ्यो ।  एवं प्रकारले इन्जिनियरद्धय जीवन बोहरा र ज्वालाराज शाही हुनुहुन्थ्यो । उहाँहरुले यसरी हुम्लामा कम्युनिष्ट विचारलार्इ सहकारी मार्फत व्यवहारिक रुप दिन खोजेकाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली काँग्रेसको सरकारलार्इ सही सक्नु भएनछ ।

परिणामस्वरुप उल्लेखित नाम भएका सबैलार्इ देशका विभिन्न ठाउँमा सरुवा गरिएको थियो । त्यतिबेला कैलाश लामालार्इ जुम्ला¸ जीवन बोहरालार्इ सुर्खेत¸ तुलमान ऐडीलार्इ नेपालगञ्ज¸ पूर्ण बहादुर रोकायालार्इ पूर्व खोटाङ सरुवा गरिएको थियो । त्यही क्रममा देवी ऐडीलार्इ पूर्व धनकुटा¸ अंगलाल रोकाया र ज्वालाराज शाहीलार्इ काठमाडौ सरुवा गरिएको थियो । यी सबै जना इन्जिनियर थिए । सरकारले उहाँहरुलार्इ तितरवितर गरेपनि मैले उहाँहरु झनै स्थापित भएर जिल्लाको पहिचान दिन सफल हुनु भएको पाएको छु ।

इञ्जिनयर पूर्णबहादुर रोकायाले पूर्व खोटाङ पुग्दा सरकारले खटाएको काम गर्नुका साथै आफु अझ पूर्ण हुनका लागि ताराकुमारी खत्रीसँग माया प्रिती लगाउनु भएछ । अन्तत: त्यो पिरती विहेमा परिणत भएपछि पूर्ण–ताराले दुर्इ फूल उमार्नुभयो । ती फूलहरु देशको राजधानी काठमाडौ मात्र होइन¸ विश्वकै एक नम्वर शक्तिशाली देश मानिने अमेरिकासम्म फूलिरहेका छन् । उहाँ बाँके र वर्दियामा कार्यरत हुँदा हुम्ली सेवा समाजमा पनि क्रियाशील हुनुहुन्थ्यो ।

पूर्णबहादुर रोकाया हुम्ला सिमकोट निवासी हुनुहुन्थ्यो । उहाँ २०१८ पुस १४ गते जन्मनु भएको थियो । सिमकोटबाट जागिरे जीवन शुरु गरेर सिमकोट पूर्वाधार विकास कार्यालयको पहिलो कार्यालय प्रमुख भर्इ अवकाश पाउनु भएको थियो ।उहाँको जीवन साधा थियो । बम्हले देखेको कुरा सिधै बोल्नु हुन्थ्यो । हिम्मतिलो हुनुहुन्थ्यो । यसैले कसैसँग झुकेको देखेनौ ।

आँखामा राख्दा कहिल्यै नबिज्याउने क्रान्तिचेत भएका इन्जिनियर पूर्णबहादुर रोकाया काममा प्रतिबद्ध हुनुहुन्थ्यो । नेपालगञ्जमा हुँदा होस् वा काठमाडौ हुँदा हामीहरुबीच बरोबर फोनवार्ता र भेटघाट हुन्थ्यो । पछिल्ला वर्षहरुमा म सुर्खेत केन्द्रित भएको छु । उहाँ सुर्खेत आएपछि भेट्न आइहाल्नु हुन्थ्यो । डा. साव¸ समय छ भेट्न आउछु भन्ने गर्नुहुन्थ्यो । उहाँले हुम्लाका धेरै पूर्वाधारका कामहरु अगाडि बढाउनु भएको थियो । ती कामहरु अहिले उहाँका सहकर्मी देवी ऐडीहरुले पुरा गर्दै हुनुहुन्छ ।

हामी बाँचेकाहरु अचेल अरुलार्इ बुझाउन्या मन¸ आफु क्यालार्इ रुन्छइ ?” भन्ने अवस्थामा छौ । सम्झना ताजै छन्– हामीहरु २०७६ सालको साउन पूर्णिमा मेला हेर्न नेपालगञ्जबाट सँगै सिमकोट गएका थियौँ । भोलिपल्ट हेलिकोप्टरबाट भ्यु दुला¸ दुधे दह¸ थुम¸ न्यारी  हुँदै रादेउको थारीमा टेकअप गरेका थियौँ । कहिलेकाँही यी कुरा सम्झदा जीवन सपना होजस्तो पनि लाग्दछ । यस्ता धेरै छन्¸ पूर्णबहादुर  दाजुसँगको उठवस¸ सहयोग र सदभावका कुरा । मेरो नजरमा पूर्णबहादुर रोकाया एउटा भुल्नै नसकिने व्यक्तित्व हो ।

“पापी कोरोनाको कारण मेरो जीवनको आधा अंग गुमाउन बाध्य भएको छु । मेरो हजुर लाख कोशिस गर्दा पनि मैले हजुरलार्इ बचाउन सकिनँ । हरपल मिस गरेको छु । भगवानलार्इ नि अलिकति दया लागेन । कलिलो उमेरमा जोडी छुटाउनुभयो । सदाको लागि एक्लो महसुस गरेकी छु …।” तारा भाउजुले मुटु टुक्रिएको बेला कस्तो हुन्छ ? त्यही भाव लेख्नुभयो । हामी सबै आफन्तको मन छिया छिया भएको छ ।

भाउजु¸ मैले तपार्इको गिती पुस्तकको भूमिका लेख्दा भनेको थिए– ताराले तारा भर्इ चम्किरहनु पर्छ। त्यतिखेर दाजु हुनुहुन्थ्यो¸ सहज थियो । अहिले दाजुले छोड्नु भएको छ¸ तपार्इले दोब्बर दायित्व पुरा गर्नु पर्नेछ । यसैले उहाँका अधुरा सपना पुरा गर्ने संकल्प नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ । तपार्इहरुको दुर्इ फूलजस्ता छोराहरु नै अर्को जुनी हो । त्यो जुनीलार्इ फुलाउने गरी संकल्प गर्नुहोस् । मन दह्रो गर्नुहोस् । कोरोनाले तपार्इलार्इ मात्र होइन¸ यो विश्वलार्इ नै रुवाएको छ ।

यसैले पत्थरमा पिपल पलाएझैँ उद्यमी तथा समाजसेवी तारा रोकाया खत्री कुनै पनि हालतमा ओइलाएको रुपमा हेर्न सक्तैनौ । छोराहरुलार्इ फुलेको र फलेको रुपमा देख्न चाहन्छौ । त्यो वातावरण निर्माण गर्ने दायित्व हामी सबैको हो । कोरोना वैरीले लिएका इञ्जिनियर पूर्णबहादुर रोकायालार्इ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा इष्टमित्रमा गहिरो समवेदना प्रकट गर्दछु ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal