काठमाडौँ । ब्राजिलकाको नयाँ राष्ट्रपतिमा लुइज इनासियो लुला दा सिल्भा निर्वाचित भएका छन् । आइतबार, २५ अक्टोबर २०२६ मा दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुला चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित भएका हुन् ।
मजदुर बस्तीबाट उठेका लुला पार्टी कमजोर भएर देशमा दक्षिक्षणपन्थी राजनीति बलियो भएको बेला पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । लुला ८० वर्षको उमेरमा चुनाव जितेर इतिहास रचेका छन् । त्यस्तै, ब्राजिलको इतिहासमा चारपटक राष्ट्रपतीय निर्वाचन जित्ने पहिलो नेता बनेका छन् ।
यसअघि सन् २००२ र २००६ मा लगातार दुई पटक तथा सन् २०२२ मा तेस्रो पटक उनी निर्वाचित भएका थिए । उनको पछिल्लो जितले ल्याटिन अमेरिकामा दक्षिणपन्थी राजनीतिक शक्तिहरूको प्रभाव विस्तार भइरहेका बेला लुलाको जितले कम्युनिस्ट तथा वामपन्थीहरुलाई उत्साह प्रदान समेत गरेको छ ।
लुलाको जितले गरिबी, सामाजिक न्याय, श्रमिक अधिकार र राज्यको कल्याणकारी भूमिकालाई केन्द्रमा राख्ने राजनीतिक विचार अझै जनताको ठुलो हिस्साका लागि अर्थपूर्ण छ भन्ने सन्देश पनि हो ।
लुलाको जन्म १९४५ अक्टोबर २७ मा ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यको गरिब परिवारमा भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनी बाल्यकालमै आमासँगै साओ पाउलो बसाई सरे । गरिबीका कारण औपचारिक शिक्षा भन्दा पनि किशोरावस्थामै उनले काम गर्न थाले ।
१५ वर्षको उमेरमा उनले प्राविधिक तालिम लिएर धातु कारखानामा काम गर्न थाले । कारखानाको कामले उनको जीवन मात्र होइन, राजनीतिक दृष्टिकोण पनि बदल्यो । सन् १९६४ मा कार्यस्थलमा भएको दुर्घटनामा उनको बायाँ हातको कान्छी औँलाको एक भाग काटियो । यही औँला पछि उनको श्रमिक पहिचान र मजदुर जीवनको प्रतीक बन्यो ।
सन् १९७० को दशकमा उनी साओ पाउलोको औद्योगिक क्षेत्रका मजदुर सङ्घहरूको नेतृत्वमा उदाए । सैन्य शासनअन्तर्गत रहेको ब्राजिलमा श्रमिक आन्दोलन चलाउनु जोखिमपूर्ण थियो । तैपनि उनले राम्रो तलब, श्रमिक अधिकार र राजनीतिक स्वतन्त्रताका लागि आवाज उठाए । सन् १९७९–८० का ठूला हडतालले उनलाई राष्ट्रिय राजनीतिक व्यक्तित्व बनायो । सन् १९८० मा हडतालको नेतृत्व गरेको आरोपमा उनी ३१ दिन जेलमा समेत बसे ।
सन् १९८० मा उनले वर्कर्स पार्टी (पीटी) स्थापनामा महत्वपूर्ण भूमिका खेले । श्रमिक, वामपन्थी बुद्धिजीवी, सामाजिक अभियन्ता र लोकतन्त्रका पक्षधरलाई एउटै राजनीतिक मञ्चमा ल्याउने प्रयासबाट जन्मिएको पार्टीले ब्राजिलको राजनीतिमा नयाँ अध्याय सुरु गर्यो ।
लुलाले सन् १९८९, १९९४ र १९९८ का राष्ट्रपतीय निर्वाचनमा पराजय भोगे । लगातार तीन हारपछि पनि उनले राजनीति छाडेनन् । सन् २००२ मा उनले आफ्नो चुनावी रणनीति बदले, मध्यमवर्ग र व्यवसायीहरूसँग सम्बन्ध विस्तार गरे तथा आफ्नो पार्टीको परम्परागत आधारभन्दा बाहिरका मतदातालाई पनि विश्वासमा लिने प्रयास गरे । अन्ततः चौथो प्रयासमा राष्ट्रपति बने ।
सन् २००३ मा पहिलो पटक राष्ट्रपति बनेपछि लुलाले आफ्नो राजनीतिक दर्शनलाई सरकारी नीतिमा रूपान्तरण गर्ने अवसर पाए । उनको भोकमरी घटाउने, गरिब परिवारको जीवनस्तर उकास्ने, श्रमिकको आय बढाउने र राज्यका अवसरबाट लामो समय वञ्चित समुदायलाई मूलधारमा ल्याउने आफ्नो प्राथमिकतामा राखे ।
लुलाले आफ्नो शासनकालमा बोल्सा फामिलिया नगद सहायता कार्यक्रममार्फत गरिब परिवारलाई आर्थिक सहयोग उपलब्ध गराए । शिक्षा र स्वास्थ्यसँग जोडिएका सर्तसहित सञ्चालन गरिएको यो कार्यक्रम ब्राजिलको सामाजिक सुरक्षाको महत्त्वपूर्ण आधार बन्यो । त्यस्तै, न्यूनतम ज्यालामा वृद्धि, रोजगारी विस्तार र कम आय भएका नागरिकको उपभोग क्षमता बढाउने नीतिले पनि गरिब परिवारलाई राहत दियो ।
आर्थिक वृद्धि र अनुकूल अन्तर्राष्ट्रिय परिस्थितिले पनि लुलाको पहिलो दुई कार्यकाललाई सहयोग गरेका थिए । लाखौँ मानिस गरिबीबाट बाहिर निस्किए, न्यून आय भएका समुदायका नागरिक विश्वविद्यालयमा पुग्ने अवसर बढ्यो र ब्राजिलको सामाजिक संरचनामा परिवर्तन देखियो । जसको परिणा सन् २०१४ मा ब्राजिल संयुक्त राष्ट्रसङ्घको भोकमरीसम्बन्धी सूचीबाट बाहिरियो ।
लुलाको राजनीतिक लोकप्रियता मात्रै होइन नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन पारेको महसुस गरेका ब्राजिलका नागरिकले बताइन्छ । लुलाको नीतिकै कारण गरिब परिवारले सामाजिक सुरक्षाको अनुभूति गर्न पाए ।
यहीँ जनप्रिय कामका कारण सन् २०२२ मा दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोलाई पराजित गर्न सहयोग गरेको थियो । अहिले पनि सामाजिक न्याय र गरिबमुखी नीतिको कारण निर्वाचित भएका हुन् ।


अनलाइन डबली


