आज :

दलीय राजनीतिबाट अलग हुँदै पीडितको न्यायका लागि अभियान चलाउने मनऋषि धितालको घोषणा

  • अनलाइन डबली

काठमाडौं । लेखक, पत्रकार तथा अभियन्ता मनऋषि धितालले अब आफू कुनै राजनीतिक दल वा नेताको स्वार्थ र निर्देशनमा आबद्ध भएर काम नगर्ने घोषणा गरेका छन् । विस्तृत शान्ति सम्झौताको २० वर्ष पूरा भएको अवसरमा सार्वजनिक धारणा व्यक्त गर्दै धितालले आफ्नो आगामी राजनीतिक तथा सामाजिक अभियान द्वन्द्वपीडित नागरिकको सत्य, न्याय, सम्मान र अधिकारका पक्षमा केन्द्रित रहने बताएका हुन् ।

माओवादी आन्दोलनमा क्रान्तिकारी लेखक, पत्रकार र योद्धाका रूपमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै धितालले आफ्नो विगतको राजनीतिक भूमिकाप्रति गर्व रहेको बताएका छन् । आन्दोलनका क्रममा आफ्नो कलमलाई राजनीतिक परिवर्तनको एउटा हतियारका रूपमा प्रयोग गरेको उल्लेख गर्दै उनले उक्त इतिहासलाई लुकाउनुपर्ने विषय नभएको स्पष्ट पारेका छन् ।

तर, वर्तमान राजनीतिक अवस्थाप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै उनले क्रान्तिकारी आन्दोलनको मर्मबाट विचलित भएको कुनै राजनीतिक पार्टीको सदस्यता लिएर वा नेताहरूको व्यक्तिगत स्वार्थमा परिचालित भएर काम नगर्ने बताएका छन् ।

उनले अब आफ्नो प्राथमिकता दलीय राजनीति नभई द्वन्द्वका कारण पीडित बनेका नागरिकको न्याय र अधिकार हुने उल्लेख गरेका छन्। तत्कालीन राज्य पक्ष वा विद्रोही पक्ष जुनसुकैबाट पीडित भए पनि सबै नागरिकको पीडा र न्याय पाउने अधिकार समान रहेको उनको भनाइ छ ।

धितालले पछिल्ला युवा आन्दोलनका विषयमा समेत सत्यको पक्षमा आवाज उठाउने र गलत प्रवृत्तिविरुद्ध बोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आवश्यक परे विगतमा राजनीतिक आन्दोलनका पक्षमा कलममार्फत भूमिका निर्वाह गरेझैँ अब पीडितको न्याय र सम्मानका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेको उनले बताएका छन् ।

तर, कुनै व्यक्ति मन्त्री वा प्रधानमन्त्री बन्ने अथवा आफू कुनै राजकीय पदमा पुग्ने व्यक्तिगत स्वार्थका लागि परिचालित नहुने उनको स्पष्टोक्ति छ ।

उनले आफ्नो निर्णयलाई राजनीतिक यात्राबाट पलायन नभई सामाजिक जिम्मेवारीको फराकिलो नयाँ अध्यायका रूपमा व्याख्या गरेका छन् ।

विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि संक्रमणकालीन न्याय प्रक्रिया पूर्ण हुन नसकेको, बेपत्ता पारिएका व्यक्तिका परिवारले अझै आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेको तथा हत्या, यातना, विस्थापनलगायत द्वन्द्वजन्य पीडाका पीडितले न्याय र परिपूरण प्राप्त गर्न नसकेको विषयलाई उनले गम्भीर रूपमा उठाएका छन् ।

’हामीलाई प्रतिशोध होइन, सत्य चाहिएको छ। द्वेष होइन, न्याय चाहिएको छ। कसैको राजनीतिक स्वार्थ होइन, पीडितलाई सम्मान चाहिएको छ,’ धितालले आफ्नो वक्तव्यमा भनेका छन् ।

शान्ति सम्झौताको वास्तविक मर्म कागजमा सीमित नभई पीडितको जीवनमा अनुभूत हुनुपर्ने धारणा राख्दै उनले अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिन, द्वन्द्वपीडितलाई न्याय दिलाउन र मानवताको पक्षमा उभिन आफ्नो कलम र कर्म समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal