
काठमाडौँ । कम्युनिस्ट आन्दोलनका अग्रव नेतृत्व तथा अभिभावक खम्बासिंह कुँवर ‘काजी बा’ को अन्त्यष्टि गरिएको छ । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित काजीबा को मंगलबार विहान निधन भएको थियो । काजी बाको देवघाटमा हिजै अन्त्यष्टि गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए । प्रचण्डलाई कम्युनिस्ट पार्टीको सदस्यता समेत काजी बाले नै दिएका थिए । काजी बाको निधनप्रति विभिन्न कम्युनिस्ट नेताहरुले दुःख व्यक्त गरेका छन् ।
यसबैची नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले काजी बाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । विप्लवले मंगलबार विज्ञप्ति जारी गरेर ‘काजी बा’ को निधनले पार्टीलाई स्तब्ध बनाएको बताएका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनको उत्थान र विकासमा आजीवन समर्पित भई नेपाली कम्युनिस्टहरू माझ एक जुझारु हस्ती र वास्तवमै अटल खम्बाको रूपमा स्थापित काजी बाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै विप्लवले विज्ञप्तिमा भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेतृत्व एवम् आदरणीय अभिभावक कमरेड खम्बासिंह कुवर ‘काजी बा’ को निधनले हामी स्तब्ध भएका छौँ । वि.सं. १९८४ सालमा लमजुङमा जन्मनुभएका क. खम्बासिंह वि.सं. २०११ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध हुनुभयो र काजी बाको रूपमा कम्युनिस्ट आन्दोलनको उत्थान र विकासमा आजीवन समर्पित हुनुभयो । क्रान्तिकारी आन्दोलनका अनेकौँ मोडहरू र उच्चताका क्रममा उहाँले महत्वपूर्ण नेतृत्वदायी र प्रेरणादायी अभिभावकत्व प्रदान गर्नुभयो । नेपाली कम्युनिस्टहरू माझ उहाँ एक जुझारु हस्ती र वास्तवमै अटल खम्बाको रूपमा स्थापित हुनुहुन्थ्यो ।’
विप्लवले काजी बाको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा, प्रेरणा र महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै सम्पूर्ण शोेकमग्न परिवारजनप्रति आत्मीय समवेदना प्रकट गरेका छन् ।
काजी बाको पार्थिक शरीरमा पार्टीको झण्डा ओडाउन चितवन पुगेका प्रचण्ड निकै भावुक बन्दै अभिभावक गुमाएको बताए । प्रचण्डले भावुक हुँदै भनेका थिए, ‘कम्युनिस्ट आन्दोलनमा धक्का लागेका बेला उहाँको अवसान निकै पीडादायी भएको छ, शोकलाई शक्तिमा बदल्नुपर्छ भनेझैं लोकतान्त्रिक आन्दोलनका लागि भएको प्रतिगमनको घातक प्रवृत्तिविरुद्ध लड्ने प्रेरणा मिल्छ भन्ने लागेको छ।’
(नेकपा)का केन्द्रीय सल्लाहकार कुँवरको ९४ वर्षीय काजी बा २०११ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए । २०१८ देखि पूर्णकालीन कार्यकर्ता भएर कम्युनिस्ट आन्दोलनमा सक्रिय भएका थिए । २०२२ सालमा चितवनमा प्रगतिशील पार्टी बनाएर अन्यय अत्याचारविरुद्ध संघर्ष सुरु गरेका थिए।
२०३१ सालमा भारतको गोरखपुरमा भएको चौथो महाधिवेशन नेकपा (चौम) को उक्त महाधिवेशनबाट बनेको पाँच सदस्यीय पोलिटब्युरो सदस्यमध्ये एकजना काजी बा थिए । उनले साबिक नारायणी, गण्डकी र लुम्बिनी अञ्चलको जिम्मेवारीसमेत सम्हालेका थिए।
जनयुद्धको बेला काजी बा पनि भूमिगत भएर प्रचण्डलगायतका नेताहरुलाई राजनीतिक तथा रणनीतिक सल्लाह समेत थिएका थिए । प्रचण्डले २०३३ सालमा गोरखाको आरुघाटमा पढाउँथे। नेकपा (चौम)को प्रशिक्षण कार्यक्रममा प्रशिक्षक रहेका तत्कालीन गण्डकी अञ्चल इन्चार्ज कुँवरले प्रचण्डलाई पार्टीको सदस्यता दिएका थिए।
विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । विसं २०१५ मा चितवन झरेका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सुम्पिएका थिए ।
विसं २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहेका उनी त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी निर्मल लामालगायतका नेतासँगै न्यूक्लियस सङ्गठन गरेर सङ्गठन विस्तारमा लागेको उनी जीवित हुँदै बताएका थिए ।
विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहेका उनले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गरेका थिए ।
विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकको प्रशिक्षण कार्यक्रमबाट पार्टी सदस्यता पाएका प्रचण्ड कुँवरबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर कम्युनिस्ट पार्टीको पूर्णकालिन कार्यकर्ता भएर हिँडेका थिए ।
वि.सं. २०४८ मा नेकपा (माओवादी) गठन देखि नै काजी बा निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहेर महत्वपूर्ण सुझाव दिँदै आएका थिए । उनका एक छोरा र चार छोरी रहेका छन् । उनी परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आाएका थिए ।
वि.सं. २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो । यस्तै विसं २०६९ मा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो ।
जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उनी नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिएका काजी बा जीवनको अन्तिम घडीमा समेत सच्चा कम्युनिस्ट थिए ।