News Portal

  • सकियो (नेकपा) को सचिवालय बैठक, १० दिनपछि फेरि बस्ने

    डबली संवाददाता२०७७ मंसिर ३ गते
    २३२ पटक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पुनः बस्नेगरी सकिएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि पुनः बस्ने गरी आजको बैठक सकिएको हो ।

    कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमाथि छलफल हुन नसक्ने र त्यस्तो छलफलमा आफू सहभागी नहुने आफ्नो अडानबाट ओली पछि हटेका छन् । मंगलबार प्रस्ताव फिर्ता लिन वा बैठक सार्न प्रस्ताव ओलीले गरेका थिए । तर, प्रचण्डले अस्वीकार गरेपछि ओली अन्ततः बैठकमा सहभागी हुन भएका छन् ।

    ओलीले बैठक स्थगित गर्न बुधबार विहानसम्म पनि कसरत गरेका थिए । समय जुधाएर बोलाएको मन्त्रिपरिषद् बैठक १ घण्टा पछि सारेर एकाएक ओली बैठकमा सहभागी हुने निर्णय पुगेका थिए । यसलाई ओली एक कदम पछि हटेको अर्थमा लिइएको छ ।

    आजको बैठक स्थगित गर्ने तयारी भइरहेको छ । (नेकपा) स्रोतका अनुसार बैठक एक हप्तासम्मको लागि स्थगित गर्न लागिएको हो । बैठक स्थगित गर्ने र प्रस्तावमाथि छलफल नहुने प्रचण्ड र नेता माधव कुमार नेपाल समूहले संकेत गरेपछि ओली बैठकमा सहभागी भएको बताइएको छ ।

    (नेकपा)को विवाद फुट नजिक पुगेपछि ओली र प्रचण्डलाई मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छन् । भण्डारीले हिजो साँझ प्रचण्डलाई बोलाएर छलफल गरेकी थिइन् भने बुधबार विहान प्रधानमन्त्री ओलीलाई बोलाएर छलफल गरेकी छन् । भण्डारीले दुबै नेतालाई मिलेर जान सुझाव दिएको बताइएको छ ।

    त्यसैगरी चिनियाँ राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री ओलीलाई भेटेर छलफल गरेकी थिइन् भने प्रचण्डलाई आजै भेट्ने बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्