आज :

मंसिर ८ : गौरवशाली इतिहास र रूपान्तरणको जिम्मेवारी

  • एल.बि सुजन

विषयप्रवेश:
इतिहास केवल विगतका घटनाहरूको अभिलेख होइन यो वर्तमानलाई बुझ्ने, परिवर्तनका आधार पहिचान गर्ने र भविष्यको दिशा निर्धारण गर्ने वैचारिक आधार पनि हो। नेपाली राजनीतिक इतिहासमा दसवर्षे जनयुद्ध एउटा यस्तो ऐतिहासिक आन्दोलन हो। जसले नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक संरचनामा गहिरो प्रभाव छोडेको छ।

नेपाली समाजमा लामो समयदेखि विद्यमान वर्गीय शोषण, जातीय विभेद, लैङ्गिक असमानता, क्षेत्रीय उत्पीडन, सामाजिक बहिष्करण र केन्द्रीकृत राज्यसत्ताविरुद्ध परिवर्तनको आकांक्षासहित जनयुद्ध अगाडि बढेको थियो। यसले समाजका उत्पीडित, उपेक्षित र बहिष्कृत समुदायका आवाजलाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याउने काम गर्‍यो।

त्यही ऐतिहासिक यात्राको एउटा महत्त्वपूर्ण दिन हो। मंसिर ८ गते जनमुक्ति सेना नेपालको घोषणा गरिएको दिन थियो । यो केवल एउटा सैन्य संरचनाको औपचारिक घोषणा भएको दिन थिएन ।

यो तत्कालीन राजनीतिक संघर्ष, वैचारिक प्रतिबद्धता, सामूहिक आकांक्षा, त्याग र बलिदानसँग जोडिएको ऐतिहासिक क्षण पनि थियो।

ऐतिहासिक दसवर्षे जनयुद्धलाई बुझ्नु भनेको युद्धका घटना र पात्रहरूको स्मरण गर्नु मात्र होइन। यसको ऐतिहासिक पृष्ठभूमि, वैचारिक आधार, वर्गीय चरित्र, जनसहभागिता, उपलब्धि, सीमा र त्यसले जन्माएका राजनीतिक प्रश्नहरूको वस्तुनिष्ठ समीक्षा गर्नु पनि हो।

यस अर्थमा वर्गीय यात्रा हजारौँ पाइला एउटा व्यक्तिको यात्रा वा कुनै संगठनको इतिहास मात्र होइन। यो हजारौँ मानिसका सपना, संघर्ष, पसिना, आँसु, प्रतिबद्धता र बलिदानबाट निर्मित सामूहिक राजनीतिक यात्राको विम्ब हो।

१) वर्गीय यात्राको ऐतिहासिक आधार :
वर्गीय संघर्ष मानव समाजको ऐतिहासिक विकाससँग अभिन्न रूपमा जोडिएको विषय हो। उत्पादनका साधनमाथिको असमान स्वामित्व, स्रोतसाधनको असमान वितरण, श्रमको शोषण र सामाजिक शक्तिको असन्तुलित संरचनाले वर्गीय विभाजनलाई जन्म दिन्छ। नेपाली समाज पनि लामो समयदेखि सामन्ती सामाजिक संरचना, जमिन्दारी प्रथा, जातीय विभेद, लैङ्गिक असमानता, क्षेत्रीय उत्पीडन र राजनीतिक बहिष्करणबाट प्रभावित रहँदै आएको थियो ।

यही ऐतिहासिक असमानता र उत्पीडनविरुद्ध परिवर्तनको आकांक्षा बोकेर ऐतिहासिक दसवर्षे जनयुद्ध अगाडि बढेको थियो। यसको वैचारिक आधार मार्क्सवाद–लेनिनवाद–माओवाद थियो। वर्गीय मुक्ति, सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाधीनता, जनअधिकार र राज्य संरचनाको रूपान्तरण यसका घोषित राजनीतिक उद्देश्य थियो ।

जनयुद्धले नेपाली समाजमा लामो समयदेखि दबाइएका अनेकौँ प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो। राज्यसत्तामा प्रतिनिधित्व , जातीय तथा क्षेत्रीय पहिचान, समावेशिता, सामाजिक न्याय र अधिकारका मुद्दाहरू राजनीतिक एजेन्डाका रूपमा स्थापित भए। यसले परम्परागत सत्ता संरचना र सामाजिक सम्बन्धहरूमाथि गम्भीर प्रश्न उठायो।
तसर्थ इतिहासको वस्तुनिष्ठ मूल्याङ्कन गर्दा जनयुद्धका घोषित उद्देश्य र बर्गिय दृष्टिकोण जनताको महान यात्रामा अभिव्यक्त भएका परिवर्तनका आकांक्षा, त्याग र बलिदानको ऐतिहासिक यात्रा थियो ।

त्यसैले वर्गीय मुक्ति केवल राजनीतिक सत्ता परिवर्तनको विषय होइन। यसको सार आर्थिक समानता, सामाजिक न्याय, श्रमको सम्मान, अवसरको समानता र प्रत्येक नागरिकको सम्मानजनक जीवन सुनिश्चित गर्नु हो। जबसम्म समाजमा शोषण, विभेद र असमानताका संरचना कायम रहन्छन्, तबसम्म वर्गीय मुक्तिको प्रश्न पनि सान्दर्भिक रहिरहन्छ।

२) हजारौँ पाइलाको सामूहिक इतिहास :
कुनै पनि ऐतिहासिक राजनीतिक आन्दोलन एक्लो व्यक्तिको प्रयासबाट निर्माण हुँदैन। त्यसका पछाडि हजारौँ मानिसका पाइला, लाखौँ जनताका आकांक्षा र असंख्य परिवारका अनुभव जोडिएका हुन्छन्। आन्दोलनको वास्तविक शक्ति त्यसमा सहभागी मानिसहरूको सामूहिक चेतना, योगदान र प्रतिबद्धतामा निहित हुन्छ।
दसवर्षे जनयुद्धको इतिहास पनि हजारौँ पाइला र असंख्य योगदानको इतिहास हो। कसैले परिवार र व्यक्तिगत जीवनका आकांक्षा त्यागे, कसैले अध्ययन र रोजगारीका अवसर छोडे, कसैले संगठन निर्माणमा समय र श्रम खर्चिए, त कसैले आफ्नो सम्पूर्ण जीवन आन्दोलनमा समर्पित गरे। अग्रभागमा रहेका योद्धादेखि विभिन्न रूपमा सहयोग र साथ दिने आम नागरिकसम्म सबैको योगदान यस इतिहासको अभिन्न हिस्सा हो।

मंसिर ८ गते जनमुक्ति सेना नेपाल घोषणा गरिएको दिन यही सामूहिक इतिहासको एउटा महत्त्वपूर्ण अध्याय हो। यस घोषणाले तत्कालीन (माओवादी) पार्टीको राजनीतिक आन्दोलनलाई संगठित सैन्य संरचनाका रूपमा अगाडि बढाउने निर्णयलाई औपचारिक अभिव्यक्ति दिएको थियो। विभिन्न सामाजिक, आर्थिक र भौगोलिक पृष्ठभूमिका युवायुवतीहरू यस संरचनामा सहभागी भएका थिए।

त्यस दिनको स्मरण गर्नु भनेको केवल सैन्य संरचनाको इतिहास लाई सम्झिनु मात्रै होइन अर्को क्रान्तिको तयारी र त्यो समयका युवाहरूको सपना, साहस, प्रतिबद्धता, अनुशासन, त्याग र बलिदानलाई सम्झनु पनि हो। उनीहरूले बोकेका परिवर्तनका आकांक्षा र सामाजिक न्यायका प्रश्नलाई आजको पुस्तासम्म पुर्‍याउनु पनि हो।

तर हजारौँ पाइलाको इतिहासलाई कुनै एक व्यक्ति, नेतृत्व वा संगठनको गौरवगाथामा मात्र सीमित गर्न मिल्दैन। इतिहास निर्माणमा योगदान गर्ने सम्पूर्ण योद्धा, समर्थक, सहयोगी र आम जनताको भूमिकालाई उचित सम्मान दिनुपर्छ। त्यसैगरी द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते, विस्थापित तथा सबै पक्षका पीडितहरूको पीडा र न्यायको प्रश्नलाई पनि उत्तिकै संवेदनशीलताका साथ सम्बोधन गर्नुपर्छ।

इतिहासप्रतिको सम्मान तब मात्र पूर्ण हुन्छ, जब त्यसमा योगदान गर्नेहरूको पहिचान, उनीहरूको परिवारको सम्मान र पीडितहरूको न्याय सुनिश्चित गर्ने जिम्मेवारी पनि आत्मसात् गरिन्छ।

३) अधुरा सपना र आजको वर्गीय यथार्थ :
आज मंसिर ८ गतेलाई स्मरण गरिरहँदा एउटा गम्भीर प्रश्न उठ्छ। त्यतिबेला देखिएका समानता, न्याय, मुक्ति र समृद्धिका सपनाहरू कति पूरा भए ।ऐतिहासिक जनयुद्धले उठाएका वर्गीय र सामाजिक न्यायका मुद्दाहरू आजको नेपाली समाजमा कुन अवस्थामा छन्। वर्गीय असमानता अन्त्य भएको छ कि यसले नयाँ स्वरूपमा निरन्तरता पाएको छ। किसानले आफ्नो श्रमको उचित मूल्य पाएका छन्। मजदुरले सम्मानजनक रोजगारी र श्रमको प्रतिफल प्राप्त गरेका छन्। युवाले आफ्नै देशमा भविष्य निर्माण गर्ने अवसर पाएका छन्। दलित, महिला, आदिवासी जनजाति, मधेसी तथा अन्य उत्पीडित समुदायले वास्तविक समानता र सम्मान प्राप्त गरेका छन्।

यी प्रश्नहरू केवल राजनीतिक बहसका विषय होइनन् यी जनयुद्धले उठाएका सामाजिक रूपान्तरणका एजेन्डाको वर्तमान अवस्थासँग सम्बन्धित आधारभूत प्रश्न हुन्।

ऐतिहासिक जनयुद्धले नेपाली राजनीतिमा गणतन्त्र, संघीयता, समावेशिता र सामाजिक न्यायका मुद्दाहरूलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको ऐतिहासिक तथ्यलाई अस्वीकार गर्न सकिँदैन। यद्यपि यी उपलब्धिहरू कुनै एक पक्षको मात्र प्रयासबाट सम्भव भएका होइनन्। विभिन्न राजनीतिक शक्ति, सामाजिक आन्दोलन र नेपाली जनताको लामो संघर्षको संयुक्त परिणामका रूपमा तिनलाई बुझ्नुपर्छ।

राजनीतिक व्यवस्था परिवर्तन हुनु आफैँमा सामाजिक र आर्थिक मुक्ति प्राप्त हुनु होइन। संविधानमा अधिकार लेखिनु र ती अधिकार व्यवहारमा सुनिश्चित हुनु फरक कुरा हो। राज्य संरचनामा प्रतिनिधित्व प्राप्त हुनु र निर्णय प्रक्रियामा वास्तविक पहुँच स्थापित हुनु पनि फरक विषय हुन्।

यहीँनेर वर्गीय यात्राको आजको सान्दर्भिकता जोडिन्छ। हिजो उठाइएका प्रश्नहरू आज पनि जीवित छन् भने तिनको समाधान खोज्नु वर्तमान पुस्ताको जिम्मेवारी हो। विगतका योगदानको सम्मान गर्दै वर्तमानका कमजोरी सच्याउनु, राजनीतिक प्रतिबद्धताको समीक्षा गर्नु अधुरो क्रान्ति र सामाजिक तथा आर्थिक रूपान्तरणका एजेन्डालाई अगाडि बढाउनु आजको आवश्यकता हो।

बलिदानको नाममा प्रश्नहरू दबाउनु होइन; बलिदानले जन्माएका प्रश्नहरूको न्यायपूर्ण उत्तर खोज्नु नै इतिहासप्रतिको सच्चा सम्मान हो। हजारौँ पाइला हिँडेर निर्माण भएको बाटोको सार्थकता त्यसले अन्ततः जनताको जीवनमा कति सकारात्मक परिवर्तन ल्यायो भन्ने आधारमा मापन हुनुपर्छ।

४) स्मरण, समीक्षा र रूपान्तरणको जिम्मेवारी :
इतिहासलाई केवल सम्झनाका रूपमा सीमित राख्नु पर्याप्त हुँदैन। इतिहासबाट शिक्षा लिने, त्यसका उपलब्धिको संरक्षण गर्ने र कमजोरीबाट मुक्त हुँदै अघि बढ्ने चेतना आवश्यक हुन्छ।

आजको पुस्ताले मंसिर ८ गतेलाई केवल विगतको एउटा ऐतिहासिक घटनाका रूपमा मात्र होइन राजनीतिक प्रतिबद्धता र सामाजिक उत्तरदायित्वको पुन स्मरणका रूपमा लिनुपर्छ। यसले हामीलाई वर्गीय मुक्ति र सामाजिक न्यायका प्रश्नलाई आजको बदलिँदो आर्थिक, सामाजिक र राजनीतिक सन्दर्भमा पुनर्व्याख्या गर्न प्रेरित गर्नुपर्छ।

वर्गीय मुक्ति भाषण, नारा र दस्तावेजमा मात्र सीमित हुनु हुँदैन। किसानको उत्पादनले उचित मूल्य पाउनुपर्छ, मजदुरको श्रमले सम्मान पाउनुपर्छ, युवाले अवसर पाउनुपर्छ, महिलाले समान अधिकार र स्वतन्त्रता प्राप्त गर्नुपर्छ। दलित समुदायको आत्मसम्मान र अधिकार सुनिश्चित हुनुपर्छ तथा सीमान्तकृत समुदायले राज्यका सबै संरचनामा समान पहुँच प्राप्त गर्नुपर्छ।

राजनीतिक परिवर्तनलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणसँग जोड्न सकिएन भने परिवर्तनको ऐतिहासिक उद्देश्य अधुरै रहन्छ। त्यसैले वर्गीय यात्राको मूल प्रश्न आज पनि उही छ।समाजमा विद्यमान शोषण, विभेद र असमानताको अन्त्य कसरी गर्ने र जनताको जीवनमा वास्तविक परिवर्तन कसरी स्थापित गर्ने।

यसका लागि बैज्ञानिक समाजवादी क्रान्ति मार्फत जनताको अधिकार, सामाजिक न्याय, जनताको सहभागिता र उत्तरदायी राजनीतिक संस्कृतिलाई केन्द्रमा राख्ने ब्यवस्था नै बैज्ञानिक समाजवादी ब्यवस्था हो।

विगतका अनुभवबाट शिक्षा लिँदै भविष्यको न्यायपूर्ण समाज निर्माण गर्ने बैज्ञानिक समाजवादी क्रान्तिप्रति प्रतिबद्धता नै आजको ऐतिहासिक दायित्व हुन्छ।

निष्कर्ष :
हजारौँ पाइला, अधुरो सपना र निरन्तर यात्रा वर्गीय दृष्टिकोणले केवल एउटा लेखको शीर्षक होइन ।यो नेपाली समाजको ऐतिहासिक अनुभव, राजनीतिक चेतना र रूपान्तरणको सामूहिक आकांक्षाको अभिव्यक्ति हो।

ऐतिहासिक दसवर्षे जनयुद्ध र मंसिर ८ गते जनमुक्ति सेना नेपालको घोषणा गरिएको ऐतिहासिक दिनलाई स्मरण गर्दा हामीले त्यस यात्रासँग जोडिएका हजारौँ योद्धाका सपना, त्याग, संघर्ष र योगदानलाई सम्मान गर्नुपर्छ।

साथै ऐतिहासिक दसबर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएका, घाइते योद्धाप्रति न्याय, सम्मान र संवेदनशीलता प्रकट गर्दछु ।

इतिहासको सम्मान गर्नु भनेको विगतबाट शिक्षा लिनु , उपलब्धिको रक्षा गर्नु, कमजोरी स्वीकार गर्नु र अधुरा प्रतिबद्धता पूरा गर्नु हो।

हिजो हजारौँ पाइला परिवर्तनको एउटा सपनाका लागि अघि बढेका थिए। आज ती पाइलाले बोकेका सपना र आकांक्षाको वस्तुनिष्ठ समीक्षा गर्दै न्याय, समानता, मानव मर्यादा र जनताको सर्वोच्चतालाई केन्द्रमा राखेर भविष्य निर्माण गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी हो।

ऐतिहासिक जनयुद्धले वास्तविक उपलब्धि जनताको जीवनमा आएको सकारात्मक परिवर्तन हो। बलिदानको वास्तविक सम्मान न्यायपूर्ण समाजको निर्माण हो। र वर्गीय यात्राको वास्तविक गन्तव्य सबै प्रकारका शोषण, विभेद, अन्याय र असमानताबाट मुक्त समाजको स्थापना हो।

त्यसैले मंसिर ८ गतेको ऐतिहासिक स्मरण केवल विगतको गौरवगानमा सीमित हुनु हुँदैन। यसले हामीलाई अधुरा क्रान्ति , अपूरा प्रतिबद्धता र वर्तमानका चुनौतीप्रति जिम्मेवार बन्न प्रेरित गर्नुपर्छ।

इतिहासका ती संघर्षशील पाइलाहरू, योगदान र बलिदानप्रति उच्च सम्मान गर्छु।

सम्पूर्ण ज्ञात अज्ञात योद्धा, सहिद, बेपत्ता योद्धा, घाइते योद्धाहरु तथा आम जनताप्रति हार्दिक सम्मान र क्रान्तिको गर्बिलो बाटोमा समर्पित हुन अनरोध गर्दछु ।
एक विचार, हजारौँ पाइला; एक सपना, लाखौँ आकांक्षा , न्यायपूर्ण, समानतामूलक र शोषणमुक्त वैज्ञानिक समाजवादी समाज निर्माणको निरन्तर यात्रामा आम उत्पिडित जनसमुदायहरु एक जुट हौं ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal