बिषय प्रवेश:
नेपालको आधुनिक राजनीतिक र सामाजिक रूपान्तरणको इतिहासमा मंसिर ८ गते एक अविस्मरणीय र दूरगामी महत्त्व राख्ने दिन हो। वि.सं. २०५८ साल मंसिर ८ गतेका दिन तत्कालीन नेकपा (माओवादी) ले छरिएर रहेका आफ्ना छापामार दस्ताहरूलाई एकीकृत गर्दै औपचारिक रूपमा ‘जनमुक्ति सेना नेपाल’ (People’s Liberation Army – PLA) को घोषणा गरेको थियो। यो दिन केवल एक सैन्य सङ्गठनको स्थापना मात्र नभई नेपाली समाजको राजनीतिक, सामाजिक र सांस्कृतिक चेतनामा आएको ठूलो उथलपुथलको एउटा निर्णायक प्रस्थानविन्दु पनि थियो।
१,ऐतिहासिक पृष्ठभूमि र रणनीतिक मोड :
वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको मुक्तिकामी लडाईँ जनयुद्ध २०५८ सालसम्म आइपुग्दा देशव्यापी भइसकेको थियो। तर, मंसिर ८ अघिसम्म माओवादीका कारबाहीहरू साना छापामार समूहमा सीमित थिए र मुख्यतः प्रहरी चौकीहरूमा केन्द्रित थिए। २०५८ मंसिर ८ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सर्वोच्च कमाण्ड र नन्दकिशोर पुन ‘पासाङ’ को कमाण्डमा जनमुक्ति सेनाको औपचारिक गठन भएसँगै द्वन्द्वको स्वरूप र रणनीतिक सन्तुलनमा आमूल परिवर्तन आयो।
सोही दिनको रात दाङको घोराहीस्थित तत्कालीन शाही नेपाली सेनाको ब्यारेक, सोलुखुम्बु र स्याङ्जामा एकैसाथ गरिएका ठूला फौजी कारबाहीहरूले राज्यसत्तालाई गम्भीर धक्का दियो। पहिलोपटक तत्कालीन शाही सेनासँग प्रत्यक्ष भिडन्त सुरु भएसँगै देशको राजनीतिमा शक्ति सन्तुलनको नयाँ अध्याय सुरु भयो।
२,सामाजिक रूपान्तरण र समावेशिताको अभ्यास :
जनमुक्ति सेनाको गठनलाई केवल हतियार र युद्धको दृष्टिकोणबाट मात्र हेर्नु अपूर्ण हुन्छ। यसले सदियौँदेखि राज्यसत्ताको मूलधारबाट पछाडि पारिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई सङ्गठित हुने र आफ्नो अधिकारका लागि आवाज उठाउने मञ्च प्रदान गर्यो। विशेषगरी नेपाली महिलाहरूको सहभागिताले परम्परागत सामाजिक मान्यताहरूलाई भत्काउँदै महिला सशक्तीकरणको नयाँ मानक स्थापित गर्यो। दलित, जनजाति, मधेसी र दुर्गम क्षेत्रका युवाहरूले समानता र आत्मसम्मानको सपना बोकेर यस अभियानमा आफूलाई समाहित गरेका थिए।

३,शान्ति प्रक्रिया र गणतन्त्रको आधार :
मंसिर ८ बाट सुरु भएको जनमुक्ति सेनाको यात्राले अन्ततः देशलाई निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म पुर्याउन निर्णायक भूमिका खेल्यो। २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणसम्मका उपलब्धिहरूको जगमा हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको त्याग र बलिदान जोडिएको छ। शान्ति प्रक्रियापछि जनमुक्ति सेनालाई नेपाली सेनामा भएको समायोजन विश्वकै शान्ति प्रक्रियाका लागि एक मौलिक र सफल उदाहरण बन्यो।
निष्कर्ष:
आज मंसिर ८ को स्मरण गरिरहँदा यो दिनले तत्कालीन संघर्ष, बलिदान र प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्ने दायित्वलाई पुनः स्मरण गराउँछ। व्यवस्था बदलिए पनि आम नागरिकको अवस्था बदल्ने र समृद्ध नेपाल निर्माण गर्ने अधुरा सपनाहरू पूरा गर्नु नै सहिद र योद्धाहरूप्रतिको सच्चा सम्मान हुनेछ। इतिहासको त्यो अविस्मरणीय क्षणले वर्तमान र भावी पुस्तालाई सधैँ न्याय, समानता र अग्रगमनको बाटोमा हिँड्न प्रेरित गरिरहनेछ।
लेखक रेडिम सहिद तुफानका भाई हुन्, जनमुक्ति सेना तुफानको अछाम मंगलसेनको लडाईको क्रममा सहिद भएका थिए ।


राम वहादुर सिंह ‘रेडियम’


